• काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिने देखिएको छ । पार्टीभित्रको असन्तुष्ट समूहलाई सहमतिमा ल्याउने संस्थापन पक्षको प्रयासले सार्थकता नपाउँदा आन्तरिक विवादले तत्काल निकास पाउने सम्भावना कम देखिएको हो । १४ औं महाधिवेशनको कार्यतालिकलाई प्रमुख एजेन्डा बनाएर केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पछिल्लो समय विभाग गठन र भ्रातृ संस्थाको विषयमा पनि प्याकेजमा सहमति गर्नुपर्ने अडान राखेपछि संस्थापन पक्ष दबाबमा परेको हो ।

    पौडेल समूहलाई सहमतिमा ल्याउन दुई सातादेखि पटकपटक छलफल भए पनि टुंगोमा पुग्न सकेको छैन । बिहीबार साँझको छलफलमा सहमति नजुटेको नेताहरुले बताएका छन् । ‘आआफ्ना कुरा राख्यौं । पुरानै विषय दोहोर्‍याउनुबाहेक केही भएन,’ सहमतिका लागि गठित वार्ता टोलीका एक सदस्यले भने, ‘दुवै पक्ष आफ्नै अडानमा देखिए ।’

    मंसिर २६ गतेदेखि बसेको केन्द्रीय समिति बैठक पौडेल समूहले बहिष्कार गरेपछि सभापति शेरबहादुर देउवाले सहमतिका लागि भन्दै चार पटक स्थगन गरिसकेका छन् । सुरुमा आफैं सहमति जुटाउन सभापति देउवा सक्रिय भए पनि वरिष्ठ नेता पौडेल पछि नहटेपछि उनले थप छलफलका लागि उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएका थिए ।

    महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न संस्थापन पक्ष तयार भए पनि पौडेल समूहले विभाग र भ्रातृसंस्थाका विषयमा पनि प्याकेजमै सहमति गर्नुपर्ने अडान राख्दै आएको छ ।

    केन्द्रीय समिति बैठकमा सभापति देउवाले विभागको संख्या बढाएर ४१ पुर्‍याउने, तरुण दलको समयावधि ६ महिना थप्ने र नेपाल विद्यार्थी संघ गठन गर्नेलगायतका नौ प्रस्ताव पेस गरेका छन् । पौडेल समूह विभाग संख्या बढाउने प्रस्तावको विरोधमा छ । तरुण दलको समयावधि थप गर्न सकारात्मक रहे पनि महासचिवमाथि भएको कारबाहीका विषयमा सहमति जुट्न सकेको छैन।

    नेविसंघ पदाधिकारीमा पनि विवाद कायमै छ । ‘विभाग र तरुण दलका विषयमा खासै विवाद छैन’, वार्ता समिति सदस्य हृदयराम थानीले भने, ‘नेविसंघमै बढी विवाद छ । विभिन्न विकल्पमा छलफल भए पनि टुंगोमा भने पुिगसकेका छैनौं ।’

    यसैबीच कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नेताहरुबीच छलफल भइरहेकाले शुक्रबार बैठक बस्नुअघिसम्म सहमति हुने दाबी गरे । उनले भने, ‘सहमतिमै केन्द्रीय समिति बैठक बस्छ र पार्टीले निर्णय लिन्छ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…