अशोक शंकर यतिबेला चर्चाको शिखरमा हुनुहुन्छ । पूर्वका एक सफल उद्यमीका रुपमा आफूलाई स्थापित गरिसक्नु भएका अशोक शंकर नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको उम्मेद्वार भएर मात्र चर्चामा आउनु भएको होइन । सबैको साझा उम्मेद्वार बनेर जीत नजिक पुग्नु भएकोले उहाँको चर्चा चुलिएको हो । उहाँ मोरङको पथरीशनिश्चरे १ का स्थायी बासिन्दा हुनुहुन्छ । युवा व्यवसायी अशोक शंकरसँग पुस ९ देखि १२ गते सम्म चितवनमा हुने नेपाल जेसीजको राष्ट्रिय अधिवेशन कै पेरिफेरिमा रहेर गरिएको कुराकानीको सार संक्षेप ।
० चुनाव आउन साता दिन मात्र बाँकी छ ? तयारी कस्तो हुँदैछ ?
–मैले झापा देखि कन्चनपुर सम्मका सबै जेसी साथीहरू सँग पुगेर आफ्ना कुरा राखी सकें । खासगरी जेसीजमा काम गर्न जाने हो । यो लाभको पद होइन । सबै साथीहरू विजयको माला पहिरिन मात्र बाँकी छ, भनिरहनु भएको छ ।
० लाभको पद नभए पनि अध्यक्ष बन्न ठूलो होडबाजी चल्छ नि ?
– धेरैले यही कुरा सोधिरहनु भएको छ । नेपाल जेसीज आफैमा ब्यक्तित्व बिकासका लागि आवश्यक पर्ने एउटा उत्कृष्ठ फोरम हो । देश विदेशमा यसको पहिचान छ । रह्यो कुरा होडबाजीको । म जेसीजमा लागेको १० वर्षभयो । कुनै समय पथरीमा चन्दा सङ्कलन गरेर कार्यक्रम गर्ने अशोक शंकर आज राष्ट्रिय अध्यक्षको उम्मेद्वार बन्न लागेको छ । त्यसै म यो अवस्थामा आइ पुगेको होइन । मैले १० वर्ष जेसीजका लागि समय दिएको छु । २०१० मा पथरीमा जेसीजको स्थापना गरेपछि २०१४ मा राष्ट्रिय उपाध्यक्ष बनें । २०१८ मा कार्यकारी उपाध्यक्ष भएँ । निरन्तरता दिन नसक्ने साथीहरू छोडिनु भयो होला । तर, म साथीभाइहरूको माया सद्भाव र सहयोगसँगै छु । यो अवधिमा मैले पनि केही लगानी गरेको छु । जेसीजको आफ्नै सिद्धान्त छ । यो सिद्धान्तबाट युवालाई कन्भिन्स गर्न सकियो भने १० वर्षमा युवालाई आर्थिक उपार्जनमा सहभागि गराउन सकिन्छ । यहाँ आउने वित्तिकै युवा ब्यावसायमा हात हाल्छ । व्यावसायिक बन्छ र राष्ट्र निर्माणको अभियानमा सहभागि हुन्छ ।
० जेसीसको सदस्यता लिएको युवा र गैर जेसीज युवामा के फरक देख्नु भएको छ ?
– अङ्क गणितीय हिसावले फरक देखिदैन । तर पनि जेसीजमा लागेको युवा एउटा सिद्धान्तमा हिडेको हुन्छ । व्यावसायिक हुन्छ । उसको व्यवस्थापन क्षमता मजवुद हुन्छ । जीवनलाई कता लैजाने भन्ने विषयमा द्विविधा हुन्न । किनकी उसलाई जेसीजले एउटा गाइड लाइन दिइसकेको हुन्छ । तर, गैर जेसीजहरूमा गाइडलाइनको अभाव भएको देखेको छु । शैक्षिक प्रमाण पत्र भएर पनि कुन बाटो हिड्दा कुन गन्तब्यमा पुगिन्छ भन्नेमा द्विविधा हुन्छ, गैर जेसीजमा ।
०नव युवालाई दिने कार्यक्रम चाहिँ के के छन् ?
– कार्यक्रम भनेको त एप्स जस्तै हो । एप्स संसारमा करोडौं हुन्छन् । मतलव कार्यक्रमका लागि जेसीज नै आवश्यक छैन् । आवश्यक त गन्तब्यको हो । जेसीजको फ्रेमवर्कमा प्रवेश गरेको एउटा १८ वर्षको युवा ४० वर्षको उमेरमा पुग्दा उसले आफूलाई सक्षम सवल र आत्मनिर्भर भएको पाउनु पर्छ । यो काम जेसीजले गर्छ । तालिम त धेरैले लिन्छन । तालिमबाट प्राप्त सीपलाई आर्थिक उपार्जनमा रुपान्तरण गर्न सक्ने बनाउनु जेसीजको कर्तब्य हो । कार्यक्रम यि–यि हुन भन्ने हुँदैन । एउटै फ्रेमको कार्यक्रम हुन्छ । मात्र कार्यान्वयन कसरी गर्ने , युवालाई ५ वर्षमा कस्तो बनाउने र १० वर्ष पछि समाजले उसँग के अपेक्षा गर्न सक्छ भन्ने कुरा प्राथमिकतामा रहन्छ । जेसीजको रणनीति अनुसार तालिम र शैक्षिक मोडलहरू हुन्छन् । ति तालिम र शैक्षिक कार्यक्रममा एउटा युवा ५ दिनको बन्द प्रशिक्षणमा बसेपछि त्यहाँबाट निस्किदा सबै विषयमा जानकार भएर निस्किनु पर्छ ।
०जेसीजमा अहिले कस्ता चुनौतिहरू देखिरहेका छन् ?
