काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार (२७ गते) का लागि बोलाइएको छ । गत पुस ४ गतेदेखि संघीय संसद् बैठक सुरु भए पनि प्रतिनिधिसभा बिजनेस नभएर पटक पटक स्थगित हुँदै आएको छ । खासगरी सभामुखको निर्वाचनलाई लिएर नेकपामा विवा द देखिएको छ ।
यसै विषयलाई लिएर शुक्रबार उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डसँग छलफल गरेकी छन् । तुम्बाहाङफे संसद सञ्चालन तथा सभामुख निर्वाचनबारे सत्तारुढ दलसँग छलफल गर्न बालुवाटार पुगेकी थिइन् । उनले पुस २७ गते प्रतिनिधिसभामा सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्नेबारे छलफल भएको जानकारी दिइन् । पटकपटक संसद बैठक स्थगित हुँदा त्यसको राम्रो सन्देश नजाने भन्दै उपसभामुख तुम्बाहाङ्फेले सदन सुचारु गर्न सत्तारुढ दलका नेता र प्रधानमन्त्रीसँग छलफल आयोजना गरेकी हुन् ।
सत्तारुढ दल उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाएर उपसभामुखमा अन्य पार्टीलाई प्रस्ताव गर्ने पक्षमा छ । तर, उपसभामुख तुम्वाहाङ्फे आफै पनि सभामुखका लागि दावी गर्दै आएकी छन् । स्रोतका अनुसार ओली र प्रचण्डले तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन आग्रह गरेका थिए । उपसभामुखबाट तुम्बाहाङ्फेले राजीनामा दिए उनलाई राम्रो मन्त्रालय दिने प्रधानमन्त्री ओलीको तयारी छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन प्रक्रिया सुरु भएपछि तुम्बाहाङ्फेको राजीनामा आउन सक्ने बताइएको छ । उनको राजीनामापछि राजपा नेता महन्थ ठाकुरले जेष्ठ सदस्यका रूपमा बैठक सञ्चालन गर्नेछन् । सभामुखको निर्वाचनलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताइएको छ ।