अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र व्यवस्थापनसहित बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालले बुधवारदेखि सेवा सुरु गरेको छ । आधुनिक चिकित्सा पद्धति अनुरुपका उपकरण भित्र्याउँदै अस्पतालले सेवा शुभारम्भ गरेको हो । अस्पतालले क्यान्सरको उपचार गर्न चाहिने अमेरिकन र जर्मन प्रविधिका उपकरण भित्र्याएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सेवा सुरु गरेको अस्पतालले क्यान्सरको ‘विश्वस्तरीय उपचार’ का लागि नेपालमा एकीकृत सुविधासहितको अर्काे स्वास्थ्य प्रतिष्ठान नरहेको जनाएको छ । ‘क्यान्सरको उपचारका लागि चाहिने सबै किसिमका उपकरण र जनशक्तिसहितको सुविधा नेपालमा पहिलो हो’, अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले सेवा शुभारम्भका अवसरमा भने, ‘भारतका कैयौँ चर्चित र ठूला अस्पतालले क्यान्सरको क्षेत्रमा दिने सेवा अब बिर्तामोडमै उपलब्ध छ ।’
क्यान्सरबाट आफैँ पीडित रहेका प्रसाईको एकल अवधारणामा पूर्वाञ्चल क्यान्सर अस्पतालको स्वास्थ्य संरचना तयार भएको हो । बुधवार अस्पताल परिसरमा आयोजित समारोहमा कार्यकारी निर्देशक प्रसाई र अस्पतालकी अध्यक्ष इन्दिरा गिरीले संयुक्तरुपमा सेवा शुभारम्भको घोषणा गरे । क्यान्सरपीडित झापा अर्जुनधाराका पदम मिश्रलाई रेडिएसन दिएर सेवा शुभारम्भ गरिएको छ । मिश्र ठूलो आन्द्राको समस्याबाट पीडित छन् ।
एक विघा क्षेत्रफलमा फैलिएको क्यान्सर हस्पिटल ‘दक्षिण पूर्वी एशियाकै नमुना’ भएको कार्यकारी निर्देशक प्रसाई बताउँछन् । हस्पिटलमा चारसय करोड रुपैयाँ लगानी भएको उनले जानकारी दिए । बीएण्डसी अस्पतालको भगिनी संस्थाको रुपमा रहेको पूर्वाञ्चल क्यान्सर हस्पिटलमा आधुनिक प्रविधिका उपकरण छन् । क्यान्सरको उपचारका लागि नेपाली विरामीले भारत पुग्नु पर्ने बाध्यता छ ।
‘नेपाली विरामीले उपचारका क्रममा भारतमा भोग्नु परेको कष्ट अब अन्त्य हुन्छ’, अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर बीरेन्द्र यादवले भने, ‘सर्वसुलभ रुपमा नेपालीले विश्वस्तरीय उपचार अब बिर्तामोडमै पाउँछन् ।’ लामो समय भारतको मेदान्त अस्पतालमा काम गरेका यादवले त्यहाँ प्रत्येक तीन जनामध्ये एकजना नेपाली क्यान्सरको बिरामी भएको अनुभव सुनाए । उनले पूर्वाञ्चल क्यान्सर अस्पताललाई विश्वास गरेर हेर्न र उपचारका लागि मौका दिन विरामीलाई अपिल गरे ।
‘बिर्तामोडमा भित्रिएको यो प्रविधि अमेरिका र सिङ्गापुरमा छ’, उनले भने, ‘भारत पनि नयाँ र आधुनिक प्रविधि भित्र्याउने तयारीमा छ ।’ क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिन पनि अस्पतालमा ल्याइएको छ । यो प्रविधि नेपालमै पहिलो हो । यसका लागि दिल्ली वा सिंगापुर जानुपर्ने बाध्यता अब हट्ने डा. यादवले बताए । पूर्वाञ्चल क्यान्सर अस्पतालमा शल्यक्रियाका लागि मोडुलर शल्यक्रिया कक्ष पनि निर्माणकै चरणमा रहेको छ ।
