काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय समितिको अस्ति बिहीबार अवरुद्ध भएको बैठक आज पुनः सुरु हुँदैछ ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान र राजनीतिक नैतिकता विपरीतका प्रस्तावहरु पारित गर्न खोजेपछि संस्थागत इतर पक्षले बैठक बहिष्कार गरेकाले त्यस दिनको बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको थियो ।
पेलेरै आफ्नो प्रस्ताव पास गराउने याजना असफल भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उपसभापति विमलेन्द्र निधिलाई साथमा लिएर हिजो बिहान पौडेल निवास बोहोराटार, बालाजु गएका देउवा निराश भएर फर्किए ।
पौडेलले बैठकको पहिलो एजेन्डा नै अगाडि महाधिवेशनको कार्यतालिका हुनुपर्ने पूर्वअडान दोहोर्याउँदै त्यसो नगरिसम्म आफू बैठकमा नजाने चेतावनी दिएका छन् । पौडेल हिजै तीन दिनका लागि काठमाडौं बाहिर गए ।
अब देउवाले पार्टीको भविष्य र एकतामाथि गम्भीर नकारात्मक प्रभाव पार्ने प्रकारका केही अडान नछोड्ने हो भने कांग्रेसभित्रको तिक्तता र गुटबन्दी झन् चर्किने अवस्था उत्पन्न भएको छ । दुवै पक्षका प्रभावशाली नेताहरु सहमति खोज्न प्रयासरत छन् ।
संस्थापन पक्षका नेताहरु प्रायः देउवा निवासमा भेला भएर रणनीति बनाइरहेका छन् भने संस्थापन इतर पक्षका नेताहरु कहिले महामन्त्री शशांक कोइराला कहाँ र कहिले पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासस्थान चाक्सीबारी ठमेलमा भेला हुने गरेका छन् ।
संस्थापन पक्ष आफूहरुसँग पूर्ण बहुमत भएको र कृष्ण सिटौला पक्षलाई विभाजित गरेर साथ लिन सकिने भएकाले बलपूर्वक भए पनि प्रस्ताव पास गर्नुपर्ने पक्षमा छन् भने सिंह कहाँ भएको पछिल्लो बैठकले सभापतिले धेरै जिद्दी गरेमा केही एजेन्डामा सहमत हुन सकिने आन्तरिक सहमति गरेको छ ।
तर, उनीहरुले आगामी महाधिवेशनका लागि कार्यतालिका बेगर नै एक वर्ष म्याद थप्ने हो भने देउवाले त्यो समयभित्र पनि महाधिवेशन नगर्ने सम्भावना रहेकाले कार्यतालिकालाई पहिलो प्राथमिकतामा राख्ने निर्ण गरेका छन् ।
कमजोर हुँदै गएको कांग्रेस नेतृत्वबीच सहमति हुन नसकी गतिरोध यथावत् रहेमा पार्टीको संगठन झन् लथालिंग हुने अवस्था छ । हालै सम्पन्न उपनिर्वाचनमा नेताहरु एकमत भएर मैदानमा उत्रिँदा पनि प्राप्त भएको परिणाम लुकेको छैन । यसले कांग्रेसको अवस्थामा खासै सुधार नभएको तथ्य उजागर गरेको छ ।
सरकारप्रति जनतामा व्यापक असन्तोष बढेको बेलासमेत कांग्रेसले जनताबाट उपेक्षित मत नपाउनु कांग्रेसजनका लागि चिन्ताको विषय हुनु स्वाभाविक छ ।
