काङ्ग्रेसले आफ्ना पुराना नेता र तिनको योगदानका चर्चामा समय खर्चिएको लामो समय बितिसकेको छ । प्रायः सबै नेताको स्मरणमा समय खर्चने काङ्ग्रेस आफ्नो भावी योजना र रणनीति निर्माणमा भने असफल जस्तै बनेको छ ।
झन् पछिल्लो पटकको दैनिकी हेर्दा त काङ्ग्रेस बिस्तारै आन्तरिक कलहको भासमा फसेको स्पष्ट हुन्छ । काङ्ग्रेस आफ्नो समस्या समाधानमा निक्कै कमजोर बनेको छ । नेताहरू विभिन्न जिल्ला पुगेर आफ्नो कुरा राखिरहेका छन् । यसले काङ्ग्रेस कार्यकर्तामा झन् अन्योल सिर्जना गरेको छ ।
असन्तुष्ट काङ्ग्रेस नेता सभापति शेरबहादुर देउवाले पार्टी ध्वस्त परेको दाबी गरिरहेका छन् । सभापति देउवा पक्षधर नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले काम गर्न नदिएको र पार्टीलाई भागबन्डामा चलाउने रणनीति बनाएको भनिरहेका छन् । यद्यपि,उनीहरू आफ्नो गल्ती र कमजोरी स्वीकार गरेर पार्टीलाई एक बनाउने भन्दा पनि आउँदो महाधिवेशनमा कसरी नेतृत्व हत्याउने भन्ने दाउमा नै केन्द्रित छन् । पार्टीमा चरम गुटबन्दी र बेमेल हुँदा पनि काङ्ग्रेस नेतालाई नेतृत्व चाहिएको छ ।
पार्टीका बिवाद साम्य पर्ने र एकताबद्ध काङ्ग्रेसमा कोही पनि नेताको ध्यान जान सकिरहेको छैन । गुटलाई संस्थागत गर्न र व्यक्तिगत शक्ति आर्जनमा काङ्ग्रेस नेताहरू लागेका छन् । यो चाहिँ निक्कै दुखद र असहज परिस्थिति हो । यस्तो बिवाद र बिग्रह बीच पनि नेताहरू अग्रज र देहावसान भएका नेताको गुणगान र योगदानको चर्चा गर्नमा भने थाकेका छैनन् ।
बीपीदेखि तुर्सा हेमरमसम्मका नेताको चर्चापरिचर्चा गज्जबले नै हुने र गर्ने गरिएको छ । आइतबार मात्रै तिर्साको स्मृति दिवस झापामा मनाइयो । त्यस कार्यक्रममा तुर्साको योगदान र त्यागका विषयमा चर्चा भयो । यो राम्रो पक्ष हो । तर, तुर्साहरुकै कारणले बनेको यो पार्टीमा मेलमिलापका भावना चाहिन्छ भन्ने कुरा चाहिँ हरेक काङ्ग्रेसजनले बिर्सेका छन् ।
उनीहरू योगदान,त्याग र समर्पणको कुरा गर्छन् तर आफू त्यो बाटो हिंड्न बिर्सन्छ । समग्र काङ्ग्रेसको यो चरित्रले अग्रजको योगदानको सम्मान होइन अपमान गरिरहेको छ भन्दा अन्याय हुँदैन । तुर्सा हेमरमलाई सम्झनु र उनको स्मृतिमा कार्यक्रम गर्नु परम्पराको निरन्तरता हो । यो अग्रज र देहावसान भएका नेताको योगदानलाई स्मरण गर्ने गतिलो संस्कार पनि हो ।
तर तुर्साको स्मरण गरिरहदा समग्र सन्थाल जातिको उत्थान र विकासमा प्रजातन्त्र र गणतन्त्र आए पछि के काम भयो र सो समुदाय प्रगति र हितमा के गर्न सकियो भनेर पनि सोचिनु , खोजिनु पर्छ । मात्रै यसो गरेका थिए, उसो गरेका थिए र उनी यस्ता नेता थिए भनेर केही हुँदैन । तुर्साको स्मृति दिवस मनाइदै गर्दा उनको परिवार र समुदायको वास्तविक अवस्था के छ भनेर हेक्का पुर्याउन जरुरी छ । आजको प्रतिदिनमा सम्पादकीय छ ।