भोजपुर । ससुरालीमा दशैंको टीका थापेर गत असोज २५ गते श्रीमती कर्णशोभासँगै घर फर्केका ८८ बर्षीय वृद्ध दलबहादुर राई बाटोबाटै बेपत्ता भए । खोजी गर्दै जाँदा दलबहादुरको कंकाल मंसिर १ गते भोजपुर नगरपालिका वडा–११ आम्त्तेकस्थित अड्डेडाँडा छेउको सोहन खोलामा फेला पर्यो ।
कंकाल फेला परेलगत्तै जिल्ला प्रहरी कार्यालय भोजपुरले थालेको अनुसन्धानको सुइरो दलबहादुरसँगै माइतीबाट घर फर्केकी उनकी श्रीमती कर्णशोभा र ६५ बर्षीय छोरा हरिबहादुर राईतर्फ सोझियो । कंकाल भेटिएको १ महिना २५ दिनपछि प्रहरीले अन्ततः दलबहादुरको हत्यामा संलग्न रहेको भन्दै उनकै श्रीमती र छोरालाई सार्वजनिक गरेको छ । असोज २५ गते दशैंको टीका थापेर घर नजिकै आइपुगेपछि छोरा हरिबहादुरले ८८ बर्षीय बृद्ध बाबुको घाँटी थिचे र हत्या गरे ।
हत्या हुँदा श्रीमती कर्णशोभा पनि सँगै थिइन् । तर उनले कुनै प्रतिवाद गरिनन् । कारण थियो–दलबहादुरकै जेठी श्रीमतीतर्फका छोरा हरिबहादुर र कान्छी श्रीमती कर्णशोभाबीचको अनैतिक सम्बन्ध। बाबुको हत्या गरेपछि हरिबहादुरले २८ बर्षीय सन्तोष विक र २१ बर्षीय नारायण विकलाई बोलाए । घाँटी थिचेर मारेपछि घरछेउकै बारीमा ढलेको दलबहादुरको शव डोकामा हाल्न लगाए र घटनास्थलबाट तीन घण्टा पैदल दूरीमा रहेको सोहन खोला किनारमा लगेर फाल्न अह्राए ।
बाबुको शव तह लगाउनका लागि छोरा हरिबहादुरले विकद्वयलाई ५ हजार रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । शव फालिसकेपछि चारै जनाले घटना गोप्य राख्न सहमति जनाएको खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए। दलबहादुरको हत्यामा संलग्न चारैजनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।