– जेसीजमा पनि राजनीतिक प्रदुषण देखिन थालेको छ । आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर कसैले पनि हस्तक्षेप नगर्नु नै उपयुक्त हुनुपर्ने हो ।तर ,त्यस्तो देखिएको छैन् । राजनीतिक दलका नेताले मुलुकको समृद्धिका लागि उपयुक्त नीति निर्माण गर्नु पर्ने हो ।पछिल्लो समय जुनसुकै संस्थामा दलीय आस्थाका आधारमा चुनावी प्रतिस्पर्धा हुने गरेको देखिन्छ । यद्यपि जेसीज अत्यन्तै कम राजनीति हुने ठाउँ भित्र पर्छ ।
० निर्वाचित भएपछि के के काम गर्नुहुन्छ । प्रतिवद्धता केही छन् ।
– मैलेअघि नै भनिसकें । जेसीज राजनीतिक दलको जस्तो घोषणा पत्र लिएर चुनावी मैदानमा आउने संस्था होइन । ।यो एउटा फ्रेमवर्कमा रहेर काम गर्ने संस्था हो । युवाको ब्यक्तित्व बिकास र क्षमतावान युवा निर्माण गर्ने मुख्य उदेश्य हो । तर पनि शान्ति र अहिंसाको पक्षमा काम गर्ने एकसा एक युवा शक्ति तयार गर्ने कुरामा प्रतिवद्ध छु ।
०एक वर्षको अवधि यो सबै काम गर्न सकिएला र ?
– ३६५ दिन भनेको लामो समय हो । दुवईमा ६ महिनामा एउटा सुविधा सम्पन्न सहर बन्छ । हामी कहाँ एउटा पुल निर्माण हुन ५ वर्ष लाग्छ । जेसीस र गैर जेसीजमा फरक नै यही हो । हामी ३६५ दिन नै पर्याप्त मान्छौं । अरुले ५ वर्षमा गर्न सकिन , थप ५ वर्ष समय देउ भनेर भोट माग्छन् । नेपाल जेसीजले वर्षमा १८ वटा कार्यक्रम गर्छ । ५÷६ वटा विदेशमा कार्यक्रम हुन्छन् । शाखा मार्फत त ५÷६ हजार कार्यक्रम हुन्छन् । ईच्छाशक्ति हुँदा काम गर्न ३६५ दिन भनेको पर्याप्त समय हो भन्ने लाग्छ ।
०जेसीजलाई हुने खानेहरूको संस्था हो भनिन्छ नि ?
– हुने खानेको संस्था कसैले भने होला होला तर , हुँदा खानेहरूलाई हुने खाने बनाउने संस्था हो जेसीज । अरुलाई किन हेर्नु हुन्छ । म आफै हुँदा खानेबाट हुने खाने भएको छु । यो सबै जेसीजले सिकाएको हो । जेसीजमा लागेपछि मानिस उद्यमी बन्छ । केही गरौं भन्ने भोक जगाउँछ, जेसीजले । श्रम र मेहनत गरेर नै भोलेश्वर दूलाल आज राष्ट्रिय रुपमा परिचित हुनु भएको छ । झट्ट हेर्दा जेसीहरू सुकिला मुकिला देखिन्छन् । तर, ति सुकिला मुकिलाहरूले हरेक पटक नयाँ कोट पेन्ट लगाएका हुँदैनन् । जेसीजले पुरानालाई पनि नयाँ जस्तै बनाएर लगाउन सिकाउँछ । जेसीजमा जो लाग्छ, उसले मात्र जेसीज कस्तो संस्था हो भन्ने बुझ्छ । अलि पर बसेर गरेको अनुमान भन्दा वास्तविकता फरक नै हुन्छ ।
० चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ नि ?
– सबैले जित्छु भनेर नै चुनावी प्रतिस्पर्धामा आउने हो । तर, मलाई अहिले सबैको साथ सहयोग छ । प्रदेश नं. १ को साझा उम्मेद्वार बनेको छु । पूर्व अध्यक्षहरूले पनि साथ दिइरहनु भएको छ । चुनावका लागि धेरै तामझाम गर्ने भन्दा पनि युवालाई कसरी आर्थिक उपार्जनमा लगाउन सकिन्छ र मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित छ । पछिल्लो समय उर्लाबारी, पथरी, बेलबारी ,सुन्दरहरैचां, विराटनगर लगायतका साथीहरू पनि सँगै मेरो अभियानमा हुनुहुन्छ । एउटा कुरा भनौं–म बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानको बिरोधी हुँ । बोलेर पीठोलाई चामल भन्दै बिक्री गर्नु अपराध हो । पीठोलाई पीठो नै भनेर बेच्नुपर्छ । ढाँटको राजनीति गर्नु राम्रो होइन ।
०प्यानल पनि तयार गर्नु भएको छ कि ?
राजनीति दलको जस्तो प्यान छैन् । हुँदैन पनि । म त्यस्तो पक्षमा छैन् ।
०सर्वसम्मत हुने सम्भावना छ कि, छैन ?
छैन् । प्रजातन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । स्वच्छ निर्वाचनबाट चुनिएको ब्यक्ति नै नेतृत्वको हकदार हुनुपर्छ भन्ने मान्यतामा म सधैं अडिग छु ।