• पुस १५, २०७६ काठमाडौं : नेपाली कांग्रेसले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुलाई योगदान गर्न आग्रह गरेको छ।

    मेलमिलाप दिवसको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले ‘एक परिवार दुई पर्यटक’को नारासहित विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु र पार्टीको देशभित्रका सबै तहलाई योगदान गर्न अपिल गरेका हुन्। त्यस्तै कांग्रेसले संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टि गरेको जनाएको छ।

    'फेसबुक, ट्वीटर र इन्स्टाग्राम बन्द गर्न लागिएको हो?, शर्माले सरकारलाई प्रश्‍न गरेका छन्। प्रवक्ता शर्माले नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत् सरकारले नागरिकको फोन ट्यापिङ गर्न सक्ने अधिकार लिन चाहेको दाबी गरे।

    उनले सामाजिक सञ्जाललाई नियन्त्रण गरी नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्न खोजिएको आरोप पनि लगाए। कांग्रेसको प्रष्ट विमतिबीच संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टि गरेको नेपाली कांग्रेसले जनाएको छ।

    विधेयकमार्फत् त्यो दिशामा सरकार दुई कदम अघि बढेको कांग्रेसले ठहर गरेको छ। कांग्रेसले गोकर्ण, दरवारमार्ग लगायत सबै विवादास्पद प्रकरणको छानविन र कारवाही माग गरेको छ।

    सम्मेलनमा कांग्रेसले नेपाल ट्रष्ट अन्तर्गतको गोकर्णको जग्गा विगतमै न्यून मूल्यमा लिजमा दिइएको र लामो समयावधि बाँकी छँदै नवीकरण गरिएको विषयमा निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ।

    पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले गोकर्ण, दरवारमार्ग, ताहाचल लगायत अन्य सबै विवादास्पद प्रकरणको पृष्ठभूमिदेखिकै गम्भीर छानविन र कारवाहीका लागि सम्बन्धित निकायसमक्ष माग गरेका हुन्। त्यस्तै कांग्रेसले सरकारको कर्तव्य उखुको मूल्य निर्धारण गर्ने मात्र नभई किसानले पाउनुपर्ने भुक्तानी दिलाउनसमेत रहेको जनाएको छ।

    प्रवक्ता शर्माले आन्दोलनरत किसानहरुको साथमा कांग्रेस रहेको बताउँदै तत्काल समस्या समाधानका लागि सरकारले तत्परता देखाउनु पर्ने माग कांग्रेसको रहेको बताए। कांग्रेसले संघीयताको मर्म विपरीत नेकपाको सचिवालयले प्रदेश ३ को नामाकरण गरी आदेश जारीगर्नुलाई प्रदेश सभाको अधिकार अपहरण भएको जनाएको छ।

    त्यस्तै प्रवक्ता शर्माले कांग्रेसले प्रदेश सभाको सदस्यको उम्मेदवार तय गर्न पुष १७ गते कार्यसमिति बैठक बस्ने जानकारीसमेत दिए। त्यस्तै उनले बुधबार सभापति शेरबहादुर देउवाले अनौपचारिक छलफलका लागि पदाधिकारी सहित केन्द्रीय सदस्यहरुलाई आफ्नो निवासमा बोलाएको जानकरीसमेत दिए।

