• नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकपक्षीय रुपमा केन्द्रीय समितिको बैठक बसाएर गरेका निर्णयहरूले साधारणतया धेरै प्रतिक्रिया नदिने वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई पनि रुष्ट बनाएको छ । गत महाधिवेशनमा पौडेल समूहबाट उठेर महामन्त्री भएता पनि डा. कोइरालाले धेरै विषयमा देउवाले लिएको निर्णयमा साथ दिँदै आएका थिए ।

    आफूले पार्टी एकताको लागि एक प्रकारको सौहार्दता देखाएको तर देउवाले भने पार्टीमा केवल मनपरी ढंगले गलत निर्णय गर्दै गएको हुनाले आफूले बोल्नैपर्ने अवस्था आएको कोइरालाले बताए । उनले अब देउवासँग कुनै प्रकारको वार्ता नहुने र सम्पूर्ण पार्टी एक भएर पहिले देउवालाई महाधिवेशनबाट विस्थापन गर्ने बताए ।

    कम बोल्ने, कसैप्रति आरोप नलगाउने, कार्यकर्ताको सुझाव सुन्ने तर आफ्नो धारणा सार्वजनिक गरिनहाल्ने नेताका रुपमा चिनिने नेता डा. कोइरालाले आइतबार बाह्रखरीसँगको कुराकानीमा अब आफू खुलेरै पार्टीको नेतृत्व परिवर्तन गर्न अघि बढेको स्पष्ट पारे ।

    प्रस्तुत छ, कांग्रेस महामन्त्री कोइरालाले बाह्रखरीका बलराम पाण्डेसँग गरेको कुराकानीको सम्पादित अंशः

    नेपाली कांग्रेस केन्द्रीय समितिको पछिल्लो निर्णयले राजनीतिक तरंग सिर्जना गरेको छ । जुन बैठक तपाईंहरुको समूहले बहिस्कार गर्नुभयो । त्यो बैठकको निर्णयलाई यहाँले कसरी लिनुभएको छ ?

    त्यो केन्द्रीय समितिको निर्णय होइन । त्यो शेरबहादुर देउवाको एकलौटी निर्णय हो । जबकि उहाँले वार्ता समिति बनाउनुभएको थियो । वार्ता समितिले निर्णय नदिँदै उहाँले निर्णय गराउनुभयो ।

    5यसमा हामीलाई निकै दुःख लागेको छ । उहाँले विभागको संख्या २८ बाट बढाएर ४७ बनाउनुपर्ने थियो भने हामीसँग परामर्श गर्नुपर्दैन ? तरुण दलको म्याद थप गर्ने कुरा हामीलाई सोध्नुपर्दैन ?

    उहाँले महाधिवेशनको मिति तय गर्नुभयो । त्यो ठीक छ तर परामर्श गरेको भए के बिग्रन्थ्यो । के को हतार थियो निर्णय नगरी नहुने ?

    शेरबहादुर देउवाका तर्फबाट उपसभापति विमलेन्द्र निधिले पटक–पटक तपाईँहरुसँग वार्ता गर्नुभएको होइन र ? त्यो वार्तामा के कुरा भएको थियो ?

    वार्ता समितिमा धेरै कुराहरु मिलिसकेको थियो । जस्तो कि २८ वटा विभागबाट थप नबढाऔं ।

    अहिले विभाग बढाउनुपर्ने आवश्यकता के छ ? चारवर्ष हुन लाग्यो अब केही समयका लागि विभागको संख्या बढाउनैपर्ने जरुरत थिएन ।

    हाम्रो विधानमा ६ महिनाभित्रै विभाग बनाउने व्यवस्था छ । अन्तिममा नबढाऔँ भनेको थिएँ । तरुण दलमा सहमतिका आधारमा निर्णय गरौं भनेर पनि भनेको थिएँ । महामन्त्रीलाई हटाइदिने, अर्को महामन्त्री दिनुस् भनेर भएन । हटाउनुपर्ने भए सबैलाई हटाऔं । अनि नयाँ नेतृत्व चयन गरौं भनेका थियौं । त्यो पनि सहमतिमा गर्न सकिन्थ्यो । हाम्रो सहमतिबिना गर्न हुँदैनथ्यो ।

    उहाँले एकलौटी गर्नुभयो । उहाँले विधानमा पनि क्रियाशील सदस्यको बारेमा दफा निलम्बन गर्नुभएको छ । आज क्रियाशील सदस्य लिने भोलि भोटिङ गर्ने व्यवस्था राख्न मिल्छ ? विधान पनि आफैँ संशोधन किन गर्ने ?

