काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समूहका जिल्ला सभापतिले पार्टी नेतृत्वले विधान विपरीत निर्णय गरेको भन्दै आपत्ति जनाएको छ । उसले संस्थापन समूहले गरेको निर्णय मान्य नहुँने समेत जनाएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको सहभागीतामा भएको छलफलमा बहुमतको आधारमा पार्टी नेतृत्वले गरेको महाधिवेशनलगायतको निर्णय मान्य नहुने निष्कर्ष निकालेको हो ।
पुस ११ गते वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिस्कारका बाबजुद कांग्रेसको केन्द्रीय समितिले बहुमतका आधारमा महाधिवेशनको मिति तोक्ने र विभाग गठन गर्ने निर्णय गरेको थियो ।
सोमबारको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, कोषाध्यक्ष सीतादेवी यादव, नवीन्द्रराज जोशी, गगन थपा, चन्द्र भण्डारी, बद्री पाण्डेयलगायतको सहभागिता थियो ।