     प्रेस विज्ञप्ति

    (१) कुनै पनि लोकतान्त्रिक दलभित्र फरक मत या फरक विचार रहने सामान्य यर्थाथका बीच सबैको साझा अपेक्षाको नेपाली कांग्रेस चौधौं महाधिवेशनको मिति र कार्यतालिका केन्द्रीय कार्यसमितिले सार्वजनिक गरिसकेको तथ्य यहाँहरुलाई विदीतै छ । जननेता वीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति प्रतिपादन गर्नु भएको पुस १६ गतेको पूर्व सन्ध्यामा पार्टीको घरेलु जीवनको एकता र मेलमिलाप सबैको साझा अपेक्षा र देशभरिका साथीहरुको साझा भावना रहेको छ । सांगठनिक जीवनका अन्य विषयवस्तु क्रमशः हल गर्दै अघि बढ्ने र निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्ने विषय अब सबैको साझा दायित्व र कर्तव्य बन्न पुगेको छ । राष्ट्रिय जीवनका मुलभूत प्रश्नहरुमा पार्टी भित्र साझा अभिमत छ । विमतिहरुका बीच हार्दिक समन्वय साथ आन्तरिक जीवनमा विधिको बाटो सहमति तय गर्दै लोकतन्त्र र संघीयता रक्षाका लागि राष्ट्रिय एकता र मेलमिलापको राष्ट्रिय कर्तव्य निर्वाह गर्न नेपाली कांग्रेस सक्षम रहने दृढता पुष १६ को पूर्व सन्ध्यामा व्यक्त गर्दछौँं ।

    नागरिक स्वतन्त्रता विरुद्धको विधेयकबारे

    (२) नेपाली कांग्रेसको प्रष्ट विमतिका बीच संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टी मात्रै गरेको छैन, विधेयक मार्फत् त्यो दिशामा सरकार दुई कदम अघि बढेको छ । नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत् सरकारले नागरिकको ‘फोन ट्यापीङ’ समेत गर्न सक्ने अधिकार लिन चाहेर संविधान प्रदत्त व्यक्तिगत गोपनियताको अधिकार समेत हनन गर्ने दुस्साहस गरिरहेको छ ।

    (३) सामाजिक सञ्जालमा कसैले कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेल बस्नुपर्ने, १५ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने जस्ता प्रावधान लोकतान्त्रिक राज्य व्यवस्थाको भावना र मर्म अनुरुप किमार्थ हुन सक्दैन । सामाजिक संञ्जालको प्रयोगलाई कसरी समाजोपयोगी बनाउन सकिन्छ भनेर छलफल, बहस गर्न सकिन्छ तर कठोर प्रावधानको बाटोबाट राजनीति, राजनीतिकर्मी या सरकारप्रति व्यंग्य र आलोचना गर्ने नागरिक स्वतन्त्रतालाई समेत कुण्ठीत गर्ने विधेयकलाई समर्थन गर्न सकिन्न ।

    (४) विधेयकमा उल्लेख भए अनुरुप सामाजिक संञ्जालहरु दर्ता हुन आएनन् भने के सरकार फेसवुक, ट्वीटर र इन्स्टाग्राम जस्ता लोकप्रिय माध्यम बन्द गर्न चाहन्छ ? हरेक नागरिकले सरकारलाई यो प्रश्न समयमै गर्नु पर्ने आवश्यकता छ ।

    (५) सरकार त यस्ता विधेयक मार्फत बन्द समाज निर्माण गर्ने पूर्ण अधिनायकवादको लक्ष्यमा ‘बहुदलीय पञ्चायती व्यवस्था’ को अभ्यासमा छ नै समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई सोध्न चाहन्छौं के तपाई आफ्नो व्यक्तिगत फोन समेत सरकारले रेकर्ड गर्न पाउने कानून बनाउन दिने पक्षमा हुनुहुन्छ ? के तपाई सामाजिक सञ्जालमा कुनै सामान्य व्यंग्य कसैलाई गरे वापत ५ वर्ष जेल बस्न तयार हुनुहन्छ?