    के उद्देश्य होला त उहाँको ?

    फेरि जसरी पनि सभापति हुनका लागि उहाँले यो सबै काम गर्नुभएको छ । उहाँ आफू शक्तिशाली भएर चुनाव लड्न चाहनुहुन्छ । विभाग बनाउनुपर्ने पनि त्यही हो । अहिले सबै विभागमा दुईहजार बढी कार्यकर्ताको व्यवस्थापन गर्न सकिन्छ ।

    त्यो भोट महाधिवेशनमा आफ्नो पक्षमा आउँछ भनेर उहाँले निर्णय गर्नुभएको हो ।

    जो उहाँको समूहमा छैनन् ति मान्छेलाई पनि आफ्नो समूहमा ल्याउने रणनीति हो । उहाँ महाधिवेशनकै लागि बलियो बन्ने प्रयासमा हुनुहुन्छ ।

    विधान संशोधनमा तपाईंहरुको असहमति के हो त ?

    विधान संशोधन त झनै खतरनाक छ । कांग्रेसको विधानले क्रियाशील सदस्य हुनका लागि निश्चित समय पूरा गर्नुपर्ने भनेको छ । यो कुरा त कसरी मान्ने ? आज क्रियाशील सदस्य दिने भोलि भोट हाल्न दिने ?

    त्यसो भए तपाईंहरुले यसलाई मान्नुहुन्न ? अब कसरी अघि बढ्नुहुन्छ त ?

    शेरबहादुर देउवाले जति पनि निर्णय गराएका छन् । त्यो सबै नसच्चिएसम्म हामीलाई मान्य हुँदैन । नसच्याइकन हामी उहाँसँग बस्न र वार्ता गर्न पनि सक्दैनौं ।

    वार्तामा पनि नबस्ने ?

    वार्तामा किन बस्ने ? वार्ताका लागि उहाँले वातावरण सिर्जना गर्नुपर्ने होइन ? यस्तो तरिकाले उहाँसँग कसरी वार्ता हुन्छ ? हामीसँग वार्ता के विषयमा र किन गर्ने भन्ने विषयमा उहाँहरु स्पष्ट नभएसम्म किन वार्तामा बस्ने ?

    तपाईंहरुले महाधिवेशन कार्यतालिकाको कुरा गर्नुभएको थियो । त्यो त पूरा भयो नि ! अनि किन मान्नुहुन्न त ?

    उहाँले महाधिवेशनको मितिको सम्बन्धमा गरेको निर्णय मानौंला । तर त्यो सबै निर्णय गर्नका लागि हामीसँग वार्ता गर्न पर्दैन ? हामीसँग परामर्श गरेको भए के बिग्रन्थ्यो ।

    तीन–चार वर्षसम्म जति परामर्श गरे पनि तपाईंहरुले केही निर्णय हुनै दिनुहुन्न रे ! अनि कति समय पर्खिने त ?

    हामीले के मानेका छैनौं । उहाँले एकलौटी गर्ने अनि दोष पनि हामीलाई दिने ? हामीले कहिले के मानेनौं ? भनिदिनुपर्‍यो नि ।

    विभागका लागि उहाँहरुले दुईवर्षदेखि नाम माग्नुभएको थियो । तर तपाईंहरु दिनै चाहनुभएन रे ...

    उहाँले विभाग बनाउँछु नाम दिनुस् भनेर भनेको कुरा सत्य हो । हामीले छलफल पनि गर्दैथियौं । हाम्रो नेता रामचन्द्र दाइसँग उहाँले नाम माग्नुभएको हो । उहाँले दिन सक्नुभएन होला तर अहिले नाम दिएनन् भनेर विभागको संख्या बढाउन त पाइएन नि ।

    तपाईंहरुले नाम दिन नसक्नुको कारण के थियो त ?

    हाम्रो अधिवेशन सकिएपछि विभाग बनाउने कुरा भएको थियो । त्यो बेला रामचन्द्र दाइसँग कुरा गर्नुभयो । उहाँले नाम दिन्छु भन्नुभयो तर दिनुभएन । नाम नभएको भए अहिले विभागको संख्या किन बढाउनुपर्‍यो त भन्ने हाम्रो धारणा हो ।

    अब तपाईंहरुको योजना के हो त ? कि केन्द्रीय समितिको निर्णय मान्दैनौं भन्ने र बस्ने मात्रै हो ?

