काठमाडौं । अस्ट्रेलियामा गएको तीन महिनादेखि लागेको आगो नियन्त्रणभन्दा बाहिर गएको छ । भिक्टोरिया राज्य अन्तर्गतको पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित मात्र बनाएको छैन ५० करोड बढी बन्यजन्तुले ज्यान गुमाइसकेका छन् ।
गएको सेप्टेम्बरदेखि सुरु भएको आगलागीले अहिलेसम्म १ करोड ४० लाख बढी हेक्टर क्षेत्रफल प्रभावित भइसकेको छ । आगो नियन्त्रणका लागि सक्दो सहयोग र मद्दत गर्न अपिल गरिएको छ । तर, सबै प्रयासहरू व्यर्थ सावित भइरहेका छन् ।
बिबिका अनुसार घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र वेगको हावाका कारण आगो अझै नियन्त्रण भन्दा बाहिर गएको छ । आगलागीका कारण बन्यजन्तु मात्र होइन २४ जना मानिसको समेत ज्यान गइसकेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यो आगलागी अझै केही महिना नियन्त्रणमा लिन नसकिने भन्दै चिन्ता व्यक्त गरेका छन् । आगो नियन्त्रणका लागि थप ३ हजार सुरक्षाकर्मी खटिएका पनि उनले बताए ।
तटीय क्षेत्रमा भएको आगलागीका कारण हजारौँ नागरिक भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । आगलागी भएको क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको त्यहाँ अधिकारीले बताएका छन् ।
पुनर्स्थापना निकाय गठन
आगलागीबाट भएको क्षतिको व्यवस्थापनका लागि राष्ट्रिय पुनर्स्थापना निकाय गठन गरिएको छ । प्रधानमन्त्री मोरिसन, उपप्रधानमन्त्री मिचेल एमसीकोर्माक र कोषाध्यक्ष जोश फ्रीडेन्बर्गले सोमबार यसको घोषणा गरेका हुन् ।
यस निकायको कोषमा प्रारम्भिक चरणमा झण्डै दुई अरब अष्ट्रेलियन डलर जम्मा गरिने पनि उनीहरूले प्रतिबद्धता जनाएका छन् । यस निकायले आगामी दिनमा हुने क्षति न्युनिकरणका लागि पनि आधार तयार पार्ने उनीहरुको भनाई छ ।
अहिले कोषमा राखिएको रकमले आगलागीबाट प्रभावित परिवार, किसान, व्यवसायीलगायतलाई राहत पनि उपलब्ध गराउने प्रधानमन्त्री कोरिसनले बताए ।
नेपालले सिक्नुर्ने पाठ
अस्ट्रेलियाको आगलागीबाट नेपालले पनि पाठ सिक्नुपर्ने बेला आएको छ । नेपालको पहाडि क्षेत्र र तराइको चुरे क्षेत्र घनामा घना जंगल छ ।
नेपालीहरूमा लापरबाही गर्ने प्रवृति छ । चुरोट पिएर ठुट्टा ननिभाइ बस्ने प्रवृतिले पनि नेपालका जंगलमा आगलागी हुने गरेको छ । जसले गर्दा वर्षेनी ठूलो क्षति व्यहोर्नुपरिरहेको हुन्छ । नेपालीले पनि बेलैमा सचेत भएर आफ्नो बानी नसुधारे अस्ट्रेलियाको जस्तै हालत नहोला भन्न सकिन्न ।
डडेलो लाग्ने सिजनमा सामान्य जनचेतना फैलाए पनि सरकारले प्रभावकारी रुपमा यसविरुद्ध सचेतना फैलाउन सकेको छैन । त्यसैले सरकारले जतनामा सचेतना फैलाउन जरुरी छ ।