• काठमाडौं, २९ मंसिर । सभामुख कृष्णबहादुर महरा यौन दुराचार काण्डमा जेल पुगेपछि कसलाई सभामुख बनाउने भन्ने रस्साकस्सी अन्ततः टुंगिएको छ ।

    प्रचण्ड आफू कार्यकारी अध्यक्ष बनेपछि माओवादी कित्ता झ्नझ्न कमजोर हुँदै गएको यसबाट प्रस्ट हुन्छ । सूत्रका अनुसार गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच पूर्वसभामुख सुवास नेम्वाङलाई नै पुनः सभामुख बनाउने सहमति भएको छ ।

    यसबाट पूर्वमाओवादीबाट सभामुखका लागि लिगलिगे दौडमा होमिएका देव गुरुङ, अग्नि सापकोटा र दिनानाथ शर्मा हिस्स परेका छन् भने प्रचण्डलाई आफ्नो गुटको संरक्षण गर्न नसक्ने भनेर माओवादीभित्र व्यापक आलोचना बढेको छ ।

    आफू र परिवारको लागि मात्र अडान राख्ने तर पार्टी कार्यकर्ताको लागि केही नगर्ने नेताको रुपमा उनलाई पूर्वमाओवादीभित्र चित्रित गरिँदैछ । उता उपसभामुखमा भने माओवादीसँग चुनावी मोर्चामा सँगै रहेको जनमोर्चाकी प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलको नाम चर्चामा छ ।

    एउटै पार्टीको सभामुख र उपसभामुख बनाउन संविधानले व्यवधान गरेकोले पौडेलको भाग्य चम्किएको बताइन्छ । अहिल्यैकी उपसभामुख शिवमाया तुम्बाहाम्फे, अग्नि सापकोटा, दिनानाथ शर्मा, देव गुरुङहरुलाई राष्ट्रियसभाको चुनाव पछि हुने मन्त्रिमण्डलमा समिटिने छ भनेर चित्त बुझाउने नेकपाको शीर्षस्थ नेतृत्वको तयारी छ ।

    विद्या भण्डारीले दोहोर्याएर राष्ट्रपति बन्न मिल्छ भने ओनसरी घर्तीले दोहोर्याएर सभामुख हुन किन नमिल्ने ? नेकपाभित्रको पूर्वमाओवादी गुटका केही नेता कार्यकर्ता अचेल यस्तै तर्क गर्न थालेका छन् ।

    पार्टीमा आर्थिक र शक्ति स्वामित्वका हिसाबले प्रभावकारी मानिने ऊर्जामन्त्री वर्षमान पुन पनि ओनसरीलाई पुनः सभामुख बनाउन लबिङ गरिरहेकै थिए ।

    तर, नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफू निकटका अन्य नेताहरुका पनि यथोचित व्यवस्थापन गर्नु परेकाले ओनसरीको नाम सभामुखको चर्चाबाट हटिसकेको छ ।

    पूर्वमाओवादीले जनयुद्धकालमा सरकार–माओवादी वार्तामा खटाएका नेता देव गुरुङलाई यथाचित सम्मान दिन नसकेको भन्दै जनजाति खेमा असन्तुष्ट रहँदै आएको छ । कृष्णबहादुर महरा सभामुख हुनुअघि नै गुरुङको नाम सभामुखका लागि चर्चामा थियो ।

    महरा चारित्रिक मामिलामा जेल चलान भएपछि सभामुखका लागि गुरुङ नै प्रथम दाबेदार थिए । तर, दाहालको कोटरीभित्रका केही नेताले गुरुङका सम्भावनालाई नकारिदिए । दाहालको अति विश्वासपात्र अग्नि सापकोटालाई सभामुख बनाउने लबिङ सुरु भयो ।

    उच्च महत्वाकांक्षी नेता सापकोटाको नाम सभामुखमा चर्चामा आउना साथ पश्चिम जगत सतर्क भइसकेको छ । ज्यान मुद्दा खेपिरहेका सापकोटालाई सभामुख बनाउँदा नेपालको संसदीय लोकतन्त्रकै धज्जी उड्ने सल्लाह दाहाललाई काठमाडौंस्थित केही कूटनीतिक निकायका अधिकारीहरुले दिइसकेको बताइन्छ ।

    संवैधानिक अदालतमा सापकोटाको मुद्दा चलिरहेकाले उनलाई सभामुख बनाउन नहुने विदेशीहरुको सल्लाह छ ।

    नयाँ संविधान जारी भइसकेपछि स्थापित गणतन्त्रको पहिलो सभामुख महरा चारित्रिक मुद्दामा जेल चलान भइरहेको अवस्थामा सापकोटा पनि सभामुख भएकै अवस्थामा द्वन्द्वकालीन मुद्दामा दोषी ठहर भएमा नेपाली लोकतन्त्रको योभन्दा अर्को बेइज्जती के हुन सक्ला ? भन्ने चिन्ता एकथरीको थियो ।

    सापकोटाको पृष्ठभूमिले उनलाई सभामुख बन्न रोकिरहेको बेला केही दिनयता अर्का नेता दिनानाथ शर्माको नाम पनि पूर्वमाओवादीकै च्यानलबाट चर्चामा आएको थियो ।

    दिनानाथलाई सभामुख बनाउन उनकै ज्याईँ एबीसी टेलिभिजनका मालिक शुभशंकर कँडेल कम्मर कसेर लागेका थिए, देशान्तरमा उल्लेख छ ।

    तर, पूर्वमाओवादीले सभामुखका सर्वसम्मत नाम टुंगो लगाउन नसकिरहेको बेला शुक्रबार नेकपाको उच्च शीर्ष नेतृत्वबीच मोटामोटी रुपमा पूर्वसभामुख सुवास नेम्वाङलाई नै सभामुख बनाउने सहमति भएको बताइन्छ ।

    युरोपियन युनियन र क्रिश्चियन मेसिनरीले नेम्वाङलाई नै सभामुख बनाउन व्यापक लबिङ गरिरहेको सन्दर्भमा ओनसरी, सापकोटा र गुरुङलाई हिस्स पार्दै नेम्वाङ सभामुख हुने प्रबल सम्भावना छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…