• काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले आफूलाई सभामुख बनाउन प्रस्ताव गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा उपसभामुख तुम्बाहाङफेले यस्तो प्रस्ताव गरेकी हुन् । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा गर्न छलफलमा बोलाएका थिए ।

    ओली, दाहाल र तुम्बाहाङफेको त्रिपक्षीय छलफलमा सभामुखको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । उपसभामुख तुम्बाहाङफेले सभामुखको टुंगो नलागेसम्म आफूले राजीनामा गर्न नसकिने बताएकी छन् ।

    छलफलमा तुम्बाहाङफेले अध्यक्षद्वय ओली र दाहाललाई निकास दिन आग्रह गरेकी छन् । अब संसद्लाई अनिर्णयको बन्दी बनाउन नसकिने भन्दै छिटो निकास दिन आग्रह गरेकी उनले सभामुख पदमा आफ्नो पनि दावी रहेको बताइन् ।

    अध्यक्षद्वय ओली र दाहालबीच सभामुख उम्मेदवार टुंगो लगाउन पटकपटक छलफल भए पनि निकास निस्कन सकेको छैन । ओलीले नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र दाहालले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन खोजेका छन् । उता राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख तुम्बाहाङफेलाई नै सभामुख बनाउन खोजेकी छन् ।

    बलात्कार प्रयास आरोपमा कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि नेकपाले नयाँ सभामुखको खोजी गरेको हो । महरा तत्कालीन माओवादी केन्द्रको कोटाबाट सभामुख भएकाले सो पदमा माओवादी केन्द्रकै नेता हुनुपर्ने अडानमा दाहाल रहेका छन् ।
    तर, प्रधानमन्त्री ओलीले महराकै कारण अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट पारित नभएकाले नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडानमा रहेका छन् ।

    उपसभामुख तुम्बाहाङफेले २७ गते बस्ने प्रतिनिधिसभाको बैठक सार्न नसकिने जानकारी अध्यक्षद्वय ओली र दाहाललाई गराएकी छन् । त्यस दिन बैठक सञ्चालन हुने आवश्यक वातावरण मिलाउन पनि अध्यक्षद्वयसँग उनले आग्रह गरेकी छन् ।
    गत ४ पुसमा सुरु भएको प्रतिनिधिसभाको हिउँदे बैठक त्यसयता बस्न सकिरहेको छैन । गत ११ पुसमा बस्ने भनिएको बैठक बस्नुपूर्व सूचना टाँस गरेर १६ पुसका लागि बोलाइएको थियो । १६ पुसको बैठक पनि बस्दै नबसी सूचना टाँस गरेर आगामी २७ गतेका लागि तोकिएको छ ।

    नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाउन नसक्दा संसद् अनिर्णयको बन्दी भएको भन्दै प्रतिपक्षी दलले आलोचना गरिरहेका छन् । नेकपाभित्र सभामुख उम्मेदवारका साथै एमसीसी सम्झौता पेचिलो बन्दै गएको छ । यी दुई विषयमा पार्टीले कुनै निर्णय गर्न नसक्दा समस्या बढेको नेकपा नेता बताउँछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…