अस्पतालले सेवा सुरु गरेको पहिलो दिन पहिलो सेवाग्राही मिश्रलाई निःशुल्क रेडिएसन दिइएको छ । उनको क्यान्सरको सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए । अर्थोपेडिक सर्जन डा. निराजनप्रसाद पराजुली क्यान्सरका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था अब अन्त्य भएको बताउँछन् । ‘अब काठमाडौँ बाहिर पनि क्यान्सरको उपचार सम्भव भएको छ’, उनले भने, ‘विश्वसनीय उपचारका लागि बिर्तामोडको विकल्प अब छैन ।’
वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गाइनो अंकोलोजिष्ट डा. गेहनाथ बरालले अब क्यान्सरको पूरै उपचार गर्न पूर्वाञ्चल क्यान्सर अस्पताल जनशक्ति र उपकरणयुक्त भएको बताए । उनले भने, ‘सबै किसिमका उपचारका लागि हामी सक्षम छौँ । यहाँको दक्ष चिकित्सकीय टीम र अत्याधुनिक उपकरण हाम्रा लागि उर्जा हुन् । त्यसैका आधारमा हाम्रो उपचार पद्धति अझै बलियो, विश्वसनीय र फराकिलो भएको छ । क्यान्सर अस्पतालको निर्माण यसैको परिणाम हो ।’
पूर्वाञ्चल क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयबाट ३ सय शैय्याको स्वीकृति पाएको छ । अस्पतालले पहिलो चरणमा एकसय शैय्याबाट सेवा सञ्चालन गरेको जनसम्पर्क अधिकारी गिरी बताउँछन् ।
यस्ता छन् उपकरण
क्यान्सर अस्पतालका लागि ट्रु बिम लिनर एक्सिलेरेटर, ब्रेकी थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर–डी सिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब न्यूरो नेभिगेशन सिस्टम, क्याथ ल्याब, डेक्सा स्क्यान लगायतका उपकरण भित्र्याइएको छ । दुई अर्वको लगानीमा यी उपकरण बिर्तामोड ल्याइएको हो । पेट सिटी गर्न मात्र बिरामी दिल्लीसम्म धाउँदै आएका छन् । ७० देखि ८० प्रतिशत क्यान्सरका रोगीलाई रेडिएसनको आवश्यकता पर्ने चिकित्सक बताउँछन् ।
अफ्ठ्यारो बाटो हिँड्न रुचाउँछन् दुर्गा प्रसाई
झापालाई मेडिकल हव बनाउने अभियानमा अर्बाै रुपैयाँको लगानी जुटाएर दुई ठूला अस्पताल र मेडिकल कलेज बनाएका दुर्गा प्रसाई आफैँमा हिम्मतिला छन् । उनी हाकाहाकी आफू अफ्ठ्यारो बाटो हिँड्न मन पराउने बताउँछन् । आशय पत्र दिएर अर्बाै लगानी भइसकेपछि पनि सरकारले मेडिकल कलेज सञ्चालन गर्न नदिएर बेइमानी गरेको बुझाईका बीच उनी अझै भनिरहेका छन्, ‘मेरा विभिन्न कम्पनीहरुमा दुई लाख मानिसलाई रोजगारी दिने मेरो लक्ष्य हो ।’ मेचीनगरको धाइजनमा अर्बाै लगानीका भौतिक संरचना खण्डहर बनिरहेका बेला उनी अझै स्वास्थ्य क्षेत्रमा लगानी बढाइरहेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगानीमा अस्पताल बनाएको भन्ने धेरैको आरोपलाई चुनौति दिँदै कार्यकारी निर्देशक प्रसाईले भने, ‘प्रचण्ड, केपी ओली र शेरबहादुर कसैको पनि लगानी छैन । बैङ्कका सबै साथीहरु यही हुनुहुन्छ, उहाँहरुले ऋण दिएर यत्रो संरचना तयार भएको छ । म डुब्दा उहाँहरु पनि डुब्नु हुन्छ ।’ आफूले सधैँ अफ्ठ्यारो बाटो रोजेको भन्दै प्रसाईले आफूलाई निरन्तर मेडिकल माफिया भनिएकोप्रति पनि कडा प्रतिवाद गरे । औपचारिक शिक्षाका नाममा आफूले आठ कक्षा पढेको भए पनि अनौपचारिक सिकाई नसकिएको भन्दै उनले ‘आफू अझै विद्यार्थी रहेको’ सुनाए ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        