झापा । समाजमा मर्दापर्दा होस् या कुनै पनि शुभकार्य गर्दा होस् छोरा नै चाहिन्छ भन्ने पुरानै सोच छ, तर झापाको कनकाईमा नाबालक दुई छोरीले कपाल फालेर सेतो बस्त्रमा बाबुको काजकिरिया गरिरहेका छन ।
छोरीले कपाल फालेर छोरासरह नै काजकिरिया गरेको झापामा बिरलै घटना छन । बिर्तामोड–२ चैतुवारीका ३९ वर्षीया टीकाराम खनालको पुस १५ गते निधन भएपछि उनको छोरा नभएका कारण जेठी छोरी १४ वर्षीया जुनु (भावना) र कान्छी छोरी आठ वर्षीया जेनी (सीता) ले आफ्नो बाबुको पार्थिक शरीरमा दागबत्ती दिएर हिन्दूधर्म परम्पराअनुसार काजकिरिया गरिरहेका छन् ।
आफ्ना दाजुभाइ नभएपछि बुबाको काजकिरिया गर्ने आफ्नै जिम्मेवारी भएको ठहर गर्दै दिदीबहिनी किरियामा बसेको जुनुले बताईन। “अभिभावकका लागि छोराछोरी दुवै बराबरी हुन, समाजको हेर्ने दृष्टिकोण सङ्कुचित रहेकाले अनौठो लागेको हुन सक्दछ”, जुनुले भनिन । “बुबाले छोरासरह नै काम गर्नु, छोरी हुँ भनेर कहिल्यै पनि पछाडि नहट्नु भन्नुहुन्थ्यो ।”बाबुको अर्ति उपदेशलाई अनुशरण गर्दै समाजको पुरानो मान्यता हटाएर बाबुको नाममा हिन्दू परम्पराअनुसार काजकिरिया गरिरहेको उनँले बताईन । खनालको निधनपछि काजकिरियामा दाजुभाइ नहुँदा एकान्तटोल समाज विकास संस्थाले संरक्षण दिएर सामुदायिक भवन निःशुल्क रुपमा उपलब्ध गराई १३ दिनसम्मको काजकिरिया भइरहेको संस्थाका अध्यक्ष भीम खरेलले बताए ।
काजकिरियाको कर्म गराउँदै आएका ब्राह्मण कैलाश न्यौपानेलाई दुर्गापुरस्थित उनको निजी निवासमा सात जनाको समूहमा आएका नकावधारीले काजकिरिया गराएको विषयलाई लिएर हातपात गरेको छ । धर्मशास्त्रभन्दा बाहिर गई नियम मिचेर किन छोरीलाई काम गराएको भन्दै आफूलाई छातीमा समाएर हप्काएको न्यौपानेले बताए । कुनै दाजुभाइ खोजेर काजकिरियामा राख्नुपर्ने भन्दै उनीहरुले दबाब दिएको उनँले बताए । मोटरसाइकलमा आएका ती अपरिचित व्यक्तिमध्ये एक जनाको लामो टुप्पी पनि आफूले देखेको हुनाले ब्राह्मण समुदायकै समूह आएको हुनसक्ने आफूले अनुमान गरेको न्यौपानेको भनाइ छ ।