• काठमाडौंको केन्द्र रत्नपार्कनजिकै छ, रानीपोखरी । र, पोखरीको डिलमै छ, महानगरीय प्रहरी आयुक्तको कार्यालय । भुइँतलामा पूर्वपट्टिको हलमा ४० वटा मनिटर छन्, जसलाई निरन्तर नियालिरहेका हुन्छन्, प्रहरीले । १२ वर्षयता सहरको सुरक्षा व्यवस्थामा आएको परिवर्तन हो, यो । ०६४ सालअघिसम्म राजधानी सहर क्लोज सर्किट (सिसी) क्यामेराको निगरानीमा थिएन । उपत्यकाका तीन जिल्लाको सुरक्षा महानगरीय प्रहरीको जिम्मा लगाइएपछि अत्याधुनिक प्रविधि प्रयोगमा ल्याइएको हो ।

    अहिले सहरका चोक–चोकमा सिसीक्यामेराले चौबीसै घन्टा निगरानी राख्छन् । सुरुमा महानगरीय आयुक्तको कार्यालयले ११ वटा सिसीक्यामेरा जडान गरेर यसको सुरुवात गरेको थियो । अहिले प्रहरीको निगरानीमा रहने गरी उपत्यकामा जडित सिसीक्यामेरा सात सय ४२ वटा छन् । सुरक्षा व्यवस्था मिलाउन, अपराध अनुसन्धान, दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा सिसीक्यामेराबाट मद्दत पुगेको कार्यालयका एसएसपी श्यामलाल ज्ञवाली बताउँछन् ।

    सिसीक्यामेरा जडानपछि मानिसमा सतर्कता बढेको उनी बताउँछन् । अनुशासन तोडेर हिँडेका मानिस प्रहरीको फन्दामा पर्छन् । र, उनीहरू आफूले केही नगरेको दाबी गर्छन् । जब प्रहरीले सिसीक्यामेराको फुटेज देखाउँछ, उनीहरूको मुख बन्द हुन्छ । सार्वजनिक स्थल र यातायातका साधनमा छुटेका÷हराएका सामान पत्ता लगाउन पनि सिसीक्यामेराबाट सहयोग पुगेको एसएसपी ज्ञवाली बताउँछन् । ‘हामी प्रविधिसँग जोडिएका छौँ,’ उनी भन्छन्, ‘काठमाडौं महानगरले पनि सिसीक्यामेरा जडानमा सहयोग गर्दै आएको छ ।’

    विभिन्न कार्यालय, बैंक र व्यक्तिले जडान गरेका सिसीक्यामेराको यकिन आँकडा छैन । तर, प्रहरीले तिनका फुटेजलाई पनि अपराध अनुसन्धानमा उपयोग गर्दै आएको छ ।

    सिसीक्यामेराकै सहयोगमा प्रहरीले ठूला सभा–सम्मेलनको सुरक्षा व्यवस्था मिलाउने गरेको छ । हालै सम्पन्न दक्षिण एसियाली खेलकुद, चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणलगायत अवसरमा सुरक्षा व्यवस्था मिलाउन सिसीक्यामेराबाट सहयोग पुगेको ज्ञवाली बताउँछन् । प्रहरीले जडान गरेकाबाहेक पनि सहरमा प्रशस्त सिसीक्यामेरा जडित छन् । तिनको यकिन आँकडा नभए पनि प्रहरीले विभिन्न कार्यालय, बैंक र व्यक्तिले जडान गरेका सिसीक्यामेराका फुटेजलाई अपराध अनुसन्धानमा उपयोग गर्दै आएको छ ।

    रानीपोखरीबाट निगरानी
    प्रहरीले उपत्यकामा पिटिजेट (अटोरोटेड) र फिक्स क्यामेरा जडान गरेको छ । उपत्यकाका तीनवटै जिल्लामा जडित सिसीक्यामेराको निगरानी रानीपोखरीस्थित आयुक्त कार्यालयबाटै हुन्छ । काठमाडौं महानगरपालिकाले १५ फागुन ०७५ मा सिसीक्यामेरा जडानका लागि पाँच करोड ८१ लाख रुपैयाँ दिएको थियो, जसबाट एक सय ६५ वटा क्यामेरा जडान भएका थिए । तीसमेत गरी हाल काठमाडौं महानगरभित्र ६ सय २९ वटा क्यामेरा छन् ।

