नरनाथ पाण्डे, १. पृष्ठभूमि : ज्येष्ठ नागरिक राष्ट्रका अभिभावक हुन् । तर, वृद्धवृद्धाको सम्बन्धमा बदलिँदो जीवनशैली, उत्तरआधुनिकवाद तथा पश्चिमा वायुका कारण नेपालमा वृद्धवृद्धालाई हेर्ने दृष्टिकोण र मान्यता बदलिरहेको अवस्था देखा पर्दैछ । आजभोलिको समाज र परिस्थिति बदलिइरहेको छ । बिस्तारै संयुक्त परिवारबाट एकल परिवारको अवधारणा आइरहेको छ ।
जतिजति वृद्धहरुको जनसंख्या बढिरहेको छ उत्तिकै वृद्धहरु समाजका बोझ बन्न थालेको अवस्था छ । कुनै बेला थियो वृद्धहरु घरपरिवारका भगवान् हुन् र भगवान्को सेवा गर्न कतै जान पर्दैन, केवल आफ्ना बाआमाको सेवा गरे पुग्छ भनेर त्यहीअनुरुपको सोच र व्यवहार देखा पर्ने गर्दथ्यो । बिस्तारै जेनेरेसनमा आएको अन्तरालले गर्दा यस्तो संस्कृति हामीले हाम्रा बच्चालाई सिकाउन पनि पाएनौँ, सिकाएनौँ र बच्चाले समेत सिक्न खोजेनन् ।
यी सबै कारण र प्रविधिमा आएको विकासले आजभोलिका बच्चाहरु अर्कै दुनियाँमा अल्मलिइरहेको अवस्था छ । घरमा हजुरआमा, हजुरबा अथवा वृद्ध भएका बाआमासँग नजिकिने, उहाँहरुसँग कुराकानी गर्ने, उहाँहरुका अनुभव सुन्ने, असंख्य ज्ञान प्राप्त गर्ने, धर्म–संस्कृति के हो बुझ्ने, हाम्रा रीतिरिवाज र परम्परा के हुन् धैर्य भएर सुन्ने कसैलाई फुर्सत छैन । अझ बढी ज्येष्ठ नागरिकहरु बिरामी परेर निरन्तर स्याहारसुसार गर्नुप¥यो भने त त्योभन्दा ठूलो सकस अरु केही हुँदैन ।
स्वभावैले बूढाबूढीहरु केही कमजोर, असक्षम, केटाकेटीजस्ता हुन्छन् र घरमा कोही नबिग्रियोस् र केही नबिग्रियोस् भनेर केही कचकचसमेत गर्ने खालका हुन्छन् । जुन कुरा आजभोलिका बच्चाबच्चीहरुलाई अपाच्य हुन्छ र उनीहरु बूढाबूढीबाट टाढै हुन खोज्छन् । फलस्वरुप, भविष्यमा छुट्टै घरबार बनाएर आफ्नो परिवारमात्रै अलग भई बस्ने अवस्थामा पुग्छन् ।
त्यस्तो अवस्थामा बूढाबूढीलाई वृद्धाश्रममा राखिदिने, वृद्धाश्रममा राखेपछि आफ्ना सबै जिम्मेवारी पूरा भएको ठानी आफू टाढै बस्ने प्रवृत्तिसमेत नदेखिएको होइन । यी र यस्ता खालका व्यवहार अहिलेको समाजमा वृद्धहरुले भोगेका समस्या हुन् । यस्तै, कुराहरुलाई विचार गरी ज्येष्ठ नागरिक निर्देशिका–२०६३ जारी भई नेपालमा नयाँ व्यवस्था लागू भएको छ । वास्तवमा यी सबै कुराहरुलाई यस आलेखमा समावेश गर्न स्थान अभाव हुने भएकोले सामान्यरुपमा वृद्धावस्थाका स्वास्थ्य समस्या र व्यवस्थापनका केही उपायहरु मात्र समावेश गरी यो आलेख तयार गरिएको छ ।
२. बुढ्यौली के हो ?
