काठमाडौं । आगामि माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज अन्तिम नामावली प्रकाशन गरिनुका साथै निर्वाचन चिन्ह प्रदान गरिएको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश १ को मोरङ जिल्लाको बिराटनगर, प्रदेश २ को धनुषा जिल्लाको जनकपुर, प्रदेश ३ को ललितपुर जिल्लाको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को दाङ जिल्लाको घोराही, कर्णाली प्रदेशको सुर्खेत जिल्लाको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्टीका ७, राष्ट्रिय जनता पार्टी नेपालका २, नेपाल मजदुर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चा पार्टीका २ जना गरी जम्मा ४५ जना उम्मेदवारले भाग लिएका छन् ।
यसैगरी सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कूल ४५ जना उम्मेदवार रहेका छन् ।
मनोनयनपत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।