निर्भया बलात्कार काण्डमा दोषी ठहर भएका चार जनालाई फाँसी दिइने भएको छ। सन् २०१२ को डिसेम्बर १६ मा नयाँदिल्लीमा मेडिकल पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो।
निर्भयाको बलात्कार–हत्यामा दोषी भेटिएपछि पटियाला हाउस अदालतले अक्षय ठाकुर, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई माघ ८ (जनवरी २२) मा बिहान सात बजे फाँसी दिने आदेश दिएको हो।
अदालतको आदेशपछि सात वर्षदेखि छोरीको आत्माको शान्तिका लागि लडाइँ लडिरहेकी अभयाकी आमा आशादेवीले भनिन्, ‘अब मेरी छोरीले न्याय पाएकी छ। ती चार जना अपराधी झुन्डिनुले भारतका महिलाले थप सशक्त बनाउने छ।’
यी चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मै दोषी ठहर गरिसकेको थियो। अदालतले मृत्युदण्ड दिन गरेको फैसलाविरूद्ध उनीहरूले सर्वोच्च अदालत गुहारेका थिए।
गत डिसेम्बरमा सर्वोच्च अदालतले उनीहरूले दिएको पुनर्विचार निवेदन खारेज गरिदिएको थियो। सात वर्षअघि दिल्लीमा गुडिरहेको बसमा छ जनाको समूहले २३ वर्षीया निर्भयाको बलात्कार गरेको थियो। बलात्कारपछि उनको हत्या भएको थियो।