    हाम्रो योजना के हो भने हामी गाउँ गाउँ जान्छौं र कार्यकर्तासँग छलफल गर्छौं । त्यो छलफलको आधारमा रणनीति तयार पार्नुपर्‍यो ।

    अधिवेशनलाई मुख्य लक्ष्य बनाउने हो । अबको महाधिवेशनमा शेरबहादुर देउवाको विरुद्धमा हामी जति छौं ती सबै एकठाउँमा उभिन्छौं । र, सभापतिमा एकजनालेमात्रै उम्मेदवारी दिन्छौं ।

    त्यो गर्नभन्दा पहिले कार्यकर्तालाई भेला गरेर राय सल्लाह लिएपछि सभापतिको उमेदवार भन्न सक्छौं । हामी सात–आठ जना छौं । सबैको कुरा सुनेपछि हाम्रो समूहको छलफल गरेर सभापतिमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्छौं ।

    तपाईंहरु एकठाउँ हुँदा चुनाव जित्नुहुन्छ भन्ने के ग्यारेन्टी छ र ?

    हामी सात–आठजना एकठाउँ भएर अघि बढ्यौं भने शेरबहादुर देउवाले जे गरे पनि चुनाव जित्दैनन् । हामी हाम्रो भविष्य हेरेर एकठाउँ रहनुको विकल्प छैन । फेरि पनि शेरबहादुर देउवा नै सभापति हुने हो भने पार्टी नै समाप्त हुन्छ । त्यो कुरा सबै नेताले बुझ्नुपर्‍यो ।

    त्यसपछि हामीमध्ये को उम्मेदवार हो ? कसले पार्टीका सबै नेतालाई एकतावद्ध बनाएर लैजान सक्छ ? भोलिका दिनमा कांग्रेसलाई कसले अघि लैजान सक्छ त्यो हेरेर निर्णय गर्नुपर्छ ।

    कार्यकर्ताकहाँ गएर के भन्नुहुन्छ ?

    हामीले शेरबहादुर देउवाले पार्टी समाप्त गर्न लागे बचाऔं भन्छौं । अरु एजेन्डा पनि छन् । शेरबहादुर देउवालाई कसरी सभापतिबाट मुक्त गर्ने भन्ने एजेन्डा नै कार्यकर्ताको तहसम्म पुगेर छलफल गर्छौं । स्थानीय तहमा देखिएको समस्या पनि हामीले पहिचान गर्न सक्छौं ।

    पार्टीलाई कसरी संगठित गरेर भोलिको दिनमा एकजुट कसरी हुने भन्ने आइडिया पनि कार्यकर्तासँग लिन्छौं ।

    स्थानीय तहमा विवाद छ भने त्यसलाई समाप्त गरेर लैजान्छौं । पार्टीलाई एकढिक्का बनाएर जानुको विकल्प छैन ।

    कांग्रेसमा अहिले दुईगुट छन् । शेरबहादुर देउवा र रामचन्द्र पौडेलको । देउवा गुटमा विवाद छैन र पौडेल गुटमा उपगुट बढी छन् । कसरी मिलाउनुहुन्छ ?

    यो कुरा गलत हो । पहिलो कुरा के भन्दा शेरबहादुर देउवाको आधार तलसम्म छैन । कार्यकर्ताले उहाँलाई मन पराउँदैनन् । तर उहाँको केन्द्रीय समितिमा बहुमत छ । तल्लो तहमा उहाँको उपस्थिति न्यून छ ।

    हामी एकैठाउँमा नउभिएसम्म हुँदैन भनेपछि उपाय सजिलो पनि छ ।

    महामन्त्रीको हैसियतमा तपाईंले शेरबहादुर देउवालाई यसरी जाऔं भनेर प्रस्ताव गर्नुभएन ? मिलाएर लैजाऔं भन्नुभएन ?

