• काठमाडौं, । नेपालको भारत र चीनसँगको सिमाना छुट्याउने स्तम्भ कति हो अझै एकीन हुनसकेको छैन ।

    नापी विभागले भारत र चीनसँग सिमाना छुट्याउनको लागि आठ हजार छ सय ५३ वटा सीमास्तम्भ गाडिएको जनाएको छ भने सीमाको रक्षा गर्ने जिम्मा पाएको सशस्त्र प्रहरी बलले तयार पारेको गोप्य रिपोर्टमा भने आठ हजार चार सय २२ वटा मात्र सीमास्तम्भ फेला पारेको जनाएको छ ।

    नापी विभागको रेकर्ड र प्रहरीको रेकर्ड हेर्दा दुई सय ३१ वटा स्तम्भको अवस्था अज्ञात छ । यसले नेपालको सरकारी निकाय नै सिमानाबारे अलमलमा परेको देखिएको छ ।

    सशस्त्र प्रहरीले आफूले तयार पारेको रेकर्डमा आठ हजार चार सय २२ वटा सीमास्तम्भ रहेको जनाए पनि अझै उसले दुई हजार ९३ वटा सीमास्तम्भकै पहिचान गर्नसकेको छैन ।

    त्यसमा पनि दुई सय ३१ वटा त हो÷होइन भन्नेमै सशस्त्र प्रहरी बल अन्योलमा परेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।

    सीमास्तम्भ नै नभएको कारण भारत तथा चीनले नेपालले कति जग्गा मिचे वा नेपालले भारत तथा चीनको कति जग्गा मिचे भन्ने विषयमै विवाद उत्पन्न भएको छ । यद्यपि कालापानी, सुस्ता, मर्चवारलगायतका क्षेत्रमा भारतीय पक्षले देखिने गरी नै नेपाली भूमि मिचेको सीमाविद्हरुको दाबी छ ।

    नापी विभागका अनुसार नेपालका ३५ जिल्लामा पिलर गाडेर भारत र चीनसँगको सिमाना छुट्याइएको छ । नापी विभागको रेकर्डमा रहेका सबै सीमास्तम्भको सशस्त्र प्रहरीसँग रेकर्ड छैन भने देशकै रक्षाको मुख्य जिम्मेवारी लिएर बसेको नेपाली सेनासँग भने सशस्त्र प्रहरीको जति पनि सिमानाको रेकर्ड छैन ।

    स्रोतका अनुसार अहिले अनौपचारिक स्रोत परिचालन गरेर सेनाले सशस्त्रसँग सीमास्तम्भको रेकर्ड लिने प्रयास गरेको छ ।

    भारत र चीनजस्ता ठूला देशसँग सिमाना कायम गर्न मुख्य, सहायक र सानो गरी तीन किसिमका सीमास्तम्भ रहेको नेपालको रेकर्डमा उल्लेख छ ।

    स्रोतले आर्थिक दैनिकलाई दिएको जानकारीअनुसार आठ सय ५० वटा मुख्य सीमास्तम्भ, दुई हजार चार सय ३३ वटा सहायक सीमास्तम्भ र पाँच हजार एक सय ३९ वटा साना सीमास्तम्भ मात्र फेला परेका छन् ।

    सीमास्तम्भ नभएका वा भएका ठाउँमा पनि दुवै देशबाट सिमाना अतिक्रमण हुनथालेको छ । नेपालले सीमा मिच्दा दुई/चार आना वा रोपनी जग्गा मिचेको देखिए पनि भारतबाट भने हजारौं रोपनी र हेक्टर जग्गा मिच्ने काम भएको छ ।

    भारतले पछिल्लो समयमा आफ्नो देशको राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालको धेरै भू–भाग भारतमा परेको देखिएपछि विवादहरु सतहमा आएका छन् । भारतले कालापानी र सुस्तालगायतका क्षेत्रमा अतिक्रमण गरेको प्रत्यक्ष देखिन्छ ।

    सो ठाउँमा भारतले स्थायी प्रकृतिका संरचनाहरु नै बनाएको छ । नेपालतर्फबाट भने केही किसानले खेती गर्ने काम मात्र गरेका छन् । त्यो भूमि पनि अत्यन्त नगन्य रहेको सीमाविद्हरु बताउँछन् ।

    भारतले नेपालको सुस्तामा मात्रै एकै ठाउँमा १४ हजार हेक्टरभन्दा बढी नेपाली भूमि अतिक्रमण गरेको देखिएको छ । यो तथ्यांक पनि २०६४ सालसम्मको मात्र हो । त्यसपछि पनि भारतले नेपालको भूमि पटक–पटक अतिक्रमण गरेको देखिएको छ ।

    सशस्त्र प्रहरीको रेकर्डअनुसार आठ सय ५० वटा मुख्य सीमास्तम्भमध्ये साबुतमा चार सय ७० वटा, सामान्य मर्मत गर्नुपर्नेमा एक सय ३८ वटा, पुनर्निर्माण गर्नुपर्नेमा २० वटा, खोलाले बगाएको ११ वटा, फेला नपरेको दुई सय आठवटा र रिफ्रेन्स छवटा रहेको छ ।

    यस्तै, २४ सय ३३ वटा सहायक सीमास्तम्भमध्ये साबुतमा एक हजार दुई सय १५ वटा, सामान्य मर्मत गर्नुपर्नेमा तीन सय नौवटा, पुनर्निर्माण गर्नुपर्नेमा ४७ वटा, खोलाले बगाएको ६९ वटा, फेला नपरेको सात सय ७९ वटा र रिफ्रेन्स १४ वटा रहेको छ ।

    यसैगरी, पाँच हजार एक सय ३९ वटा साना सीमास्तम्भ मध्ये साबुतमा दुई हजार सात सय २१ वटा, सामान्य मर्मत गर्नुपर्नेमा एक सय सात सय ४७ वटा, पुनर्निर्माण गर्नुपर्नेमा तीन सय ७२ वटा, खोलाले बगाएको एक सय ८६ वटा, फेला नपरेको एक हजार एक सय ६ वटा र र रिफ्रेन्स सातवटा रहेको छ । (आर्थिक दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…