डेढ महिनाअघि नगरकोटका स्थानीयले समयमै बाटो नबनाउन ठेकेदार शारदाप्रसाद अधिकारीका तस्बिर बिजुलीका पोल र बसका भित्तामा टाँसे।
दोलखाको चरिकोटका स्थानीयले पनि विरोधको त्यही शैली अपनाए।
बाटो, पुल, भवन, खानेपानी बनाउने जिम्मा लिएर वर्षौं पूरा नगर्ने ठेकेदारको सूची लामै छ।
तर अघिल्लो साता एक फरक दृश्य देखियो।
दाङका स्थानीयले ठेक्का अवधिभन्दा आठ महिनाअघि नै पुल बनाएर सक्ने ठेकेदारलाई फूलमाला लगाएर सम्मान गरे।
सम्मान पाउने निर्माण व्यवसायी हुन्, रसुवा कन्स्ट्रक्सनका अध्यक्ष राजेन्द्र आचार्य।
केही समयअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन सम्झौताअगाडि नै सकेको उनको कम्पनीले दाङको तुलसीपुर-घोराही सडक खण्डमा पर्ने ग्वारखोला पुल तोकिएको समयभन्दा ८ महिना अगाडि नै पूरा गर्यो।
कम्पनीले यही सडक खण्डकमा अर्को पुल पनि १४ महिनाअघि सम्पन्न गरेको थियो।
सम्झौताअगाडि नै काम सकेपछि कम्पनीलाई दाङको बिजौरी उद्योग वाणिज्य संघले सम्मान गरेको हो।
देशभरिका आयोजना धकेलिएको धकेलिँदै हुँदा आचार्यको कम्पनीले समयभन्दा अगाडि नै कसरी सक्छ काम?
समयमै काम सकिनुको मुख्य कारण प्राविधिक, आर्थिक र व्यवस्थापकीय क्षमता भएको आचार्य बताउँछन्।
‘कुनै पनि आयोजना समयमै नसकिनुको मुख्य कारण निर्माण कम्पनीको क्षमता हो। क्षमताका हिसाबले हामी अब्बल छौं,’ आचार्यले सेतोपाटीसँग भने।
निर्माण कम्पनीको आर्थिक क्षमता बलियो हुनुपर्छ। जुन कम्पनीले सरकारले दिने मोबिलाइजेसनको रकमबाटमात्र काम गर्ने योजना बनाउँछन् अर्थात् त्यही पैसामात्र खेलाउँछन् उनीहरू काममा ढिला हुने आचार्यको अनुभव छ।
आचार्यका अनुसार समयमै काम सक्न चाहिने अर्को महत्वपूर्ण पक्ष दक्ष जनशक्ति हो। एउटा आयोजनामा अदक्षका कामदारदेखि अनुभवी र विज्ञ प्राविधिक जनशक्ति चाहिन्छ। कतिपय कम्पनी आफ्नो क्षमताभन्दा बढीका आयोजना हात पार्न खोज्छन्। ठेक्का पाएपछि मान्छे खोज्न थाल्छन्।
जनशक्तिको क्षमतामा आफ्नो कम्पनी स्पष्ट भएको र कुनै पनि आयोजनामा कमी नभएको आचार्यले बताए।
‘जनशक्तिका हिसाबले हामी सम्पन्न छौं। प्रत्येक साइटमा रेखदेख गर्ने पर्याप्त इन्जिनियर छन्। केन्द्रीय कार्यालयले कुन आयोजनामा के काम कहिले हुन्छ र त्यसका लागि के चाहिन्छ सब जानकारी राख्छ। त्यहीअनुसार आपूर्ति वा वितरण गर्छ। यति भएपछि काम ढिला भन्ने हुँदैन,’ उनले भने।
पूर्वाधार निर्माणको जिम्मा पाएका कम्पनीका लागि योजना अर्को महत्वपूर्ण पाटो हो।
नेपालका धेरैजसो कम्पनी योजना एकातिर काम अर्कोतिर गर्छन्। यही कारणले धेरै आयोजनामा ढिलासुस्ती हुन्छ।
ठेक्का पाएपछि सम्झौताअनुसारको कार्यतालिका र सोहीअनुसार काम गर्नाले लक्ष्य भेट्टाइने आचार्यको अनुभव छ।
‘योजनाअनुसार काम गर्दा कुन समयमा कुन सामान र कुनबेला पैसा कति चाहिन्छ पहिल्यै थाहा हुन्छ। त्यहीअनुसार वित्तिय योजना बन्छ। र कार्यतालिकाअनुसार काम हुन्छ। हामी त्यही गर्छौं,’ आचार्यले भने,‘अरू र हामीमा फरक भनेको योजना हो। सबै योजना बनाएर काम गर्दैनन्। डिजाइन बनाएर त्यसमा निर्णय गर्न ६ महिनाको समय दिइएको हुन्छ, तर लाग्छ १८ महिना। अनि कसरी सकिन्छ काम? हामी त्यस्तो काम ४ महिनामा सक्छौं।’
अर्को महत्वपूर्ण पक्ष प्राविधिक उपकरण हो। धेरैजसो निर्माण कम्पनी थोरै प्राविधिक क्षमतामा चलेका हुन्छन्। मनलाग्दी ठेक्का लिन्छन् तर निर्माण उपकरण थोरै हुन्छन्। एउटै डोजर सात ठाउँमा घुमाउँछन्। आचार्यले पनि कति प्रतिस्पर्धी कम्पनीको हालत त्यस्तै देखेका छन्। आफ्नो कम्पनी त्यस्तो नभएको उनको दाबी छ।
