• विराटनगर, १० पुस: नेपाल कम्युनिष्ट पार्टी विराटनगर महानगरपालिका कमिटीको पुष ८ गते मंगलबार बैठक बस्यो । बैठकको प्रमुख अतिथि थिए–पार्टीकै पोलिटब्यूरो सदस्य गुरु बराल । अनि विशेष अतिथि बनाइएका थिए–सावित्रीकुमार काफ्ले ‘समर’ । बैठकमा अतिथि चयनमा ‘ब्याकरण’ नमिलेको कुरा भित्रभित्रै उठ्यो ।

    खासगरी मर्यादाक्रममा ब्याकरण नमिलेको भनेर हल्लाखल्ला गर्नेमा पूर्वमाओवादीका भन्दा पूर्वएमालेकै बढी थिए । यसो हुनुको कारण थियो–पूर्वएमालेमा हुँदाको ‘गुटगत’ को अधिनायकत्व फेरि पनि कायम हुन दिने कि नदिने ? बरालले हिजो पनि एकछत्र गुट चलाएको र फेरि पनि त्यसैगरी चलाउन खोजेको ठान्दै नेकपाभित्रको एउटा पक्ष सशंकित छ ।

    यो समूह लगभग नामेट भइसकेको बरालको राजनीतिक प्रभुत्व फेरि पुरानै स्वरुपमा पुनरुदोय नहोस् भन्ने चाहन्छ । अर्को समूह जो पार्टीभित्र संस्थापन पक्ष भनिएर चिनिएको छ ऊ भने बराललाई पार्टीका विभिन्न मञ्चमा ‘प्रोजेक्सन’ गर्दै पुरानै अवस्थामा गुटको कमाण्डर बनाएर उभियाउन चाहिरहेको छ ।

    पूर्वएमालेभित्रको यो खिचातानीमा पूर्वमाओवादी भने यता न उता चुपचाप छन् । उनीहरूमा ‘हेर्दै जाऊँ पूर्वएमालेहरू के चाहिँ गर्दा रहेछन्’ भन्ने मनोविज्ञानले काम गरेको हुनसक्ने राय पूर्वएमालेका एक जिल्लास्तरीय नेता व्यक्त गर्छन् । उनले पूर्वएमालेमा भएको पुरानो गुट कायमै रहे पनि पार्टी एकीकरणपछि स्वरुपमा भने परिवर्तन आएको बताए ।

    उनका अनुसार, पूर्वएमाले हुँदा एकै कित्तामा रहेका गुरु बराल, नरेश पोखरेल, विनोद ढकाल, ऋषिकेश पोखरेलहरू अहिले पनि कायमै छन् । यीमध्येमा ढकालसँग पूर्वमाओवादीका गोपी अछामीले हिमचिम राम्रै बढाएका छन् ।

    पार्टीको काममा मात्रै होइन, कसैको बिहे ब्रतबन्ध, मरिमराउमा जानु परे पनि ढकाल र अछामी सँगै जान्छन् । भर्खर प्रेम परेर छुट्टिन नै नचाहेको जोडीजस्तो ढकाल र अछामीको सम्बन्ध रहेको नेकपा कार्यकर्ता बताउँछन् ।

    यहीबीचमा जिल्ला कमिटीको अध्यक्ष भएपछि ऋषिकेश पोखरेलले पार्टी काममै व्यस्त भएकोजस्तो गरेर आफू सबैको भएको बताउने गरेका छन् । सचिवमा उनकै निर्वाचन क्षेत्रका पूर्वमाओवादीका गणेश उप्रेती ‘सुशील’ किन ढुलमुल गरिरहेका छन् भनेर त्यसको अन्दाज लगाउन पनि पोखरेलको समय खर्च हुने गरेको बुझिएको छ ।

    उप्रेतीले कुनै बेला निम्ता कार्डमा भएको फोटोका विषयमा फेसबुकमा सोझै आफ्नो धारणा राखेर पोखरेललाई चसक्क पारिसकेका छन् । पार्टी स्रोतका अनुसार, उप्रेती आफू जनयुद्धको भट्टीबाट खारिएर आएको भन्दै आफ्नो क्रान्तिकारिता जतिखेर पनि प्रकट हुने बताउने गर्दछन् । उनले क्रान्तिको बढी गफ र दर्शन भने महेश रेग्मी समूहलाई दिने गरेको एक कार्यकर्ताले बताए ।

