• काठमाडौं । हिमालयन बैंकमा संस्थापक शेयरधनीबीच विवाद चर्किरहेकै बेला जग्गा, भवन निर्माण, सफ्टवेयर र नयाँ गाडी खरिदमा करोडौं घोटला भएको छ ।

    बैंकमा लामो समयदेखि सञ्चालक समितिका अध्यक्ष रहेका मनोजबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोक राणाबीच विवाद भइरहेकै बेला अध्यक्ष श्रेष्ठकै मिलेमतोमा करोडौं घोटला भएको बैंक स्रोत बताउँछ । बैंकको सञ्चालक समिति बैठकबाट कर्पोरेट गभर्नेन्स निर्देशिकालाई उल्लंघन गरी अध्यक्ष श्रेष्ठमाथि खरिद प्रक्रिया अपारदर्शी बनाएको, नातावादलाई प्रवद्र्धन गरेको र जातीयतालाई हावी बनाएको आरोप लाग्दै आएको छ ।

    वोर्डले गतवर्ष प्रमुख कार्यकारी अधिकृत र २ जना महाप्रबन्धकहरुका लागि नयाँ गाडीहरु खरिद प्रक्रिया अनुमोदन गर्दा ठूलो घोटला भएको थियो । दुईवटै महाप्रबन्धकहरु अध्यक्षका नातेदार रहेकै कारण सिइओ राणालाई भन्दा महँगा गाडीहरु खरिद गरि उपलब्ध गराइएको थियो ।

    बैंक स्रोतका अनुसार आउटल्याण्डर एसयुभी गाडिहरु मित्सुबिसीको आधिकारिक विक्रेता लियोन मोटर्स प्रालिबाट खरिद गरिएका हुन् । लियोनका मालिक आषिशलाल श्रेष्ठ हुन्, जो नाताले अध्यक्ष मनोजबहादुर श्रेष्ठका जेठो साला पर्छन् । बैंकले गाडिका लागि तिरेको मूल्य अन्य क्रेताहरुले तिर्ने मूल्य भन्दा उच्च रहेको पनि पाइएको छ । गाडी खरिद गर्दा एकातिर बैंकलाई छुट प्रदान गरिएको छैन भने अर्कोतिर प्रिमियम मूल्य पनि जोडिएको छ ।

    कम्पनीको बिल अनुसन्धान गरेको खण्डमा घोटलाको पुष्टि हुने बैंककै कर्मचारीहरु बताउँछन् । त्यसो त बैंकले लियोन मोटर्समार्फत पटक–पटक गाडी खरिद गर्दै आएको पाइएको छ । बैंकले केही वर्ष अघि सोही कम्पनीबाट मित्सुविसी आउल्याण्डर र मित्सुविसी एएसएक्स गाडी हिमालयनको विदेशी संस्थापक हबिब बैंकका प्रतिनिधि(कर्मचारी) एजाज गिलका लागि समेत खरिद गरेको थियो ।

    लामो समयदेखि विक्री नभएर बसेको पुरानो उक्त एएसएक्स गाडीलाई नयाँ सोरुम मूल्यमा किनिएको खुलेको छ । यसरी अध्यक्ष श्रेष्ठले सार्वजनिक खरिद प्रक्रियाको अवलम्वन नगरी बोर्डबाट मनपरी निर्णय गरेर अधिकारको दुरुपयोग गरेको समेत भेटिएको छ ।

    सबैभन्दा अचम्म त के छ भने लियोनले विना धितो अध्यक्ष श्रेष्ठमार्फत हिमालयन बैंक लिमिटेड, ठमेल शाखाबाट आयात क्रण समेत लिन सफल भएको छ । उक्त क्रण दिलाउन अध्यक्षका नातेदार रहेका ठमेल शाखा प्रबन्धक सुनिल गोर्खालीले भूमिका खेलेका थिए । यसरी गैरकानुनी रुपमा ऋण दिलाउने उनै गोर्खालीलाई दण्डित गर्नुको सट्टा अध्यक्ष श्रेष्ठले पुरस्कृत गरेको समेत भेटिएको छ ।

    अध्यक्ष श्रेष्ठले हिमालयन बैंकमा गरेको ‘कर्पोरेट भ्रष्टाचार’को फेहरिस्त समेत बाहिर आएको छ । ठमेलमा रहेको मुख्य कार्यालय कमलादीमा सार्दा फर्निचरलगायतका सामान खरिद गर्दा ठूलो भ्रष्टाचार गरिएको पनि खुलेको छ । त्यतिबेला बैंकले सुवर्णकृष्ण श्रेष्ठसँग फर्निचर खरिद गरेको थियो ।

    नाताले अध्यक्ष मनोजबहादुर श्रेष्ठ र निर्देशक प्रचण्डबहादुर श्रेष्ठका साला रहेका सुवर्णकृष्णले बजारभाउ भन्दा झण्डै दोब्बर मूल्यमा फर्निचर सप्लाइ गरेका थिए । फर्निचर मात्र नभई बैंकको भवन निर्माणमा समेत अध्यक्ष श्रेष्ठले घोटला गरेको खुलेको छ । चिनियाँ ठेकेदारहरुद्वारा प्रयोग गरिएका निर्माण सामग्रीहरु धेरैजसो अध्यक्ष श्रेष्ठको निजी कम्पनीमार्फत उच्च मूल्यमा खरिद गरिएको बैंक स्रोतको दावी छ ।