उनका अनुसार रसुवा कन्स्ट्रक्सनसँग चालिस करोडजतिका निर्माण उपकरण छन्।
वर्षमा ३ अर्बको कारोबार गर्न कम्पनीले प्राय: पुलको काम गर्छ। पुलको काम गर्दा चाहिने हरेक उपकरण आफूहरूसँग भएको आचार्यले बताए।
प्रविधिको प्रयोग गर्दा निर्माण छिटो तथा गुणस्तरीय हुने उनको अनुभव छ।
‘हामीसँग पुलको जग(पाइलिङ) हाल्न विशेष मेसिन छ। जसको मूल्य नै ६ लाख युरो पर्छ। पाइलिङको साइजअनुसारका अन्य एसोसरिज नै लाखौंका किन्नुपर्छ। जसको प्रयोगबाट निर्माण छिटो र गुणस्तरीय हुन्छ’ उनले भने।
प्राय: पुलकै काम गर्ने यो कम्पनीसँग अहिले पुल र जलविद्युत आयोजनाका हेडवर्कसँग सम्बन्धित उपकरण छन्। आफूहरू दक्षता र क्षमता अनुसारकोमात्र ठेक्का लिने भएकाले नै सडकमा धेरै काम नगरेको आचार्यको भनाइ छ।
‘यदि हामी पनि अरूजस्तै दक्षता र क्षमता नहेरी ठेक्का लिने भए सडकमा पनि टेन्डर हाल्थ्यौं। हामीले सडकमा पनि हात हाल्ने हो भने अहिले नै २५ करोड बढी रुपैयाँ उपकरणमै लगानी गर्नुपर्छ,’ उनले भने।
रसुवा कन्स्ट्रक्सनले अहिले मदन भण्डारी राजमार्गको हेटौंडा–चतरा सडक खण्डमा ४२ वटा पुल बनाइरहेको छ। कम्पनीका लागि यो अहिलेसम्मकै ठूलो प्रोजेक्ट हो।
२०७४ सालमा सम्झौता भएका यी पुल २०७७ असारसम्म सकिसक्नुपर्छ। ती सबै पुल तोकिएको समयभन्दा अघि नै हस्तान्तरण गर्ने आचार्यको लक्ष्य छ।
निर्धारित समयमै काम सक्नुका पछाडिको अर्को कारण छ आफूले निर्माण व्यवसायबाहेक अरू केही नगर्नु रहेको आचार्यले बताए।
नेपालमा निर्माण व्यवसायीले ठेक्का पाएपछि सुरूमै पाइने मोबिलाइजेसन रकमबाट काम गर्ने भन्दा अन्यत्र लगानी गर्छन्। जसका कारण काम ढिला हुन्छ।
‘हामी ठेक्का पाएको खुसियालीमा काठमाडौंमै रमाउने, साइट हेर्न नजाने र इन्जिनियरको भरमा निर्माण आयोजना छोड्ने गर्दैनौं,’ उनले भने।
सरकारी नीति र व्यवाहरका कारण पनि आयोजना निर्माणमा केही ढिलाइ हुने आचार्यको अनुभव छ।
‘सरकारले मंसिरमा भएको कामको भुक्तानी असारसम्मै पुर्याउँछ। जसका कारण बीचमा पैसा अभाव हुनेले काम गर्न सक्दैनन्। बजारमा विश्वास हुनेले उधारो गरेरै भए पनि काम चलाउलान् तर अरुका लागि कठिन हुन्छ’ उनले भने, ‘एकपटक हामीले नै असारमै गएर ९० करोड बढीको भुक्तानी पाएका थियौं। यसले गर्दा सरकारी भुक्तानी प्रणाली असहज छ।’
पारिवारिक व्यवसाय निर्माण
अहिले निर्माण आचार्यको पारिवारिक व्यवसाय बनिसकेको छ। उनका बुबाले २०२० सालमै निमार्ण व्यवसायमा हात हालेका थिए।
‘त्यतिबेला कुनै कम्पनी थिएन बुबाले आफ्नै नामबाट व्यवसाय गर्नुहुन्थ्यो, तर २०३३ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर कम्पनी चलाउन पाइने भए पनि कम्पनी दर्ता गरिएको हो,’ उनी सम्झिन्छन्।
बुबाले सडक निमार्णको काम गर्ने भए पनि २०४२ सालबाट आफूले जिम्मेवारी लिन थालेपछि भने उनले सडकभन्दा पुलमा जोड दिए।
‘अहिलेसम्म एक सय भन्दा बढी पुल बनाइसकें, पुल बनाउन मलाई सजिलो लाग्छ,’ आचार्यले भने,‘त्यसैले पुलकै काम धेरै गरिरहेको छु।’
अहिले उनको परिवार नै निर्माण व्यवसायमा लागेको छ।
‘मेरो दाजुभाइ पनि तीन जनानै यसै फिल्डमा छौं,’ उनले सुनाए, ‘मेरो छोरो पनि इन्जिनियर भयो। गत वर्षदेखि फिल्डमा पुगेर काम गर्न थालिसकेको छ। दाइको छोरो पनि इन्जिनियर हो।’