• लन्डन — चेल्सीले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई उसकै घरमा २–१ ले हराएको छ । आर्सनलले इमिरेट्समा पिएरे एमरिक अबामेयाङको गोलले १३ औं मिनेटमा अग्रता लिएकोमा जोर्गिन्होले ८३ औं मिनेटमा बराबरी गोल फर्काए ।

    इंग्लिस प्रिमियर लिगमा आइतबार चेल्सीविरुद्ध गोल गर्ने क्रममा आर्सनलका पिएरे एमरिक अबामेयाङ (रातो) । इमिरेट्स रंशगालामा उनकै गोलमा ८३ मिनेटसम्म लिएको अग्रता आर्सनलले जोगाउन सकेन ।तस्बिर : एपी

    चेल्सीका लागि टमी अब्राहमले ८७ औं मिनेटमा निर्णायक विजयी गोल गरे । यो जितपछि चेल्सीको ३५ अंक भएको छ । क्लबले चौथो स्थानमा पकड बलियो बनाएको छ । आर्सनल भने २४ अंकमै सीमित रह्यो ।

    यसअघि शनिबार रातिका खेलमा पूरा परिवर्तित टिम उतारेको लेस्टर सिटीले वेस्ट ह्यामलाई २–१ ले हरायो भन बर्नलीलाई २–० ले हराएर म्यानचेस्टर सिटी चौथो स्थान नजिक पुग्न सफल रह्यो । हारसँगै वेस्ट ह्यामका व्यवस्थापक म्यानुयल पेलेग्रेनी बखास्तीमा पनि परेका छन् । म्यानचेस्टरको जितमा एन्थोथी मार्सियल र मार्कस रसफोर्डले एक–एक गोल गरे । म्यानचेस्टर टोटेनहमको माथि छ ।

    टोटेनहम भने अर्को खेलमा नर्विचसँग २–० को बराबरीमा रोकियो । बक्सिङ डेमा लिभरपुलविरुद्ध खेलेको टिमबाट लेस्टरले ९ खेलाडी परिवर्तन गरेको थियो । त्यही टिमविरुद्धको खेलपछि पेलेग्रेनीको बर्खास्ती घोषणा भएको थियो । त्यो खेल गुमाउने प्रमुख खेलाडीमा जेमी भार्डी पनि रहे । उनी छोरीको जन्मका कारण खेलमा उपस्थित भएनन् । तर टिमलाई जिताउन केलेची इहेनाचो डमराइ ग्रेको गोल पर्याप्त रह्यो ।

    जितपछि पनि लेस्टर शीर्षस्थानको लिभरपुलभन्दा १० अंकको अन्तरले पछाडि छ । पाब्लो फोर्नाल्सले वेस्ट ह्यामका लागि एक गोल फर्काए पनि त्यो नतिजा परिवर्तन गर्न पर्याप्त रहेन । पछिल्ला ९ खेलमध्ये सातमा पराजित वेस्ट ह्याम रेलिगेसन क्षेत्रबाट एक अंकले मात्र अगाडि छ । म्यानचेस्टरले भने चौथो स्थानको चेल्सीसँगको दूरी एक अंकमा छोट्यायो । म्यानचेस्टरले लिगका पछिल्ला १५ खेलमा कुनै गोल नखाएको यो पहिलोपल्ट हो । ‘क्लिन सिट राख्न सक्नुको पनि ठूलो अर्थ छ, यसले खेलमाथि आफ्नो पकड कायम राख्न मदत राख्छ,’ म्यानचेस्टरका व्यवस्थापक ओले गनर सोल्सायरले भने ।

    टोटेनहम आफैं पनि क्लिन सिट राख्न संघर्षरत छ । जोसे मोउरिन्हो आएयता क्लबको डिफेन्स अझै कमजोर देखिएको छ । त्यसैले टिमले लिगतालिकाको पुछारमा रहेको नर्विचविरुद्ध खेलमा पनि २–२ को बराबरीमा चित्त बुझायो । ‘हामीले निकै सजिलोसँग दुई गोलको उपहार दियौं । हामीले लगातार गोलको अवसर दिइरहेका छौं र यो ठीक होइन । सबैभन्दा चिन्ताको विषय के हो भने हाम्रो डिफेन्सले एकपछि अर्को भुल गरिरहेको छ,’ टोटेनहम व्यवस्थापक जोसे मोउरिन्होले प्रतिक्रिया दिए ।

    कार्लो एन्सेलोट्टी आएयता एभरटनको सुधारिएको प्रदर्शन कायम रह्यो । आकर्षक सुरुआत लिँदै क्लबले न्युकासललाई उसकै घरमा २–१ ले हरायो । एभरटनका लागि दुवै गोल लयमा देखिएका डोमिनिक क्लेभर्ट लेविनले गरे । यो जितपछि एभरटन लिगतालिकाको मध्यतिर उक्लिन सफल रह्यो । शीर्ष चारको अभियानमा रहेको क्रिस्टल प्यालेसले भने त्यसमा धक्का पुग्ने गरेर साउथह्याम्टनविरुद्ध १–१ को बराबरी खेल्यो । वाटफोर्डले भने एस्टन भिल्लालाई३–० ले पन्छायो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…