ओमनका राजा(सुल्तान) काबूस बिन सईदको निधन भएको छ । ओमनका मिडियाका अनुसार सुल्तान काबूसको शुक्रबार निधन भयो ।
काबूसको निधनमा शनिबार तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
सुल्तान काबूस ७९ वर्षका थिए ।सन् १९७० मा आफ्नै पिताविरुद्ध ‘कू’ गरेर सत्तामा आएदेखि उनी निरन्तर सत्तामा थिए ।
सुल्तानको कार्यालयले लामो विरामीको कारण सुल्तानको मृत्यु भएको भए पनि उनी कुन विरामीले मरेका हुन् गरेको छैन ।
काबूसको अविवाहित थिए । उनको कुनै सन्तान नभएकाले उत्तराधिकारीलाई लिएर अन्यौलता छाएको छ । सुल्तानको निधनपछि तीन दिनभित्र नयाँ राजा सुन्न पर्ने नियम छ । देशको शाही परिवार परिषदले नयाँ सुल्तानको लागि पहिलो प्रयास गर्नेछ । परिषदमा ५० पुरष सदस्य छन् ।
यदी परिषदले उत्तराधिकारीको निर्णय गर्न सकेन भने सुरक्षा परिषद र सर्वोच्च अदालत, सुझाव परिषद र राज्य परिषदका अध्यक्षको उपस्थितिमा एक बन्द चिठ्ठीखोलिनेछ, जसमा सुल्तानले जिवित छदाँ गोप्य रुपमा आफूलाई मन पर्ने व्यक्तिको नाम लेखेका हुन्छन् । उक्त पत्रमा जसको नाम हुन्छ, सोही व्यक्तिले राजगद्दी सम्हाल्नेछ ।
सुल्तान कबूस ओमनका सर्वोच्च निर्णयकर्ता थिए । उनले प्रधानमन्त्री, सेनाको सर्वोच्च कमाण्डर, रक्षा मन्त्री, अर्थ मन्त्री र विदेश मन्त्री पद सम्हालेका थिए ।
सुल्तानले २९ वर्षको उमेरमा आफ्ना उग्र रुढिवादी पिता साइद बिन तैमुरलाई सत्ताच्युत गरेर सत्तामा आएका थिए । उनका पिताको शासनमा कसले विवाह गर्ने, कसले पढ्ने र कसले देश छाड्ने भन्ने कुरा पनि सुल्तानले निर्णय गर्थे ।
कबूस शासनमा आउदा देशमा जम्मा १० किमी पिच सडक थियो । त्यस अवस्थाबाट उनले ओमनलाई आजको समृद्धशाली राज्यमा रुपान्तरित गरे । यसका लागि उनले देशको तेलको बिक्रीबाट आएको खर्च प्रयोग गरेका थिए ।
उनले आफ्नो शासनकालमा तटस्थ परराष्ट्र नीति अबलम्बन गरेका थिए । त्यही कारणले ओमनले सन् २०१३ मा इरान र अमेरिकाबीच गोप्य वार्ताको सहजीकरण गर्न सकेको थियो ।
सोही वार्तापछि विकसित अवस्थाले सन् २०१५ को महत्वपूर्ण इरान आणविक सम्झौता सम्पन्न गराउन सम्भव भएको थियो ।
कबूस स्वप्नदर्शी भए पनि उनको शासन भने निरङ्कुस थियो । उनको शासनमा विरोधी आवाजलाई कडा रुपमा दबाइएको थियो ।
सन् २०११ मा अरब क्षेत्रमा फैलिएको क्रान्ती ओमनमा पनि पसेको थियो । त्यस क्रममाहजारौं ओमनी नागरिक राम्रो ज्याला, थप रोजगारी र भ्रष्टाचार अन्त्यको माग गर्दै सडकमा उत्रिएका थिए ।
प्रहरीको दमनको क्रममा दुईको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए । पछि सयौं विरुद्ध ‘गैरकानुनी रुपमा भेला भएको’ र ‘सुल्तानको अपमान गरेको ’ मुद्दा चलेको थियो ।
उक्त प्रदर्शनले उलेख्य परिवर्तन गराउन असफल भए पनि सुल्तान कबूसले केही भ्रष्ट ठानिएका मन्त्रीलाई बर्खास्त गरेका थिए ।