काठमाडौं, २१ पुस । सार्वजनिक सम्पत्तिको संरक्षण र नैतिकताको पाठ सिकाउन विज्ञ मानिएका अर्थमन्त्री डा.युवराज खतिवडाले आचरणविपरीत आफ्ना ज्वाइँका लागि मुलुकको अर्थ मन्त्रालय सम्हालेको अनुभूत गराएका छन् ।
देशको अर्थतन्त्रको धरातल निरन्तर कमजोर बनाउँदै गएका खतिवडाले आफ्ना ज्वाइँलाई मनी एन्ड पावर बढाउन आफ्नो शक्ति दुरुपयोग गरेको रहस्य खुल्न थालेको छ । आफ्नो विषयमा टिप्पणी गर्नेलाई इगोको रुपमा लिएर कानुनी उपचार खोज्छु भन्दै धम्की दिने खतिवडा गभर्नर भएदेखि नै आफ्ना ज्वाइँका लागि मनी एन्ड पावर बढाउन केन्द्रीत भएका हुन् ।
पछिल्लो पटक नागरिक लगानी कोषको बोर्ड बैठक बस्ने क्रममा राष्ट्र बैंकको प्रतिनिधि नभए पनि हुने हो भनेर चर्चा चल्नु संयोग मात्र होइन, उनी प्रायः बैठकमा सहभागीसमेत नभई भत्ता बुझ्ने गर्छन् । जतिबेला बैठकमा जिम्मेवारी बाँडफाँडको काम हुन्छ, उनी उपस्थित नै हुँदैनन्, सहभागी एक सदस्यले भने, ती कुरा उठाउन खोज्दा बोर्ड सदस्यहरुलाई मौन गराइएको थियो ।
ससुरा खतिवडाको शक्ति दुरुपयोग गर्ने कलाका कारण उनै डा.रामशरण खरेलको आगमन हुँदा राष्ट्र बैंक, अर्थ मन्त्रालय वा नागरिक लगानी कोषका अधिकारी सबै सतर्क हुने गरेका छन् । ससुरा खतिवडाको धेरै शक्ति उनले प्रयोग गरी अनावश्यक लाभ उठाउने गरेको चर्चा पनि चल्ने गरेको छ ।
१३ प्रतिशत लगानी रहेको राष्ट्र बैंकको प्रतिनिधि कोषमा को भन्ने विषयमा अन्योल रहनु यही शक्तिको प्रयोगको फल हो, समाचार स्रोतले भन्यो । खतिवडाले आफू गभर्नर हुँदा ज्वाइँ खरेललाई अन्तर्राष्ट्रिय मुद्रा कोषमा पठाएका थिए । आकर्षक कमाई हुने कोषमा आफ्ना ज्वाइँलाई पठाएर स्वार्थपूर्ति भएको विषयमा राष्ट्र बैंकका कर्मचारीले मुख खोल्न सकेका छैनन् ।
तत्कालीन राष्ट्र बैंकका एक निर्देशक भन्छन्– गभर्नरले नातावाद वा परिवारवाद हेर्न हुँदैन थियो, तर उहाँले आकर्षक कमाइ हुने ठाउँमा राष्ट्र बैंकको कामलाई थाती राखेर मुद्रा कोषमा आफ्नो ज्वाइँलाई पठाउनु भएको हो ।
उहाँको जसले आलोचना वा टिप्पणी गर्छ, त्यस्ता अधिकारीको वृत्ति विकास नै रोकिने अवस्था थियो, त्यसकारण उहाँसमक्ष कसैले यो कुरा गर्न सकेन । मुद्रा कोषमा देखिने काम भए पनि अन्य देखिने थुप्रै काममा ज्वाइँलाई नै आफूमा निहित पावर दिने गरेको उनीहरु बताउँछन् ।