    रेग्मी पार्टीमा ठेक्कापट्टा र नियुक्तिमा भन्दा पनि पार्टीमा पद्दति भएन भनेर चिन्ता लिने नेताका रुपमा चिनिन्छन् । तर, पार्टीभित्रै पर्शुराम बस्नेतलगायतको युवाको समूह अहिले रेग्मीसँग नजिकिएको भन्दै रेग्मीमा पनि विचलन आइसकेको जिकिर गर्ने पक्ष पनि छ । उनकै समूहका एक कार्यकर्ताले बस्नेत अहिले रेग्मीसँगै जीवन घिमिरे, लालबाबु पण्डितसँग निकै निकट रहेको दावी गर्छन् ।

    बजारमा एक जना नाम चलेका व्यापारीको नाम लिएर ‘जति पनि सहयोग गर्छ’ भन्दै बस्नेतले यो बीचमा उधुमै खेला गरेको तिनको बेचैनी उनले प्रदेश खेलकुद विकास समितिमा लिन खोजेको नियुक्तिले निकै बढाएको रहेछ । उनले नियुक्तिकै लागि बस्नेतले प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई प्रभाव पारिसकेको दावी गरे । उनको भनाइमा सिंघिया खोला सफाइको नामको पुसको जाडोमा मन्त्रीसँगै पानीमा बस्नेतले घुँडा धस्नुको राजनीति पनि त्यसैको सेरोफेरोमा केन्द्रित छ ।

    यता सिंघिया खोलो मैलो भनेर सफाइको अभियान गरेका सामाजिक विकास मन्त्री घिमिरेसँगको महेश रेग्मीको सम्बन्ध भने कसले धुने हो भनेर प्रश्न गर्ने पंक्ति पनि पार्टीभित्र रहेको बुझिएको छ । मन्त्री घिमिरेको सिंघिया खोला सफा गर्ने महान अभियानमा रेग्मीले अहिलेसम्म खुट्टा चोपेका छैनन् । उनले त्यतिमात्रै होइन मन्त्री घिमिरेको गाडी पनि अहिलेसम्म चढेका छैनन् ।

    पार्टीका एक कार्यकर्ता भन्छन्, ‘रेग्मीले मन्त्री घिमिरेको गाडी चढे कि चढेनन् परैको कुरा भो, आपसका बोल्छन् कि बोल्दैनन् त्यो चाहिँ सोध्नुहोस् न ।’ घिमिरे र रेग्मीले बाजा आ–आफ्नै बजाए पनि पानी खाने ‘घाट’ भने एउटै रहेको कार्यकर्ताहरू बताउँछन् ।

    दुवै जना माधवकुमार नेपाललाई एयरपोर्टमा स्वागत गर्न जानुपरे फरकफरक गाडी चढेर गए पनि छुट्टियो भने बर्बाद नै होलाझै गर्छन् । दुवै जना नेपाल समूहमा भए पनि रेग्मीले प्रदेश इञ्चार्ज भीम आचार्यलाई नै अहिलेसम्म नेता मानेका छन् । घिमिरेले मुख्यमन्त्री निर्वाचनमै आचार्यलाई लोप्पा खुवाइदिई सकेको छन् । त्यसपछि मन्त्रीको सपथ लिएका घिमिरे मन्त्रालयको काममा व्यस्त छन् ।

    उनी सकेसम्म मन्त्रालयबाटै कार्यकर्तालाई अवसर दिएर आफ्नो प्रभाव कायमै गर्ने प्रयासमा छन् । उनीसँगै मुख्यमन्त्री निर्वाचनमा गडवढी गर्ने राजकुमार ओझालाई भने महेश रेग्मीले इतिहासमा गरिएको एउटा गल्ती भनेर माफ दिएको बुझिएको छ । ओझाले पनि त्यस्तो मनस्थिति प्रकट गरेपछि उनले रेग्मीकै समूहमा निरन्तरता पाएको बुझिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…