    उहाँको विषयमा धेरैपल्ट मैले बोलेको छु । उहाँलाई ‘डिफेन्स’ गरेर नै मैले बोलेको छु । म महामन्त्रीको हैसियतमा उहाँलाई कैयौंपल्ट सुझाव पनि दिएको छु । मैले त्यो बेला उहाँको विरोध गरिनँ । म ढाल बनेर उहाँलाई सहयोग गरेँ ।

    जब कांग्रेसले चुनाव हार्‍यो सबैले शेरबहादुर देउवाले जिम्मा लिनुपर्छ भन्दा मैले म पनि लिन्छु भनेर उहाँलाई आरोप लाग्नबाट जोगाएँ । म पनि महामन्त्री हुँ, दोषी हुँ भनेर भनेँ । सम्पूर्ण कार्यसमिति पनि दोषी हो भनेर उहाँलाई मैले सपोर्ट गरे । अहिले, शेरबहादुर देउवाको रवैया हेर्दा मलाई साह्रै विरक्त लाग्यो । त्यसपछि अब म पनि बोल्नुपर्छ भनेर बोलेको हुँ ।

    भनेपछि अब शेरबहादुर देउवासँग वार्ता हुँदैन ?

    हो, अब शेरबहादुर देउवासँग अब वार्ता हुँदैन, महाधिवेशनमै भेट हुन्छ । बीचमा त्यस्तै कुरा आयो भने मात्रै हो नभए महाधिवेशनमै भेट हुन्छ ।

    उहाँले बोलाएमा नजाने भन्ने हुँदैन ।

    बोलाउनुभयो भने पनि हामी खुसुक्क गएर भेट्दैनौं । किन र के का लागि वार्ता ? भनेरै जान्छौं ।

    ४७ वटा विभाग बनेका छन् । तपाईंहरुको समूहका पनि केही गएर विभागको नेतृत्व गरे भने के गर्नुहुन्छ ?

    मलाई लाग्छ साथीहरु जानुहुन्न । मुख्य विभाग उहाँले कसैलाई दिनुहुन्न । अरु विभागको आवश्यक पर्दैन । त्यसको रोल हुँदैन । हामी जान हुँदैन ।

    नेताहरु गइहाल्नुभयो भने ?

    जानुहुन्न । तर गइहाल्नुभयो भने उहाँहरुको पनि विवेकको कुरा हो । अब पार्टी नजोगाए नेताहरु पनि जोगिनुहुन्न ।

    तपाईंहरुको समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायतका नेताहरु हुनुहुन्छ । यहाँहरुमध्ये को सभापतिको सम्भावित उमेदवार भनेर कार्यकर्ताकहाँ जाने होला नि ? को हो तपाईंहरुको समूहको नेता ?

    हामीले हाम्रो नेता छान्नुभन्दा पहिला हामी गाउँ जानुपर्छ । कार्यकर्ताको सुझावअनुसार हामी बसेर निर्णय गर्छौं ।

    यो समूहमा तपाईंको पनि नाम लिन्छन् । तपाईंको नाममा अरु नेता सहमत हुनुहोला ? अथवा अरु कसैको नाम आयो भने तपाईं नेतृत्व छाडिदिन तयार हुनुहुन्छ ?

    हामी सहमत हुनैपर्छ । नभइ हुँदैन । जो सुकै भए पनि हामी एकैठाउँमा उभिनुपर्छ । अब बाघले हामीलाई खान आइसक्यो । हामी एकैठाउँ उभिएनौं भने खाइहाल्छ ।

    कसको नेतृत्वमा सहमति जुट्ला ? तपाईंको ?

    म त भन्छु मेरोमै सहमति जुटोस् । अरु नेताको नाममा सहमति जुट्यो भने पनि म तयार हुनुपर्छ । तपाईंले सीधै प्रश्न राख्नुभयो, कार्यकर्ताको सुझावपछि मैले को उमेदवार भन्न सक्छु । दाबी मेरो पनि हो ।

    बाँकी अरु नेता पनि दाबेदार हुनुहुन्छ । हामीले शेरबहादुर देउवासँग रहेका कतिपय नेताहरुलाई पनि हाम्रो समूहमा ल्याउन सक्छौं । त्यो पनि प्रयास गर्छौं । पूर्वदेखि पश्चिमसम्म गएपछि कति नेता हामीसँग आउनुहुन्छ । हामीले त्यो तयारी पनि गरेका छौं ।

    तपाईंहरुको माग किन कहिल्यै सुन्न नचाहनुभएको होला त सभापतिले ?

    कहिल्यै सुन्नुभएन । अन्तमा त झनै सुन्नुभएन । पहिला पहिला अलि अलि सुन्नुहुन्थ्यो ।

    उहाँको एउटै स्वार्थ छ म सभापति कसरी बन्ने ? कसरी पार्टी कब्जा गर्ने र कसरी प्रधानमन्त्री बन्ने भन्ने बाहेक उहाँमा अरु चासो नै छैन । त्यो बाहेक उहाँको केही छैन ।

    केन्द्रीय समितिले ०७७ साल फागुनमा महाधिवेशन भनेर निर्णय गरेको छ । तपाईंहरु त्यो निर्णयलाई मानेर जानुहुन्छ कि मान्नुहुन्न ?

