जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी उपरीक्षक दानबहादुर मल्ल सरूवा भए पनि यहाँ सरूवा भएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई आउन दिइएको छैन। प्रहरी प्रधान कार्यालयले पुस ४ गते मल्ललाई चितवनबाट सरूवा गरेर पन्तलाई पठाउने निर्णय गरेको थियो। दुई सातासम्म मल्लले जिल्ला नछोडेपछि पन्त सरूवा भएको ठाउँमा आउन पाएकी थिइनन्।
प्रदेश नम्बर ३ प्रहरी कार्यालयको १२ घन्टै निर्देशनलाई पनि विलम्ब गर्दै शुक्रबार मल्लले जिल्ला छोडे। उनले प्रहरी नायब उपरीक्षक (डिएसपी) एकनारायण कोइरालालाई जिल्लाको ‘चार्ज’ बुझाए । मल्लले छोडेसँगै शुक्रबारबाटै चितवन प्रहरी उपरीक्षकविहीन भएको छ। तर, आइतबारसम्म पनि सरूवा भएकी पन्तलाई चितवन आउन दिइएको छैन।
पन्त कार्यरत इन्टरपोल शाखाले उनलाई ‘रवाना’ पत्र दिएको छैन। ‘रवाना नबुझी जाने कुरा भएन, म इन्टरपोल शाखामै छु,’ पन्तले भनिन् । पन्तको भने अब चितवन आउने,नआउने टुंगो छैन। पन्तको विकल्पमा अन्य प्रहरी उपरीक्षकको खोजी सुरू भएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।