प्रकृतिको नियमानुसार समयको गतिसँगै दुनियाँमा सबै कुरा परिवर्तन हुँदै जान्छ । मानिस पनि जन्मेपछि शिशु, बाल्यावस्था, किशोरावस्था, प्रौढावस्थाको चरणबाट परिवर्तन हुँदै वृद्धावस्थामा प्रवेश गर्दछ । यसरी वृद्ध हुने प्रक्रिया नै बुढ्यौली हो ।
वृद्धसम्बन्धी अध्ययनले बढी परिश्रम गर्ने, बढी तनावमा रहने र बढी रोग लाग्ने व्यक्तिलाई छिटो बुढ्यौली लाग्छ भन्दछ । यस अवस्थामा व्यक्तिका शारीरिक अंगहरुमा निष्क्रियता आउन थाल्छ । वास्तवमा बुढ्याइँ हुँदै जाने प्रक्रिया नै बुढ्यौली हो । तर बुढ्यौली वातावरण, खानपान, रहनसहन, परिश्रमजस्ता कुराहरुमा पनि भर पर्दछ ।
वृद्धसम्बन्धी अध्ययन गर्ने व्यक्तिहरुका अनुसार वृद्धहरुलाई निम्न ४ समूहमा वर्गीकरण गर्न सकिन्छ, ती हुन् :
क) ६४ वर्षभन्दा माथि– वृद्ध
ख) ६५–७४ वर्षसम्म– जवान बूढो
ग) ७५–८४ वर्षसम्म– मध्य बूढो
घ) ८४ वर्षभन्दा बढी– अति बूढो
३. बुढ्यौली/ज्येष्ठ नागरिकहरुको जनसांख्यिकी
जनसांख्यिकीको एउटा मह¤वपूर्ण पक्ष ज्येष्ठ नागरिकहरुको संख्या पनि हो । किनकि, यो वर्ग आश्रित वर्ग हो र यसले कुनै पनि देशको सामाजिक, आर्थिक तथा अन्य विविध पक्षहरुमा प्रभाव पार्दछ । आधुनिक औषधि उपचार, विज्ञानमा भएको चरम प्रगति र गुणस्तरीय जीवनशैलीका कारण मानिसको औसत आयुमा वृद्धि भई वृद्धहरुको जनसंख्या बढिरहेको छ ।
सन् २००१ को जनगणनाको प्रतिवेदनअनुसार नेपालमा वृद्धहरुको जनसंख्या १२.०१ प्रतिशत रहेकोमा सन् २०११ मा बढेर १४.२८ प्रतिशत पुगेको छ । यसबाट अनुमान लगाउन सकिन्छ कि नेपालमा समेत वृद्धहरुको जनसंख्या बढ्ने क्रम दु्रतगतिमा भइरहेको छ ।
विश्व स्वास्थ्य संगठनले २०१८ मा प्रकाशित गरेको तथ्याङ्कअनुसार नेपालीको औसत आयु पुरूष ६८.८, महिला ७१.६ र औसत ७०.२ वर्ष रहेको छ । यो विश्वको औसत आयुको मामलामा ११७औँ स्थान हो । सोही तथ्याङ्कअनुसार सबैभन्दा बढी औसत आयु हुने जापानमा ८४.२ वर्ष र सबैभन्दा कम १८३औँ स्थानमा लेसोथो ५२.९ वर्ष छ ।
४. मानिस किन बूढो हुन्छ ?
वृद्ध हुनु एक प्रक्रिया हो, जसलाई रोक्न सकिँदैन । बुढ्यौली के कारणले हुन्छ भन्ने कुरा यो प्राकृतिक देन हो । जहाँ व्यक्ति जन्मेपछि क्रमशः परिपक्व हुने र लामो समयपछि कमजोर भई अन्तमा मृत्यु हुन्छ । बुढ्यौलीका मुख्य सिद्धान्तहरु यसप्रकार छन् :
४.१ जैविक सिद्धान्त :
यसअन्तर्गत शरीर खिइने, शरीरका कोषहरुको वृद्धि रोकिने, रोगविरूद्ध लड्ने क्षमता कमजोर हुने, वंशाणुगत, कोषहरुका झिल्ली कमजोर हुने र कोषभित्रका अंगहरुले राम्रो काम गर्न नसक्ने आदि पर्दछन् ।
४.२ मनोसामाजिक सिद्धान्त :
यसमा मानिसले आफ्नो जीवनको सुरूवातदेखि नै विभिन्न समस्यामाथि समायोजन गर्दै आइरहेको हुन्छ र जब उमेर बढ्दै जान्छ उसको समायोजन गर्ने क्षमता घट्न थाल्छ । त्यसपछि क्रमशः बूढो हुन्छ भन्ने मान्यता पाइन्छ ।
४.३ अन्य :
माथि उल्लेखित जैविक र मनोवैज्ञानिक वा सामाजिक सिद्धान्तहरु बाहेक वातावरण, निवास, पानीको आपूर्ति, पारिवारिक बनावट, सरसफाइजस्ता आदि त¤वहरुले पनि बुढ्यौलीको लागि प्रभाव पार्दछन् ।
५. बुढ्यौलीका प्रभाव वा असरहरु