    त्यो निर्णय भइसकेको छ । हामीले पनि महाधिवेशन छिटो गराउनुहोस् भनेर भनेका थियौं । हामीले पार्टीमा देखिएको समस्या समाधान गरौं भनेर भनेका थियौं । महाधिवेशन गर्ने कुराको हामी विरोध गर्दैनौं ।

    कांग्रेसमा अर्को एउटा समूह छ । जुन समूहमा कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदीप पौडेललगायतका नेताहरु हुनुहुन्छ । उहाँहरु निर्णायक बन्न सक्ने देखिन्छ । उहाँहरुलाई कसरी मिलाउनुहुन्छ ?

    यसपालि सिटौलाजी उता जानुहुन्न । हामीले जे निर्णय गर्छौं, त्यो उहाँले पनि मानेर अघि बढ्नुहुन्छ । त्यो मेरो विश्वास पनि हो ।

    कतिपयले कांग्रेसको भावि नेतृत्व तपाईं हो भनेर पनि भन्छन् तर तपाईंलाई परिवर्तन विरोधी, हिन्दु धर्मको पक्षधर, राजतन्त्रको पक्षपाति भनेर आलोचना गर्छन्, तपाईं त्यस्तै हो ?

    तपाईंलाई फेरि पनि स्पष्ट पार्न चाहन्छु । कहिल्यै पनि मैले हिन्दु धर्म र राजसंस्थाको वकालत गरेको छैन । मैले धार्मिक स्वतन्त्रता भनेको हुँ । त्यसलाई राजसंस्थासँग लगेर कसरी जोडियो ? मैले धर्म निरपेक्षता होइन, धार्मिक स्वतन्त्रता हुनैपर्छ भनेर भनेको हुँ ।

    हाम्रो चारतारे झण्डामा रहेको एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतीक हो । अहिले प्रलोभन दिएर धर्म परिवर्तन गराइरहेका छन् । कडाइका साथ धर्म परिवर्तनमा रोक लगाउनुपर्छ । अब आउँदो जनगणनामा हेर्नुहोला क्रिश्चियन कति हुँन्छन् ? मैले कहिले पनि हिन्दु धर्मको कुरा गरिन ।

    मैले गणतन्त्र नआउँदै राजसंस्था भने हुँला । तर राजाले जब आफ्नो कार्यकालमा जुन घटनाक्रम सञ्चालन गर्नुभयो त्यो मलाई चित्त बुझेन ।

    बीपी कोइरालाले राजसंस्थाको बारेमा ‘राजासँग मेरो घाँटी जोडिएको छ’ भनेर भन्नुहुन्थ्यो । त्यसमा मेरो पनि विश्वास थियो । राजा स्वयम्ले ‘कू’ गरेपछि मलाई राजा यो देश बचाउन सक्दैनन् भन्ने लागेको हो ।

    तपाईंका मुख्य एजेन्डा के हुन्छन् नेतृत्वमा पुग्नका लागि ?

    मेरा दुईवटा एजेन्डा छन् । एउटा राष्ट्र निर्माणको बारेमा । दोस्रो संगठनको बारेमा । राष्ट्र निर्माणका लागि सबैभन्दा पहिले हामीले परिवर्तन ल्याउनुपर्छ । हाइड्रो, टुरिजम तथा अन्य क्षेत्रमा विकास गर्नुपर्छ र बृहत परिवर्तन गर्नुपर्छ ।

    मुख्य एजेन्डा कृषि पनि हो । उत्पादन जबसम्म बढाउन सक्दैनौं । तबसम्म हाम्रो आर्थिक उन्नति हुन सक्दैन । कृषिमा क्रान्ति गर्नैपर्छ । नेपालको जमिनमा उत्पादन भएको वस्तुले ९ करोड जनसंख्या पाल्न सकिन्छ ।

    तर, अहिले हामी कृषि उपजमा आयातमुखी भएका छौं, जुन दुःखलाग्दो छ ।

    अर्को कुरा पार्टीभित्रको कुरा हो । पार्टीभित्र सिद्धान्तमा विवाद छैन । गुट उपगुटले पार्टी समाप्त हुन्छ । महाधिवेशनमा निर्वाचन पूर्व केही समूह देखिनु स्वाभाविक हो तर त्यसपछि पनि भइरहनु घातक हो ।

    अब विवाद बढ्दै जाँदा पार्टी फुटको संघारमा पनि पुग्न सक्ला नि है ?

