रुपेन्द्र शेर्मा
उर्लाबारी, २६ मंसिर/लिम्बु समुदायको महान चाड चासोक तङनाम बिहीबार हर्सोल्सापूर्वक मनाइंदैछ । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा र धनकुटा जिल्लामा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
त्यस अवसरमा मोरङको उर्लाबारी–९ आम्बारीमा तीन दिने चासोक महोत्सव आयोजना गरिएको छ । मंसिर २६, २७ र २८ गते चासोक महोत्सव सञ्चालन गरिने किरात याक्थुङ चुम्लुङ नगर शाखा उर्लाबारीका सचिव अमर सेलिङले जानकारी दिए ।
महोत्सवमा रोटेपिङ, नाउ कारका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने सेलिङले जानकारी दिए । महोत्सवमा चर्चित वाल गायिका माङ्गेना लिम्बु र मुन्धुमी गायिका सुनिता मिभकको प्रस्तुति रहने उनले बताए ।
महोसत्सवमा छेलो हान्ने, डोरी तान्ने, म्युजिकल चेयर, हाँडिफोरलगायतका लिम्बु समुदायको मौलिक खेलहरु सञ्चालन गरिने सेलिङले जानकारी दिए ।
चासोक तङनाम के हो ?
किरातीहरूको महान चाड चासोक तङ्नाम प्रत्येक मंसीर पूर्णिमाका दिन मनाइने एक प्राचीन तथा मौलिक चाड हो । यसलाई न्वागी पुजा पनि भन्ने गरिन्छ । यसलाई आदिकालदेखि नै लिम्बु समुदायले प्रमुख चाडको रुपमा मनाउँदै आएका छन् । नेपाल सरकारले चासोक तङ्नामका दिन उधौली पर्व भनेर २०५८ सालदेखि विदा दिन सुरु गरेको छ ।
चासोकको अर्थ न्वागी र तङनामको अर्थ चाड अथवा पर्व हुन्छ । किरात मुन्धुम अनुसार कृषि युग सुरु हुनुभन्दा अगाडि किरात लिम्बू समुदायको पुर्खाहरूले कन्दमुल काँचै खाने गर्थे । त्यसकारण कुपोषण भई अनेकाँै रोग लाग्यो । रोगबाट मुक्ति पाउन मेन्निमाङ, मेन्थामाङ तागेरा निङ्वाफुमाङको प्रार्थना गरे । प्रार्थना गर्दा तागेरानिङ्वाफुमाङले पेना (कोदो), पारामा (कोदोसगै फल्ने कोदो जस्तो) तुम्री (जुनेलो), ताक्मारु (घैया) लगायतको विउबिजन उनै तागेरा निङ्वाफु माङले दिलाएको किम्वदन्ती छ ।
पुर्खाहरूले उक्त विउविजन पाएपछि, ती पुर्खाहरूका चेली सिवेराएःक्थुक्मा सिवेरा यावुकेक्माले काठको खन्ती र अङ्कुसेको सहयोगले खोरीया फाडेर अन्नको विउ छरी फलाईन् । त्यसपछि सावायेत्हाङहरूले खेतीपाती गर्न सिके । फलाएको अन्न आगोमा पकाएर खान थाले । उनीहरूलाई रोग पनि लाग्न छोड्यो । सन्तानहरूलाई पनि रोगले आक्रमण नगरेपछि जनसंख्या बढ्न थाल्यो । खेती गरेर अन्न फलाउन सिकाउने आफ्ना चेलीको यो पुन्य कामदेखि खुशी भएर सावा येत्हाङहरूले उनलाई आशिष र वरदानका रूपमा आफूले फलाएको अन्न चेली सिवेरा एःथुक्मा सिवेरा याबुकेक्मालाई नाली कुजेन भनी चढाएपछि मात्र खाने बाचा गरे । त्यससमयदेखि नै लिम्बू समुदायमा चासोक तङनामको थालनी भएको किरातको मुन्धुममा वर्णन गरिएको छ ।
चासोक तङनामलाई उधौली पर्वको रुपमा किरात समुदायका राई, याख्खा र सुनुवारले पनि आ–आफ्नै तरिकाले मनाउँदैआएका छन् ।