काठमाडौं । असहमत पक्षलाई पन्छाउँदै अघि बढेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला एउटा कुराले निकै तनावमा परेको बुझिएको छ । देउवालाई तनावमा पार्ने अरु केही नभएर महामन्त्री शशांक कोइरालाको छुटेको साथ हो । सभापति देउवालाई कुनै न कुनै किसिमले साथ दिँदै आएका थिए कोइराला तर पछिल्लो समय आफ्नो पक्षलाई पेलेर देउवा एकलौटी निर्णय गर्दै अघि बढेपछि कोइराला देउवादेखि टाढिएका छन् । टाढिएका मात्र छैनन् उनी कडा आलोचनामा समेत उत्रिएका छन् ।
कोइराला टाढिँदा पार्टीभित्र आफूले स्थापना गर्न चाहेको योजना सफल हुन नसक्ने कुराले देउवालाई पिरोलेको बताईन्छ । पत्नी आरजु राणालाई पार्टीमा बलियोसँग स्थापित गराउने उनको भित्री योजना कोइरालाको साथ सहयोगबिना सम्भव नहुने हुँदा देउवा चिन्तित भएको जानकार सूत्रले बताएको छ ।
कोइरालालाई भावी सभापतिमा आफूले सहयोग गर्ने र उनको साथ लिएर आरजुलाई बलियोगरी पार्टीभित्र उभ्याउने देउवाको रणनीतिक योजना अहिले आएर अलपत्र परेको छ । पौडेल पक्षलाई पन्छाएर अघि बढ्दा देउवालाई गणितीय हिसाबले फाईदा भएको देखिए पनि उनको खास योजनामा भने ठेस पुगेको बताईन्छ ।
कार्यसमिति बैठक बहिष्कार गरिरहेको पौडेल पक्षलाई पन्छाएर एकलौटी निर्णय लिएका देउवाले पार्टीका विभाग, शुभेच्छुक संस्था आदिमा थपघट गर्नुपर्दा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र सक्नुपर्ने प्रावधान विधानमा रहेकोमा उनले भने अर्काे महाधिवेशन हुन दुई महिना बाँकी रहँदा आफ्नो दुनो सोझ्याएपछि कोइराला मात्र होइन अरू धेरैको साथ गुमाएका छन् ।
केही समययता महामन्त्री कोइरालाको पौडेलभन्दा बढी देउवासँग हिमचिम थियो । मुखले प्रस्ताव नै नराखेको भए पनि देउवाले कोइरालालाई सभापतिमा सघाउने र महामन्त्रीमा पत्नी आरजुलाई स्थापित गर्ने संकेत गरेका थिए । वर्ष दिन यतातिर हेर्ने हो भने कोइरालापक्षीय नेताको लञ्च बैठक सुजाता कोइरालाकोमा धेरै पटक बसेको छ । खानापछि हामी कोइरालाहरू भनेर सुजाताले धेरै पटक फेसबुकमै राखेकी पनि छन् । बूढानीलकण्ठको डिनर बैठकमा पनि कोइराला बढी निम्त्याइन्थे । शशांकको देउवासँगको बढी हिमचिम कोइराला परिवारका अरु नेताले त्यति नरुचाएको चर्चा पनि नचलेको होइन ।
अघिल्लो महाधिवेशनपछि देउवा पूरै तीन वर्ष चुप लागेर बसे । विधानअनुसार फागुनमा अर्काे महाधिवेशन आउन लागेपछि बल्ल ताते । तर, उनलाई विधानभन्दा पनि आफूले अर्काे एक वर्ष कार्यकाल कसरी बढाउने भन्ने चिन्ता भयो । यो बीचमा केन्द्रीय समितिका बैठक र धेरैजसो अनौपचारिक बैठक देउवा निवासमा बसेका छन् । यस क्रममा विभाग थप्ने प्रस्तावबारे उनले पौडेललाई नभएर शशांकलाई भनेका थिए । यस विषयमा शशांकले ‘ग्रिन सिग्नल’ दिएको देउवा निकट नेताको दावी छ ।
त्यही अनुसार नै देउवाले नेविसंघ र तरुण दलमा भर्नाका निम्ति उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा उपसमिति बनाए र अरू विभागमा मनोनयन गर्ने युवा नेताको तयारी गरे । विमलेन्द्रले पनि नेविसंघ र तरुण दलमा आफ्ना मान्छे राख्नुपर्ने भनेर उल्टै बार्गेनिङ गर्न थालेपछि देउवालाई संकट परेको थियो । उनीबाट पनि धेरै ढिलाइ भएपछि देउवाले आफूखुशी विभाग गठन गरे । त्यसपछि सशंकित भएको शशांकले देउवाको साथ छोडेको कांग्रेस उच्च सूत्र बताउँछ ।
पहिले सँगै मिलेर जाने र पौडेललाई पाखा लगाउने सहमति भएको भए पनि अहिले आएर शशांकले साथ छोडिदिएपछि देउवा एक्लिएको महसुश गरिरहेका छन् । अहिले देउवाको साथमा न विमलेन्द्र न त शशांक नै रहेको सूत्र बताउँछ । विमलेन्द्र नबोले पनि शशांकले भने देउवाको कडा आलोचना गर्न थालेका छन् । देउवालाई कांग्रेसबाट विदा नगरे पार्टी नै समाप्त हुनेसम्मका कडा टिप्पणी गरेपछि शशांक सभापति देउवाबाट निकै टाढा पुगेको निष्कर्ष निकालिन थालेको छ ।
शेखर पनि क्रुध्द
पहिले देखि नै सभापति देउवासँग असन्तुष्ट रहेका कांग्रेस नेता शेखर कोइराला कार्यसमितिको एकलौटी निर्णयपछि क्रुध्द बनेका छन् । महाधिवेशनपछि नियमित झैं देश दौडाहा गरिरहेका शेखर पार्टीको संगठनलाई तल्लो तहबाटै पुनर्जिवित गराउनु पर्छ भन्दै थिए । उनले औपचारिक र अनौपचारिक परामर्शमा पनि सभापति र अरु नेतासँग यही बिषयमा छलफल गरेका थिए । तर देउवाले यी सबै कुरा सुन्दै नसुनी एकलौटी निर्णय गरेर अघि बढेपछि केन्द्रीय सदस्य शेखर सभापति देउवासँग थप क्रुध्द बनेको उनी निकट सूत्रले बताएको छ ।