    प्रहरीका अनुसार ललितपुरमा ६२ र भक्तपुरमा ५१ वटा सिसीक्यामेरा सञ्चालनमा छन् । यस्तै, राष्ट्रिय खेलकुद परिषद्ले हालै सम्पन्न दक्षिण एसियाली खेलकुदका क्रममा दशरथ रंगशालाको सुरक्षाका लागि एक सय ५२ वटा क्यामेरा जडान गरेको छ ।

    उपत्यकामा सिसीक्यामेरा अझै पर्याप्त नभएको प्रहरीको भनाइ छ । हाल मुख्य चोक, भिभिआइपी एरिया, भिभिआइपी सडक र दुर्घटनाग्रस्त क्षेत्रमा मात्रै क्यामेरा जडान गरिएको छ । भित्री गल्ली, करिडोर र मुख्य सडकका धेरै चोकमा सिसीक्यामेरा अपुग रहेको एसएसपी ज्ञवाली बताउँछन् । ‘चक्रपथबाहिर सिसीक्यामेरा अपर्याप्त छन्,’ उनी भन्छन् ।

    अहिले प्रहरीको निगरानीमा रहने गरी उपत्यकामा जडित सिसीक्यामेरा सात सय ४२ वटा छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालयको नियन्त्रण कक्षका ४० वटा मनिटरबाट प्रहरीले ती क्यामेराले खिच्ने फुटेज निरन्तर नियालिरहन्छन् ।

    कसरी गरिन्छ निगरानी ?
    महानगरीय आयुक्त कार्यालयको नियन्त्रण कक्षमा अप्टिकल फाइबर नेटवर्कमार्फत सबै क्यामेराको फुटेज तान्ने गरिन्छ, जसलाई ‘नेटवर्क भिडियो रेकर्ड’ (एनभिआर) भनिन्छ । एनभिआरको हार्डडिक्समा एक महिनासम्मको रेकर्ड रहन्छ । ‘कुनै ठाउँमा घटना भएमा घटनास्थलबाट कन्ट्रोल रुमको १०० मा फोन आउँछ,’ नियन्त्रण कक्षका प्रहरी निरीक्षक अजयकुमार जयसवाल भन्छन्, ‘हामी निरन्तर सिसीक्यामेराको फुटेजबाट निगरानी गरिरहेका हुन्छौँ ।’ प्रहरीको रेडियो सेटसँगै प्रहरी एकाइहरूमा सियुजी सिमकार्ड वितरण गरिएको छ । सोही आधारमा सबैतिर एकसाथ खबर प्रवाह हुन्छ ।

    व्यक्तिगत प्रयोजनमा उपत्यकावासीले फुटेज हेर्न चाहेमा प्रहरीले कार्यालयमै हेर्ने व्यवस्था मिलाएको छ । ‘तर, व्यक्तिगत रूपमा कसैलाई फुटेज दिँदैनौँ,’ प्रहरी निरीक्षक जयसवाल भन्छन्, ‘सामाजिक सञ्जालमा फुटेज हालेर अरूको गोपनीयताको हक हनन नहोस् भनेर फुटेज नदिएका हौँ ।’ सिसीक्यामेराको निगरानीका लागि चारवटा सिफ्ट बनाइएको छ । हरेक सिफ्टमा पाँचजना प्रहरीले फुटेज हेर्छन् । उपत्यकाभित्र दुईदेखि आठ मेगापिक्सेलसम्मका क्यामेरा जडित छन् । युनिभ्यू, हिकभिजन, टेन्डीलगायत महँगा क्यामेरा जडान गरिएको छ । सवारीसाधनले लेन क्रस गरेको फुटेज पनि खिच्ने गर्छ, प्रहरीले । र, सोही आधारमा चालकलाई कारबाही गर्छ ।

    तस्बिर : विनोद विष्ट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…