काठमाडौं, १८ पुष । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
मन्त्री भट्टले उखु किसानहरुको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भिर रहेको बताउँदै आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउनेगरि लिखित रुपमै सहमति गर्ने स्पष्ट पारेका हुन् । उनले भने,‘आउने माघको ६ गतेभित्र उखु किसानहरुको माग पूरा हुन्छ । म लिखित रुपमै प्रतिबद्धता व्यक्त गर्छु ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले यही पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराईसकिने विश्वास दिलाएका हुन् । उनले भने,‘सरकारको तर्फबाट म चिनी मालिकसँग किसानहरुको बाँकी भुक्तानी उठाईदिने प्रतिबद्धता व्यक्त गर्दर्छु । सरकारले नै अब किसानहरुको भुक्तानी उठाईदिने जिम्मेवारी लिएको छ ।’
उनका अनुसार १३ वटामध्ये ३ वटा चीनी मिलले किसानहरुलाई भुक्तानी दिन बाँकी रहेको छ । उनले भने,‘उखु किसानहरुको माग र समस्याको दिर्घकालिन समाधान गर्न हामी आजै एउटा कार्यदल गठन गर्छौं । र त्यो कार्यदलले १५ दिनभित्र प्रतिवदन दिनेछ । त्यो प्रतिवेदन आएपछि हामी त्यही अनुसार अघि बढ्छौं । अब उखु किसानहरुलाई दिईने हरेक अनुदान किसानकै खातामा हालिदिने व्यवस्था पनि गर्छौं ।’
उनले आफूहरुले उखु किसानहरुको मागलाई गम्भिरतापूर्वक लिएको सुनाउँदै किसानको समस्या समाधान गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए । उनले भने,‘अब शंका उत्पन्न गर्न दिन्नौं ।’ उनले रुग्न अवस्थामा रहेका वीरगन्ज चीनी कारखाना र लुम्बिनी चिनी कारखानालाई पनि छिट्टै सञ्चालनमा ल्याउने विश्वास दिलाए ।
मन्त्री भट्टले नेपालमा २ लाख ४० हजार मेट्रिक टक चीनी चाहिने आवश्यकत्ता औंल्याए । उनले भने,‘तर, अहिले एक लाख ७५ हजार मेट्रिक टन उत्पादन हुन्छ । हामीलाई अझै ६५ हजार अभाव छ । सरकारले प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिएको छ ।’
कार्यक्रममा उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले विभागीय मन्त्रीबाटै आफूहरुको माग पूरा गराउने प्रतिबद्धता आएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा उपस्थित् भएका उखु किसानहरुले अब आफूहरु घर फर्किने पनि जानकारी दिए ।
उनीहरुले विभागीय मन्त्रीबाट नै माग पूरा गराउने प्रतिबद्धता आएकोले अब घर फर्किन आफूहरु तयार भएको स्पष्ट पारेका हुन् ।
मिश्रले अघि थपे,‘मिडियाकै कारण हाम्रो आन्दोलन सफल हुन मद्दत पुग्यो । खासगरी प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने पत्रकार ऋषि धमलाको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रमले हाम्रा माग पूरा गराउनको लागि ठूलो भूमिका खेलेको छ । कतिसम्म भने हाम्रो तराईका विभिन्न गाउँघरमा उहाँको कार्यक्रम ठूलो पर्दामा राखेर हेर्ने गरेका छौं । उहाँको कार्यक्रमले गर्दा आज हाम्रो माग पूरा भएको छ ।’
कार्यक्रममा उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफूहरुले सरकारप्रति विश्वास र भरोसा राखेर लामो समयसम्म पर्खेर बसेको सुनाए । तर, लामो समयसम्म पर्खिदापनि माग पूरा नगरेकोमा आफूहरु दुःखित भएको पनि उनले गुनासो पोखे ।
उनले भने,‘सरकारी पक्षबाट हामीले धेरैपटक धोका खायौं । तल्लो तहमा रहेका सरकारी निकायबाट हाम्रा मागप्रति कुनै सुनुवाई भएन । अहिले मन्त्रीज्यूले भनेको कुरामा हामी विश्वस्त छौं । सरकारले भनेको कुरामा विश्वास छ । तर, लिखित प्रतिबद्धता आउनुपर्यो । मन्त्रीज्यूले क्लबको यो साक्षात्कारमा हाम्रो माग पूरा गर्न लिखित प्रतिबद्धता जनाउने कुरा गर्नुभयो । हामी खुशी छौं ।’
अर्का उखु किसान रामविलाष रायले पनि तीन वर्षदेखि आफू मारमा परेको दुखेसो पोखे । उनले भने,‘मैले तीन वर्षदेखि तीन लाख लिनुपरेको छ । तर, यो बीचमा मैले आफ्नो स्वास्थ्योपचारदेखि अन्य धेरै समस्याको समाधान ऋण मागेर गर्नुपरेको छ । अब ऋणको ब्याज तिर्दा म त धेरै ठूलो मारमा पर्छु नि ।’