सामान्यतया मानिस ३० वर्षको भएपछि उसको शारीरिक क्षमताको विकासमा मन्दता आउन थाल्छ । त्यसपछि खानपान, वातावरण र अन्य त¤वहरुले गर्दा बुढ्यौली लाग्न थाल्छ । वृद्ध जनसंख्याको व्यवस्थापन अर्को समस्या बन्न थाल्छ । खासगरी स्वार्थीपन, हेर्ने दृष्टिकोण, आधुनिक जीवनशैली, एकल परिवार, बसाइँसराइ, सहरीकरणले गर्दा वृद्धहरुको संख्याअनुरुपको व्यवस्थापन कठिन हुन पुगेको छ ।
वास्तवमा वृद्धहरु घरपरिवार र समाजका अग्रज, पथप्रदर्शक र निर्माताहरु हुन् । वृद्धहरुको घरपरिवार, समुदाय र राष्ट्रमा सकारात्मक प्रभाव पर्नाले समाजको विकास हुने र राजनीतिक परिवर्तनसमेत हुने गरेको पाइन्छ । अतः वृद्धहरुप्रतिको नकारात्मक भावना हटाई समझदारी बढाउन र उनीहरुको सुव्यवस्था गरी जीवन प्रभावकारी बनाउन अहिलेको शिक्षामा व्यवस्था गर्नु जरूरी छ ।
बुढ्यौली एक प्रकृतिप्रदत्त देन हो, जसलाई रोक्न सकिँदैन । उमेरको बढ्दो क्रमसँगै वृद्धहरुमा विभिन्न प्रभाव र असरहरु देखा पर्न थाल्छन् । शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक क्षमताहरु घट्न थाल्छन् र बुढ्यौलीमा निम्न लक्षणहरु देखा पर्न थाल्छन् :
— छालाको स्वरुप, रंगमा परिवर्तन आउने, पातलो लचकदार हुने र चाउरी पर्ने, अनुहारमा धर्का देखिने, ४० वर्ष कटेपछि आँखाको वरपर सुन्निएको जस्तो देखिने ।
— दृष्टि कमजोर हुने, रंग छुट्याउन नसक्ने, मोतीबिन्दु र आँखाका अन्य समस्या देखा पर्ने ।
— हाडजोर्नी कमजोर हुने, दुख्ने, कमजोर हुने र दाँत झर्ने ।
— टाउको ठूलो देखिने, नाक र कानको लम्बाइ बढ्ने ।
— पिसाब थैलीमा पिसाब जम्मा हुने क्षमता घट्ने, छिटो छिटो पिसाब लाग्ने र पिसाब छान्ने क्षमतामा ह्रास आउने ।
— सुन्ने क्षमता घट्ने ।
— मुटु र फोक्सोमा समस्या परी स्वाँ स्वाँ हुने ।
— यौन अक्षमता बढ्ने र यौन इच्छा भएर पनि सम्पर्क राख्न नसक्ने ।
— रौँ फुल्ने, शरीर कुप्रो पर्ने, फरक सोचाइ आउने आदि ।
६. ज्येष्ठ नागरिकहरुको व्यवस्थापन
वास्तवमा वृद्ध हुनु कुनै अभिशाप होइन । समयको गतिसँगै कुनै दिन कुनै व्यक्ति वृद्ध हुनैपर्छ, यो धु्रवसत्य छ । विभिन्न देशमा वृद्धहरुलाई हेर्ने दृष्टिकोणमा फरकपन पाइन्छ । विकसित देशहरुमा प्रायः एकल परिवार हुने कारणले त्यहाँ वृद्धहरु समस्याको रुपमा रहेका छन् । जतिसुकै सुविधासम्पन्न व्यवस्था गरिएता पनि ३ पुस्ते परिवार एउटै छानामुनि बस्नु, रमाइलो गर्नु र सँगसँगै खाना खानुजस्तो राम्रो विकल्प अन्य हुनै सक्तैन भन्ने वृद्धहरुको मनसाय पाइन्छ ।
वृद्धहरुले पनि वृद्धावस्थामा आफ्नो स्वास्थ्यलाई, परिवार तथा समाजलाई निकै ध्यान दिनुपर्छ र आफ्नो स्वास्थ्यको हेरचाहका लागि निम्न कदम चाल्नुपर्छ :
— धूमपान, मद्यपान नगर्ने, सन्तुलित खाना खाने, सरसफाइमा ध्यान दिने ।
— दैनिकरुपमा हल्का व्यायाम गर्ने वा हिँड्डुल गर्ने ।
— सामाजिक कार्यमा प्रफुल्ल भई लाग्ने, नैराश्य नहुने ।
— वृद्धा महिलाले पनि आफ्ना प्रजनन स्वास्थ्य समस्या नलुकाई उचित उपचार गराउने ।
— सक्दो काम गर्ने र आराम गर्ने ।
— शारीरिक र मानसिक स्वास्थ्यका सिद्धान्तहरु सिक्ने ।
— शैक्षिक तालिमको फाइदा लिने ।
— सक्रिय, सक्षम, आत्मविश्वासी र उपयोगी हुने ।