    (६) नागरिक स्वतन्त्रताका पक्षमा स्थापनाकालदेखि लड्दै आएको नेपाली कांग्रेस यी विधेयकहरुका विरुद्ध संसददेखि सडकसम्म दृढतापूर्वक उभिने छ ।

    ‘एमसीसी’ बारे

    (७) नेपाली कांग्रेसको नेतृत्वको सरकारका पालामा हालसम्मकै सबै भन्दा ठूलो अनुदान सहयोगको अमेरिकी सरकारसँग भएको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई यो या त्यो बाहानामा अवरुद्ध गर्न खोजिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । देशको विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउने सो सम्झौता तत्काल संसदमा पेश गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।

    उखु किसानको आन्दोलनबारे

    (८) तराई–मधेशका विभिन्न जिल्लामा उखु खेती गरिहेका कृषकहरुको आन्दोलनप्रति समर्थन जनाउँदै नेपाली कांग्रेस तिनलाई रकम भुक्तानी तत्काल दिलाउने प्रभावकारी पहलका लागि सरकार समक्ष माग गर्दछ । उखुको मूल्य निर्धारण त्यो पनि पोहोरकै भाउ बमोजिम गर्ने, सरकारको कर्तव्य यति मात्रै होइन । किसानलाई भुक्तानी दिलाउन समन्वय गर्ने र चिनी उद्योगीहरुको व्यवसायिक चुनौति हल गर्न पनि आवश्यक पहल गर्ने दायित्व सरकारको हो ।

    नेपाल ट्रष्टको जग्गा लिज प्रकरण बारे

    (९) नेपाल ट्रष्ट अन्तर्गतको गोकर्णको जग्गा विगतमै न्यून मूल्यमा लिजमा दिइएको र लामो समयावधि बाँकी छँदै नवीकरण गरिएको विषयमा नेपाली कांग्रेसले आफ्नो धारणा यस अघिनै सार्वजनिक गरिसकेको छ । नेपाली कांग्रेस यो निर्णय फिर्ता लिन सरकार समक्ष आग्रह गर्दै गोकर्ण, दरवारमार्ग, ताहाचल लगायत अन्य सबै विवादास्पद प्रकरणको पृष्ठभूमिदेखिकै गम्भीर छानविन र कार्वाहीका लागि सम्बन्धित निकायहरु समक्ष माग गर्दछ । यथार्थ तथ्य भन्दा बाहिर गएर जो कोहिलाई आरोपित गरेर सत्यलाई विषयान्तर नगर्न पनि नेपाली कांग्रेस सम्बन्धित सबैलाई आग्रह गर्दछ ।

    प्रदेश सभा राजधानी र नामाकरण प्रकृयाबारे

    (१०) प्रदेशहरुको नामाकरण र राजधानी चयनको अधिकार संविधानले प्रदेश सभालाई दिएको छ । तर संघीयताको मर्म विपरीत नेकपाको सचिवालयले प्रदेश ३ का बारेमा निर्णय गरेर आदेश जारी गर्नुलाई नेपाली कांग्रेसले प्रदेश सभाको अधिकार अपहरण गरिएको अप्रिय घटनाका रुपमा लिएको छ । नेपाली कांग्रेस संघीयतालाई असफल बनाउने ढंगले केन्द्रको अनधीकृत निर्णय नथोपर्न नेकपालाई अपिल गर्दै सबै खाले दवावबाट मुक्त रहेर प्रदेशको नामाकरण र राजधानी चयनको विषयमा स्वतन्त्र ढंगले निर्णयमा पुगेर प्रदेश र प्रदेश सभाको गरिमा उच्च बनाउन सबै प्रदेश सभा, सभामा रहेका राजनैतिक दल एवं सांसदहरुमा सार्वजनिक अपिल गर्दछ ।

    ‘भ्रमण वर्ष’ सफलताको शुभकामना !

    (११) पुष १६ गते अर्थात् जनवरी १ तारिखबाट प्रारम्भ हुने गरी नेपाल सरकारले घोषणा गरेको visit nepal 2020 लाई शुभकामना दिंदै नेपाली कांग्रेस यसको सफलतामा जुट्न स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा अनुरोध गर्दछ । ‘एक परिवार दुई पर्यटक’ को नाराका साथ विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु एवं पार्टीको देशभरिका सबै तहलाई भ्रमण वर्षमा योगदान गर्न नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।जय नेपाल ! विश्वप्रकाश शर्मा प्रवक्ता

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…