त्यसैले नेताहरुले आफ्नो स्वभाव र शैलीलाई व्यापक रुपमा परिवर्तन गरी कार्यकर्ता र जनतामा आफूप्रति आकर्षक उत्पन्न गर्ने कार्यलाई अघि बढाउनुपर्नेमा आ–आफ्नो गुट बलियो पार्ने काममा नै केन्द्रित भएकाले कांग्रेसका शुभचिन्तक र बुद्धिजीवीहरुसमेत चिन्तित देखिन्छन् ।
कांग्रेसमा नयाँ उत्साह सिर्जना गर्ने, एकताको वातावरण बनाउने र गुटबन्दीको अन्त्य गर्ने मुख्य अग्रसरता सभापतिले लिनुपर्नेमा सभापति नै आफ्नो गुटको घेरामा मात्र सीमित भएर हरेक काम आफ्नो गुटलाई बलियो पार्ने उद्देश्यले मात्रै गर्न खोज्नु दुर्भाग्यपूर्ण हो ।
तर, जति आलोचना भए पनि सभापति देउवा त्यो घेराबाट अलिकति पनि बाहिर निस्कन र अर्को पक्षका वा तटस्थ व्यक्तिहरुलाई समेट्न तयार छैनन् ।
देउवाको सकीर्ण मानसिकता, गुटलाई गिरोहको रुपमा परिणत गर्ने शैली तथा पार्टीलाई भन्दा आफ्नो स्वार्थ र महत्वाकांक्षालाई प्राथमिकतामा राखे र निर्णय गर्ने हठ नै अहिलेको संकटको मुख्य कारक तत्व हो । यही कारणले देउवाप्रति आक्रोश झन् चुलिँदै गएको छ ।
विधान नमान्ने
संविधानको पालना गर्नु सबै नागरिकको कर्तव्य भएझैं पार्टीको विधान अनुरुप काम गर्नु सम्बन्धित सबै कार्यकर्ता र नेताहरुको जिम्मेवारी हो । कसैले विधानविपरीत काम गरेमा त्यस्तालाई सम्बन्धित निकाय र नेतृत्वले गल्ती सच्याउन र अब उप्रान्त त्यस्तो नगर्न बाध्य पार्दछ ।
तर, नेपाली कांग्रेसमा प्रायः नेतृत्वले नै बारम्बार विधान मिचेर आफ्नो लहडमा काम गर्ने गरेका छन् । वर्तमान सभापति देउवा अघिल्ला सभापतिहरुले गरेका त्यस्ता केही कामको नजिर देखाउँदै विधान मिचेर काम गरिरहेका छन् ।
एकातिर विधानले दिएको जिम्मेवारी पालना गर्न सकेको छैनन् । भ्रातृ संस्थाहरुलाई आफ्नो स्वार्थको कारणले लथालिंग पारेका छन् भने दुई महिनामा बनाउनुपर्ने विभागहरु आफ्नो कार्यकाल समाप्त हुन लाग्दासम्म बनाउन सकेनन् ।
संस्थापन इतर पक्षले सहमति नदिएकाले ती कामहरु नगरिएको हो भने आफूसँग बहुमत रहेको सम्झना अहिलेसम्म उनलाई किन भएन ? महाधिवेशनको मुखमा आएर विधानले तोकेको संख्याभन्दा तीन दोब्बर संख्या थप्दै विभागहरु गठन गर्न जोड गर्नुको कारण आगामी महाधिवेशनलाई प्रभावित गर्ने बाहेक के हुन सक्छ ?
यसरी विभाग गठन गरेर आफ्ना कार्यकर्ताहरुलाई पुरस्कृत गर्ने र हाल ढुलमुल अवस्थामा रहेका कार्यकर्ताहरुलाई पुरस्कृत गरी आफ्नो पक्षमा ल्याउने नियत बाहेक अरु कुनै ध्येय होइन भन्ने प्रष्टै छ, देशान्तरमा उल्लेख छ ।
त्यसैले पनि अन्यथा भनेको छैन । बरु देउवाले आगामी चुनाव जित्नका लागि विधानलाई मिच्दै यस प्रकारको रणनीति बनाएकोले संस्थापन इतर पक्षप्रति सहानुभूति बढेको पाइन्छ ।