• केपी शर्मा ओली नेतृत्वको संघीय सरकारबाट समाजवादी पार्टी बाहिरिएको छ।

    सरकार संविधान संशोधनको मुद्दामा गम्भीर नरहेको भन्दै समाजवादी पार्टी केन्द्र सरकारबाट बाहिरिएसँगै प्रदेश २ देखि केन्द्रीय राजनीतिसम्म विभिन्न अडकलबाजी सुरू भएको छ। सिंहदरबारमा भएको सत्ता समिकरणको फेरबदलले प्रदेश २ को राजनीतिमा पनि तरंग ल्याएको छ।

    ओली सरकारले आफ्नो पक्षमा दुई तिहाइ बहुमत देखाउन अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास गर्ने सम्भावना देखिन्छ।

    राजपासँग सरकारले गरेको दुई बुँदे सम्झौताले प्रदेश २ को राजनीतिमा समेत असर पर्ने राजनीतिक विश्लेषक प्राध्यापक डा।सुरेन्द्र लाभ बताउँछन्।

    समाजवादी पार्टीको सरकारबाट बहिर्गमनलाई कुन रूपमा लिन्छन् राजनीतिक दलहरु ?

    ओली नेतृत्वको सरकारबाट समाजवादी पार्टीको बहिर्गमनसँगै समाजवादी पार्टी र राजपाका नेता कार्यकर्तासमेत तरंगित बनेका छन्।

    समाजवादी पार्टीका प्रदेश अध्यक्ष एवं प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले तत्कालीन संघीय समाजवादी फोरम ओली सरकारसँग दुई बुँदे सहमति गरेर सरकारमा सहभागी भएको स्मरण गराउँदै र कुनै पनि माग पूरा हुने छाँटकाँट नदेखिएपछि अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएको बताए।

    उनले नागरिकता विधेयक संशोधन र संविधान संशोधनको माग पूरा नभएपछि बाध्यताले संघीय सरकारबाट बाहिरिनु परेको स्पष्ट गरे।

    मन्त्री यादवले संसदीय प्रणालीमा राजीनामा र सत्ता समानान्तर रूपमा चलिरहने प्रकृया रहेको दाबी गर्दै भने, ‘संविधान तथा कानून संशोधनका लागि कानून मन्त्रालयद्वारा संशोधन प्रस्ताव लैजाने प्रावधान रहेकोले अध्यक्षजीले कानून मन्त्रालय खुसीखुसी सम्हाल्न खोजेको, तर प्रधानमन्त्री ओलीले तत्कालीन फोरमसँग गरेको सहमतिलाई बेवास्ता गरेकाले सरकारबाट बाहिरिनु परेको हो।’

    यता राजपा नेपालका महासचिव समेत रहेका प्रदेशसभा सदस्य मनिष सुमनले नेकपासँग औपचारिक र अनौपचारिक रूपमा विभिन्न चरणको छलफल र संवादपछि भएको दुई बुँदे सहमति स्वाभिवक भए पनि यसको असर प्रदेश दुईको सरकारमा समेत पर्न सक्ने सम्भावना रहेको बताए।

    उनले नेकपासँग सहकार्यका लागि सशर्त सहमति भएमा राजपा संघीय सरकारमा सहभागी हुने र त्यसले प्रदेश दुईमा नयाँ सहमतीय सरकार बनाउन बाटो खुल्ने बताए।

    संघीय सरकारमा सहभागी हुन र नयाँ प्रदेश सरकार गठन गर्न लाल आयोगको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन, सांसद रेशम चौधरीको रिहाइ, तेश्रो मधेश आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा खारेजी, घाइतेको उपचार र संविधान संशोधनलगायत चार बुँदे माग ओली सरकारले पूरा गर्नु पर्ने सुमनको भनाइ छ।

    राजपाका युवा नेता राजु चौधरीले समाजवादी पार्टी र राजपाको अलग अलग स्पष्ट लाइन भएकाले प्रदेश सरकारमा तत्कालै प्रभाव पर्ने सम्भावना नरहेको जिकिर गरे।

    राजपा-समाजवादी एकताको सम्भावना न्यून

    समाजवादी पार्टी सरकारमा रहेका बेला राजपा नेताहरूले समाजवादी पार्टी सरकारबाट बाहिरिए एकता हुन सक्ने अभिव्यक्ति दिएका थिए। अब समाजवादी पार्टी सरकारबाट अलग्गिए पनि तत्काल एकताको कुनै सम्भावना नरहेको जानकारहरू बताउँछन्।

    प्राध्यापक लाभले राजपा र समाजवादीबीचको एकता तत्काल सम्भव नरहेको बताए।

    समाजवादी पार्टीसँग सरकारको दूरी र राजपासँगको नयाँ मिलनले एकतामा अवरोध भएको उनको भनाइ छ।

    डाक्टर लाभले राजपामा ६ धार र समाजवादीमा ३ धार रहेकोले पनि एकता हुने सम्भावना न्युन रहेको तर्क गरे।

    ‘यी ९ धार एक ठाउँमा आए पनि त्यो टिकाउ हुने छैन, कुनै नयाँ मोर्चाको निर्माण हुने सम्भावना पनि देख्दिनँ,’ उनले भने।

    सरकारबाट बाहिरिनुभएको छ राजपासँग एकता हुन्छ भन्ने प्रश्नमा समाजवादी पार्टीका प्रदेश दुईका अध्यक्ष एवं आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले यो प्रश्न राजपाकै नेतासँग सोध्नुपर्ने बताए।

    प्रदेश २ का राजपाका प्रमुख सचेतक परमेश्वर साहले राजनीति सम्भावनाको खेल रहेकोले समाजवादी पार्टीसँगको एकताको सम्भावनालाई अस्वीकार गर्ने स्थिति नरहेको बताए।

    उनले भने, ‘राजनीतिमा रातारात जे पनि हुन सक्छ तर अहिले तत्काल एकताको सम्भावना छैन।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…