लेटाङ । लेटाङ नगरपालिकाले जनताको आशा अनुसार काम गर्न नसकेको भन्दै नेकपा नगर कमिटी लेटाङले पत्रकार सम्मेलन मार्फत ध्यानाकर्षण गराएको छ । नेकपाले बिहिबार पार्टी कार्यालय लेटाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरबासीसँग सम्बन्धीत बिभिन्न १३ बुदाँहरु प्रस्तुत गर्दै नगर प्रमुख तथा नगर कार्यापालिकालाई ध्यानाकर्षण गराएको हो ।
पत्रकार सम्मेलनमा नेकपा नगर अध्यक्ष कृष्ण लम्सालले नगरपालिकाबाट नीतिगत तथा आर्थिक भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरे । प्रेस विज्ञप्तीमा प्राकृतिक श्रोत र साधनको हिसाबले मोरङ कै सबैभन्दा धनी रहेको लेटाङ नगरपालिकाले स्रोत र साधनको समेत संरक्षण र परिचालन गर्न नसकेको आरोप लगाइएको छ ।संघीय तथा प्रदेश सरकारबाट आएको बजेटसमेत नगरपालिकाको ढिलासुस्ती र आलटालको कारण बजेट फिर्ता तथा फ्रिज भएकोप्रति प्रेस बिज्ञप्ती मार्फत खेद व्यक्त गरिएको छ ।
नगर प्रमुख नै अध्यक्ष रहेको लेटाङ साना शहरी खानेपानीलाई अनिर्णयको बन्दी बनाएको, कानेपोखरी लेटाङ सडकको मर्मतको नाममा रकम दुरुपयोग गरेको, नगर शिक्षा कार्यविधिमार्फत शिक्षामा राजनीति घुसाएको, खोला ठेक्काबाट पाउनु पर्ने रकम ठेकेदारबाट अझसम्म नउठाएको लगायतका आरोप लगाइएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले भने नेकपाका आरोपहरु प्रमाणहिन र मिथ्या भएको बताए ।
नगरपालिका क्षेत्रमा हुने सबै क्रियाकलापहरु नगर कार्यपालिकाको निर्णयबाट हुने बताउँदै नगर प्रमुख राईले नगरपालिकाको काममा अनियमितता भएको भए नेकपाले आफ्ना जनप्रतिनिधिहरुबाट कारबाहीको सुरुवात गर्नुपर्ने बताए ।