    पार्टी फुट्दैन । हामीले पार्टी फुटाउने प्रयास पनि गर्दैनौं । शेरबहादुर देउवाको विगत त पार्टी फोड्ने नेताको रुपमा चित्रित छ । अब उहाँले पनि पार्टी फोड्ने हिम्मत गर्नुहोला जस्तो लाग्दैन । फुट्ने सम्भावना कम छ ।

    बेला बेलामा कोइराला परिवारका तीनजना नेता गोप्य बैठकमा बस्नुहुन्छ नि ! तीनजनामध्ये नेता को ?

    हामी तीनजनामा एकदम राम्रो सम्बन्ध छ । सुजाताको स्वास्थ्यले दिँदैन । शेखर दाई र म मध्ये एकजनाले पाउनुपर्छ भन्ने हो । हामीले नपाएर अर्कैले पाए पनि हामी आठजना एकै ठाउँमा बस्नुपर्छ ।

    तपाईंलाई शेरबहादुर देउवाले नै सभापतिको उम्मेदवार बनाउनुभयो भने के गर्नुहुन्छ ? या तपाईंहरुको गुटको अर्को नेतालाई बनाउनुभयो भने के होला ?

    उहाँले मलाई प्रस्ताव गरिसक्नुभएको छ । अघिल्लो महाधिवेशनमा तपाईंले यसपल्ट मलाई सहयोग गर्नुस् अर्कोपल्ट मैले गर्छु भन्नुभएको हो । तर, म शेरबहादुर देउवाको उम्मेदवार बन्न तयार छैन । १४ औं महाधिवेशनमा शेरबहादुर देउवा नै अघि बढ्नुहुन्छ ।

    उहाँले अर्को नेतालाई अघि सार्नै हुन्न । कथंकदाचित कसैलाई अघि सार्नुभएमा आठौं आश्चर्य हुनेछ ।

    बीपी कोइरालाको परिवार र गणेशमान सिंहको परिवारबीचको सम्बन्ध अहिले कस्तो छ नि ?

    एकदम राम्रो छ । प्रकाशमान सिंह र मेरो राम्रो सम्बन्ध छ । एकआपसमा हाम्रो वार्ता चलिरहन्छ । बीपी कोइराला र गणेशमान सिंह भनेको कांग्रेसको पिलर हो । त्यसैले हामी पनि एकैठाउँ बस्नुको विकल्प छैन ।

    प्रसंग बदलौं –

    बलियो प्रतिपक्षको आवश्यकता परेको बेलामा कांग्रेस आफैं छिन्नभिन्न अवस्थामा छ । पार्टीभित्र र सरकारसँग कसरी लड्न सक्नुहोला ?

    हामीले जबसम्म शेरबहादुर देउवालाई पार्टी सभापतिबाट मुक्त गर्न सक्दैनौं तबसम्म हामी सरकारसँग पनि लड्न सक्दैनौं । पार्टीलाई देउवाबाट मुक्त गरिसकेपछि मात्रै यो सरकारसँग लड्न सक्छौं ।

    सरकारको कामकारवाहीलाई कसरी हेर्नुभएको छ ?

    केपी शर्मा ओली नेतृत्वको सरकारले तीनवर्ष हुन लाग्दासम्म एउटा पनि नयाँ काम के गरेको छ ? तपाईं भनिदिन सक्नुहुन्छ ? एउटा पनि ! नयाँ विमानस्थल, नयाँ सडक, नयाँ युनिभर्सिटी केही गरेको छ ? केही पनि छैन ।

    दुई तिहाइको दम्भ मात्रै छ । सबै पहिलेका सरकारले तयार गरेको कार्यक्रमलाई अघि बढाउन खोजेको मात्र हो ।

    पहिलेकै योजना पनि कार्यान्वयन गर्न सकेको छैन । जनतालाई भ्रममा राख्नबाहेक केही गरेन यो सरकारले ।

    गरिबीको रेखामुनि रहेका समूहलाई के दिए ? धनाड्यलाई के दिए त ? व्यापारी निराश छन् । स्वतन्त्रताविरोधी सरकार हो यो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…