पुष्कर खड्का
रामेछाप - रामेछाप र अोखलढुङ्गा सिमानामा रहेको लिखु जलविद्युत आयोजना प्रभावितहरुले राहत र क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।
लिखु खोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको एमभी दुगड समूहले राहत र क्षतिपूर्ति दिने सहमति गरेपनि अहिलेसम्म उपलब्ध नगराएको प्रभावितहरुले गुनासो गरेका हुन् ।
निर्माणाधिन जलविद्युत आयोजनाबाट रामेछापको उमाकुण्ड गाउँपालिकाको गुम्देल, बाम्ति, कुभकास्थली र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका वडाहरु प्रभावित छन् । आफ्नो नाममा रहेको करिब २ रोपनी जग्गा मिचेर आयोजनाले सडक बनाएको गुम्देल किंजाका दिपबहादुर बस्नेतले बताए ।
आयोजनाले बाटोको लागि जमिन मिचेपछि आफूलाई सुकुम्बासी बनाएको उनले बताए । जग्गामा सडक खने बापत ३ पुस्तालाई काम दिने गरि कागज गरेको भए पनि आयोजना सकिन लाग्दा समेत कुनै काम नदिएको उनको गुनसो छ ।
आयोजन स्थलसम्म पुग्ने सकड निर्माणको क्रममा आफूहरुको जमिन खनेर बाटो प्रयोग गरेको भएपनि कुनै राहत र क्षतिपुर्ति नदिएको गुम्देल च्यामाका मिङ्मा शेर्पाले गुनासो गरे । जग्गाको क्षतिपूर्ति नदिएसम्म काम अघि बढाउन नदिने आफूहरुले माग राख्दा धम्क्याउने र प्रहरी समेत लगाउने काम भएको उनले बताए ।
क्षतिपूर्तिको रकम जम्मा गरिदिने भनेर सनराइज बैंकमा खाता खोल्न लगाएपनि अहिलेसम्म रकम जम्मा नगरेको उनले बताए । आयोजनाले स्थानीय सरकारसँग समन्वय नगरेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले स्वीकार गरे । स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न पटक(पटक कम्पनीको नेतृत्व तहसँग कुरा भएपनि उनीहरुले चासो नदेखाएको उनको भनाइ छ ।
एकैपटक १५७ मेगावाटको ३ ठूला आयोजना निर्माण सुरु गरेको एमभी दुगड समूहले स्थानीयलाई पेलेर जाने नीति लिएको प्रभावितहरुको गुनासो छ । दुगड समूहले सहायक कम्पनीमार्फत लिखु खोलामा ३ वटा आयोजना सुरु गरेको छ । सो समूहले ७७ मेगावाटको लिखु १ आयोजना पान हिमालय इनर्जी प्रालि, ५१ मेगावाटको लिखु २ आयोजना ग्लोवल हाइड्रोपावर एसोसियट्स प्रालि र २९ मेगावाट क्षमताको लिखु ए आयोजना नुम्बुर हिमालय हाइड्रोपावर प्रालिमार्फत निर्माण गरिरहेको छ ।
करिब २१ अर्बको लागतामा निर्माण हुने ३ वटा आयोजना २०७७ सालसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । जसमा ७७ मेगावाटको लिखु १ मा प्राइम कमर्शियल बैंकको अगुवाइमा एनआईसी एसिया बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, जनता बैंक, प्रभु बैंक र मेगा बैंकले कर्जा लगानी गरेका छन् ।
यस्तै ५१ मेगावाटको लिखु २ मा माछापुच्छ्रे बैंकको अगुवाइमा मेगा बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको ऋण लगानी छ । २९ मेगावाटको लिखु ए मा लक्ष्मी बैंकको अगुवाइमा सिद्धार्थ बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमाडौंले लगानी रहेको छ । तीनवटा मध्ये नुम्बुर हिमालय हाइड्रोको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।