प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार काठमाडौंमा विद्यार्थीले विभिन्न प्रश्न सोधे।
प्रश्न सोध्ने पालो विद्यार्थी प्रज्ञान बस्नेतको आयो।
जुरूक्क उठेर उनले प्रधानमन्त्री ओलीलाई सोधे- हजुर जस्तो प्रश्नको पनि सामान्य ढंगले उत्तर दिनुहुन्छ। हजुरको जस्तो अथाह ज्ञान पाउन कसरी पढ्ने होला?
यो प्रश्नलगत्तै प्रधानमन्त्री ओलीले मुसुक्क मुस्कुराउँदै विद्यार्थीलाई धन्यवाद दिए।
प्रधानमन्त्री ओलीले आफूसँग अथाह ज्ञान नभएको पनि बताए।
https://youtu.be/JKvDLqT5A6A
‘भाइबहिनीलाई लागेको छ मसँग अथाह ज्ञान छ भन्ने त्यो साँचो होइन,’ उनले भने, ‘मसँग अलिकति थौरै आफ्नो विषयगत ज्ञानमा दख्खल छ। मलाई नेपालबारे सोध्यो भने अलि बढी थाहा छ। अरू देशबारे सोध्यो भने कम थाहा छ।’
उनले आफ्ना र समाजका लागि उपयोगी हुने कुरा जान्नुपर्ने पनि बताए।
‘विद्वानले कम जानेको हुन्छ। सर्टिफिकेटधारी ज्ञानको अभावमा मान्छे रहने खतरा हुन्छ,’ उनले थपे, ‘अध्ययन भनेको जिन्दगीभरिको परीक्षा हो।’
उनले आफू बालक हुँदा शिक्षक बन्ने इच्छा राखेको पनि बताए।
‘म किसान परिवारमा जन्मेको हुँ। त्यो बेला देशको प्रधानमन्त्री हुन्छु भनेर सोच्नु पनि संभव थिएन,’ उनले सुनाए, ‘गुरूहरू देखेर मास्टर बन्ने रहर पलाएको थियो।’
https://youtu.be/FQkARz_vNK0
उनले समयक्रममा समाजमा बेठीक र अनुचित काम देखेपछि त्यो बदल्न आफू संघर्ष यात्रामा होमिएको सम्झिए।
‘प्रधानमन्त्री भन्ने त कल्पना थिएन। देशमा परिवर्तन ल्याउने भन्ने धारणा थियो,’ उनले भने।
उनले पञ्चायती तानाशाहविरूद्ध लड्दा मर्न परे पनि मर्छु भनेर होमिएको पनि बताए।
‘जे गर्नुपर्ने गर्छु भनेर आन्दोलनमा लागेको थिएँ। मेरो उद्देश्य निरंकुशतन्त्र ढाल्ने, लोकतन्त्र ल्याउने थियो,’ उनले भने।
उनले जेलमा पर्दा अहिले मार्छ कि भोलि मार्छ भन्ने त्रास रहेको पनि बताए।
‘अहिले मार्छ कि भोलि मार्छ भन्ने बेला प्रधानमन्त्री हुन्छु भनेर विपरीत सपना देख्नु मुर्खतापूर्ण नै थियो,’ उनले भने।
उनले सांसद, मन्त्री हुँदै परिस्थितिले प्रधानमन्त्री बनाएको पनि उल्लेख गरे।
‘प्रधानमन्त्रीमा टिकिरहन्छु भनेर नभई देश बन्नुपर्छ भनेर काम गरिरहेको छु,’ उनले भने।
                                