खरेलको व्यक्तिगत धारणालाई सानो गभर्नरको धारणा भनेर कर्मचारले राष्ट्र बैंकमा स्थापित नै गरेका थिए । आफू राष्ट्र बैंकको गभर्नर हुँदा ज्वाइँ खरेललाई महत्वपूर्ण भूमिका दिएका खतिवडाले अर्थमन्त्री हुँदा उनलाई थप शक्तिशाली बनाएका छन् ।
उनले ज्वाइँलाई शक्तिशाली बनाउने क्रममा राष्ट्र बैंकका गभर्नरको भूमिका, राष्ट्र बैंकको कार्यविधि, ऐन–कानुन र वरियतालाई समेत मिचेका छन् । त्यस्तै, खतिवडाले आफू अर्थमन्त्री भएको भोलिपल्टै राष्ट्र बैंकको विराटनगर कार्यालयबाट ज्वाइँलाई काजमा तानेका थिए । उनले दुई लाइनको पत्र राष्ट्र बैंकलाई लेखेर सोझै अर्थ मन्त्रालयमा पठाइदिन भनेका थिए ।
राष्ट्र बैंकको प्रक्रियाअनुसार सहमति दिनुपर्ने लगायत सबै कार्यविधिलाई उनले शक्तिकै आडमा धोती लगाइदिएका थिए । तर, राष्ट्र बैंकका गभर्नरको कार्यकाल सकिनै लागेकाले थप शक्ति दुरुपयोग गर्ने उद्देश्यले अर्थमन्त्री खतिवडाले पुनः ज्वाइँ खरेललाई राष्ट्र बैंक पठाएका छन् । नागरिक लगानी कोषमा सञ्चालक बनाउने क्रममा पनि उनले त्यसैगरी ऐनको धज्जी उठाएका थिए ।
नागरिक लगानी कोषको अध्यक्षसहित नौ सदस्यीय सञ्चालक समिति रहने कानुनी व्यवस्था छ । कोषको ऐनले सञ्चालक समितिमा कुन कुन निकाय वा कस्तो योग्यता भएका व्यक्तिलाई सञ्चालक बनाउने भनेर किटान गरिएको छ । तर, अर्थमन्त्री खतिवडाले आफ्ना ज्वाइँलाई नियम मिचेरै सञ्चालक बनाएका थिए ।
कोषको ऐनले नेपाल सरकारले मनोनीत गरेको एक जना, नेपाल राष्ट्र बैंकले मनोनीत गरेको एक जना र नेपाल स्टक एक्सचेन्जको एक जना सञ्चालक सदस्य रहने व्यवस्था गरेको छ । यस्तै, सर्वसाधारण सेयरवालाहरुमध्येबाट निर्वाचित एक जना तथा अन्य वित्तीय संस्थाहरुमध्येबाट मनोनित वा निर्वाचित एक जना सञ्चालक रहने व्यवस्था ऐनमा छ ।
अर्थमन्त्रीका ज्वाइँ खरेल ऐनको सो व्यवस्थाअनुसार सञ्चालक बन्न नसक्ने भए पनि अर्थमन्त्री खतिवडाले शक्तिको दुरुपयोग गर्दै कसैगरी सञ्चालक बनाउने अडान लिएका थिए, तरुणमा उल्लेख छ ।
सरकारको तर्फबाट सञ्चालक बन्न सरकारी कर्मचारी चाहिन्छ, खरेल अर्थ मन्त्रालयका कर्मचारी होइनन्, राष्ट्र बैंकबाट सञ्चालक बन्न राष्ट्र बैंकले नै मनोनित गर्नपर्छ, उनलाई राष्ट्र बैंकले मनोनीत गरेको थिएन । त्यसैले सञ्चालक पठाउन सक्ने निकायको कर्मचारी (नेपाल राष्ट्र बैंक) लाई अन्य समूहको भनेर नियुक्त गरिनु पदको दुरुपयोग नै हो, कोषका एक सञ्चालकले भने ।