    त्यस्तै बैंकका लागि न्यूरोडमा खरिद गरिएको जग्गा अध्यक्ष श्रेष्ठकै नातेदारबाट किनिएको खुलेको छ । बैंकको भवनको डिजाइन र निर्माण टेण्डर प्रक्रिया विना नै कालोसूचिमा परेका इन्जिनियर एमएल कायस्थले गरेका थिए । भवन बनाउँदा अध्यक्ष श्रेष्ठ र कायस्थको मिलेमतोमा करोडौं घोटला गरिएको स्रोत बताउँछ । कमलादी र न्युरोडको भवन मात्र नभई दरबारमार्गको प्रस्तावित भवनको लागि समेत सोही कम्पनीलाई स्वीकृत गरेर श्रेष्ठले मनपरी गरेका छन् ।

    त्यस्तै बैंकको सफ्टवेयर खरिदमा पनि ठूलो घोटला भएको छ । कमजोर सफ्टवेयरका कारण बैंकको शाखा विस्तारमा समेत असर परेको छ । हरेक वर्ष बैंकले टेमेनोस सफ्टवेयरका लागि करोडौं खर्च गर्दै आएको छ । उक्त सफ्टवेयरलाई एड्भान्स भनेर महँगोमा खरिद गरिएपनि बैंकमा सधै समस्या आइरहने गरेको आइटी शाखाका एक कर्मचारी बताउँछन् ।

    उक्त सफ्टवेयर आपूर्तिकर्ता कम्पनीका मालिक अमितबहादुर श्रेष्ठका छोरा र नरसिंहबहादुर श्रेष्ठका भाई अतेन्द्रबहादुर श्रेष्ठ हुन् । नरसिंहबहादुर अध्यक्ष श्रेष्ठ र सह–निर्देशक प्रचण्डका बुवा हुन । अध्यक्ष श्रेष्ठले बैंकको सूचना प्रविधि विभागलाई जानकारी नै नदिई सञ्चालक समितिबाट निर्णय गराई उक्त सफ्टवेयरका लागि करोडौं खर्च गरी कमिसन खाएको आएको स्रोत बताउँछ ।

    त्यसो त सफ्टवेयर मात्र नभई बैंकका एटीएमका सबै एनसिआर ब्राण्ड अतेन्द्रबहादुर श्रेष्ठकै कम्पनीले आपूर्ति गर्ने गर्दछ । हिमालयन बैंकले अत्याधुनिक र राम्रो डाइबोल्ड एटिएम मेसिन खरिद नगरी एनसिआर आपूर्ति गर्दा बैंकको सुरक्षा प्रणाली नै कमजोर बनेको आइटी शाखाका ति कर्मचारी बताउँछन् ।

    अध्यक्ष श्रेष्ठले एटीएम र सीबीएसका अतिरिक्त अतेन्द्रबहादुर श्रेष्ठलाई अन्य ठेक्का समेत दिंदै आएका छन् । हिमालयन बैंकमा भएको भ्रष्टाचारको अर्को उदाहरण हो, सिसिटिभी खरिद । अध्यक्ष श्रेष्ठले आफ्नै भाञ्जाबाट सिसिटिभी खरिद गर्दै आएको पाइएको छ ।

    यस्ता अनियमितताका विषयमा सिइओ राणाले समेत आँखा चिम्लदै आएका छन् । त्यसैगरी मानवस्रोत विभागमा समेत अनियमितताहरु हुँदै आएका छन् । पदपूर्ति गर्दा अध्यक्ष र निर्देशकका नातेदारहरु मात्र भर्ना गरिदै आएको एक कर्मचारी बताउँछन् ।

    यस बारेमा समिर आचार्यले सुपरिवेक्षण गरेको परीक्षामा व्यापक भ्रष्टाचार भएको खुलेको थियो । आचार्य कर्मचारी युनियनसँग सम्बन्धित छन् भने अन्य कर्मचारीहरु अध्यक्षको परिवार निकट हुन् । कर्मचारीहरको तालिम र वृत्ति विकासका लागि विनियोजित बजेटमा समेत व्यापक भ्रष्टाचार भएको छ ।

    बैंकमा संस्थापकमध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छायाँ इन्टरनेसनल) ले प्रतिनिधित्व गरिरहेका छन् । मनोजबहादुर श्रेष्ठ (एन ट्रेडिङ) सञ्चालक समितिको अध्यक्ष छन् ।

    एन ट्रेडिङ र छायाँ इन्टरनेसनल नरसिंहबहादुर श्रेष्ठको परिवारको हो । बैंकमा एन ट्रेडिङको १२.७१ प्रतिशत र छायाँ इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर छ । आभा इन्टरनेसनल हिमालयशमशेर राणाको हो, जसको ११.३८ प्रतिशत सेयर छ । बैंकमा ११.८५ प्रतिशत सेयर रहेको खेतान समूहको म्युचुअल ट्रेडिङलाई प्रतिनिधित्व नगराइएपछि विवाद चर्किएको थियो । बैंकमा पाकिस्तानको हबिव बैंकको २० प्रतिशत र कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…