— वृद्ध जीवन व्यतीत गर्न तयारी गर्ने ।
— परिवारका सदस्यहरुको परिवर्तित परिस्थिति बुझी लचकता अपनाउने ।
— नयाँ पुस्तालाई ज्ञान र सीप बाँड्ने ।
— सामाजिक योगदान दिन र समाजलाई आफ्नो आवश्यकता महसुस गराउन सक्षम छु भन्ने ।
— आफ्ना स्वास्थ्य समस्याहरु बताई स्वास्थ्य परीक्षण गराई उपचार लिने आदि ।
वृद्धहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण कार्य हो । वृद्ध जीवन स्वस्थपूर्ण बिताउनका लागि वृद्धहरुले पनि धेरै कुरामा सहभागिता जनाउनुपर्छ । वृद्धहरुले सक्रिय जीवनशैली अपनाउन सक्नुपर्छ, जसले गर्दा उनीहरुको शारीरिक, मानसिक, सामाजिक र आत्मीयरुपमा स्वस्थ बनाउन मद्दत पुगोस् । जे होस्, वृद्धहरुको व्यवस्थापन गर्न निम्न कुराहरुमा विशेष ध्यान दिनुपर्दछ :
— सकेसम्म वृद्धाश्रममा नपठाउने र पठाउनैपर्ने भए मानसिक समस्या पर्न सक्ने हुँदा सामाजिक गतिविधि र सुविधासहितको आश्रमको व्यवस्था गर्ने ।
— वृद्धहरु समाजका लागि आवश्यक छन् भन्ने सन्देश दिन समाजमा उपयोगी ज्ञान, सीप, कलालाई प्रयोग गर्ने ।
— सुविधासम्पन्न रुपको खाने, बस्ने, सुत्ने, पूजापाठ, अध्ययन, मनोरञ्जन, स्वास्थ्य सेवासहितको वृद्धाश्रममा बेसहारा वृद्धहरुलाई राख्ने र सेवा पु¥याउने ।
— वृद्धहरुको योगदान र सिर्जनात्मक कार्यलाई प्रोत्साहन प्रदान गर्ने ।
– परिवारमा वृद्धहरुसँगै खाने, बस्ने, मायाममता बाँड्ने र मनोरञ्जन गर्ने ।
— वृद्धहरुप्रतिको आदर र श्रद्धा जागृत गराउने शिक्षा विद्यालयस्तरबाटै प्रदान गर्ने ।
— वृद्धहरुको संगठन खोली एकताबद्ध बनाउने ।
— यात्रा, मनोरञ्जन, तीर्थस्थल आदिमा विशेष सुविधा प्रदान गर्ने ।
— अवकाश, पेन्सन वा भत्तालाई अझै व्यवस्थित पार्ने ।
— वृद्धहरुको अध्ययन र अनुसन्धान गरी तथ्य प्रस्ट पार्ने ।
— वृद्धाश्रमको व्यवस्थापनमा सरकारी, गैरसरकारी वा अन्य निकायहरुले समेत गहिरो चासो राख्ने ।
— वृद्धाश्रमको प्रभावकारिता बढाउन बेसहारा वृद्धलाई निःशुल्क व्यवस्था, शुल्क तिर्न सक्नेबाट शुल्क तिराउने व्यवस्था र धनी वृद्धबाट केही बढी शुल्क लिने व्यवस्था गर्ने आदि ।
७. नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्था
— नेपालमा सातौँ योजना (२०४२–२०४७) देखि सामाजिक सुधारअन्तर्गत ज्येष्ठ नागरिकसम्बन्धी व्यवस्था गरियो ।
— वृद्धभत्ता व्यवस्थाको सुरूवात २०५१/०५२ देखि भएको ।
— ज्येष्ठ नागरिक नीतिको प्रकाशन २०५८ मा भएको ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन निर्माण २०६३ मा भएको र यस ऐनमा निम्न कुराहरु उल्लेख गरिएका छन् :
क) ज्येष्ठ नागरिकको इच्छाबेगर परिवारबाट अलग राख्न र बस्न बाध्य बनाउन नसकिने ।
ख) आफ्नो अंश लिई अलग बस्न चाहेको अवस्थाबाहेक परिवारले आफ्नो साथमा राखी पालनपोषण गर्नुपर्ने ।
ग) सार्वजनिक सवारीसाधनमा सिट आरक्षित गर्नुपर्ने ।
घ) ६० वर्ष नाघेकालाई यातायात र स्वास्थ्य सेवामा ५० प्रतिशत छूट दिनुपर्ने ।
ङ) अंशबन्डा गरिरहनु नपर्ने, आफ्नो अंशको चल–अचल र सोबाट बढे÷बढाएको सम्पत्तिको आफूखुसी गर्न पाइने आदि । (सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक) चितवन पोष्टका साथमा ।