पुस २२, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सरकारले यो वर्ष ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने बताएका छन् ।
मन्त्री यादवले ३ महिनामा मन्त्रालयले गर्ने कामहरु सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई एक सय दिनको रोजगारी दिने बताएका हुन् ।
गत आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक लाख ८७ हजारले १३ दिनको रोजगारी पाएका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा खटिने श्रमिकहरूको दुर्घटना विमा गरिने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।
त्यस्तै, तीन महिनामा १५ हजार रोजगारदाता र १ लाख योगदानकर्तालाई सामाजिक सुरक्षामा ल्याउने मन्त्रालयको लक्ष्य छ ।
वैदेशिक रोजगारीको क्रममा अंगभंग भएका वा मृत्यु भएका हकवालाले स्थानीय तहबाटै सुविधा पाउने र वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतिय अभिलेखाङ्कन गर्ने मन्त्रालयको ३ महिने कार्य योजना छ ।