काठमाडौं । चार लाख १३ हजार नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलिले नक्कली नोटसहित चार जनालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्यानका कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखालका बलबहादुर रानामगर, डोटीका आर्यान खड्का, र धनकुटाका छत्रबहादर लिम्बू छन् । सीआईबीका अनुसार उनीहरूले विगत केही महिनादेखि उपत्यकामा नक्कली नोट देखाई ठगी गर्दै आएका थिए ।
पक्राउमध्ये रानामगर नक्कली नेपाली नोट छपाइ गर्ने मुख्य व्यक्ति हुन् । प्रहरीले उनीबाट ९० हजार नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने फोटोकपी मेसिन, फोटोकपी पेपरलगायतका समान बरामद गरेको छ ।
बुढाथोकी भने बजारमा नक्कली नोट पुर्याउने मुख्य व्यक्ति रहेको सीआईबीले जनाएको छ । उनका अनुसार बुढाथोकीबाट नक्कली दुई लाख ९८ हजार रुपैयाँसमेत बरामद भएको छ । खड्का र लिम्बू भने बुढाथोकी र रानामगरका सहयोगी हुन् । प्रहरीले खड्काबाट २५ हजार नक्कली नोट बरामद गरेको छ ।