मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएको थियो ।
गएरातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।
सुर्नयाका एक किसानले हिमपातले बाहिर निस्कनसमेत मुस्कील भएको जानकारी दिए । हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।
सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् । हिमपातले विभिन्न बालीनाली नष्ट पार्ने कीरासमेत मरेका छन् ।
प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लेकाली भेगका ठाँउमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी र औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको बताए ।
यसैबीच बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।
काठमाण्डौमा अहिले पानीका छिटा परेका छन् र चीसो अत्यधिक बढेको छ यो दुवै पश्चिमी वायुको प्रभाव हो । याे चीसाे शनीबार सम्म रहने माैसम विभागकाे भनाइ छ ।