उर्लाबारी । किरातीहरूको महान चाड ‘चासोक तङ्नाम’ मोरङको उर्लाबारीस्थित आम्बारीमा भब्यताको साथ सुरु भएको छ ।
किरात याक्थुङ चुम्लुङ उर्लाबारीको आयोजनामा बिबिध कार्यक्रम, केलाङ, यालाङ, लितोङ, हाक्पारे, ख्याली, तुवाताम्के, येबासाम्बालाङ, पङ्लुङ लगायतका खेलको आयोजनासहित चासोक तङ्नाम सुरु भएको प्रकाश कन्दङ्वाले जानकारी दिनुभयो ।
चासोक तङ्नामको उद्घाटन प्रदेश सभा सदस्य कुलबहादुर साम्बा कुशलले गर्नुभएको थियो ।
चासोक तङनाम के हो ?
किरातीहरूको महान चाड चासोक तङ्नाम प्रत्येक मंसीर पूर्णिमामा मनाइने एक प्राचीन तथा मौलिक चाड हो । नेपाल सरकारले उधौली पर्व र चासोक तङ्नामका दिन २०५८ सालदेखि बिदा दिन शुरु गरेको छ ।
खसआर्य भाषामा ‘चासोक’को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ चाडपर्व हुन्छ । किरात लिम्बूहरूले चासोक तङनामलाई प्रमुख चाडको रुपमा मनाउँदै आएका छन् । किरात मुन्धुम अनुसार कृषियुग शरुहुनभन्दा अगाडि किरात लिम्बूहरूको पुर्खाहरूले कन्दमुल काँचै खाने गर्दथे । त्यस कारण कुपोषण भई अनेकाँै रोग लाग्यो ।
रोगबाट मुक्ति पाउन मेन्निमाङ, मेन्थामाङ तागेरा निङ्वाफुमाङको प्रार्थना गरे । प्रार्थना गर्दा तागेरानिङ्वाफुमाङले पेना (कोदो), पारामा (कोदोसगै फल्ने कोदो जस्तो) तुम्री (जुनेलो), ताक्मारु (घैया), लगायतको बियुबिजन उनै तागेरा निङ्वाफु माङले दिलाउनु भयो ।
पुर्खाहरूले उक्त बिउबिजन पाएपछि, ति पुर्खाहरूका चेली सिवेराएःक्थुक्मा सिवेरा याबुकेक्माले काठको खन्ती र अङकुसेको सहयोगले खोरीया फाडेर अन्नको बिउ छरी फलाईन् । त्यसपछि सावायेत्हाङहरूले खेतीपाती गर्न सिके । फलाएको अन्न आगोमा पकाई खान थाले । उनीहरूलाई रोग पनि लाग्न छोड्यो ।
सन्तानहरूलाई पनि रोगले आक्रमण नगरेपछि जनसंख्या बढ्न थाल्यो । खेती गरेर अन्न फलाउन सिकाउने आफ्ना चेलीको यो पुन्य कामदेखि खुशी भई सावा येत्हाङहरूले उनलाई आशिष र बरदानका रुपमा आफूले फलाएको अन्न चेली सिवेरा एःथुक्मा सिवेरा याबुकेक्मालाई नाली कुजेन भनी चढाएपछि मात्र खाने बाचा गरे । सोहि समयदेखि किरात लिम्बू जातिमा चासोक तङनामको थालनी भएको किरातको मुन्धुममा बर्णन गरिएको पाइन्छ ।
https://www.youtube.com/watch?v=OBlbaAsGSYc
उर्लाबारीमा ‘चासोक तङनाम’ आबश्वकता किन ?
उर्लाबारीको सबै क्षेत्रमा लिम्बू समुदायको बसोबास छ । किरात लिम्बू समुदायले आफ्नो मौलिक महान् चाड, संस्कार संस्कृतिलाई एकैठाउँमा भेला भई मनाउँन र चासोक तङ्नामलाई राष्ट्रियकरण गरि प्रबद्र्धनको लागि यो चाड मनाउन जरुर छ । आफ्नो संस्कृतिबारे, यहाँका लिम्बू र गैह्रलिम्बूहरूलाई जानकारी गराउनको लागि चासोक तङनामको छुट्टै महत्व छ ।
‘चासोक तङनाम’ नेपाली पात्रो अनुुसार मंसीरपूर्णिमामा मनाउने परम्परा छ । त्यसयता चासोक तङ्नामको अबसरमा सामान्य पूजापाठ, शुभकामना आदानप्रदान, चियापन, अन्तरकृया कार्यक्रमहरू मात्र गरि मनाउँदै आएको थियो । यतिबेला आम्बारीमा बिभिन्न संघसंस्थाकोसँग सहकार्य गरि विभिन्न साँस्कृतिक कार्यक्रमहरू आयोजना गरी बर्षेनी मनाउँदै आएको छ ।