काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सिजी कम्युनिकेसन प्रालिलाई अनुमति नदिएर सरकारले पूर्वाग्रही व्यवहार देखाएको आरोप लगाएको छ । कांग्रेसले आफ्ना सांसदसमेत रहेका विनोद चौधरीको लगानी रहेको सिजी कम्युनिकेसनमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएको हो । प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्तिमार्फत सबै प्रक्रिया पु¥याउँदा र कुनै बक्यौता नरहेको औद्योगिक घरानाप्रति सरकारले गरेको व्यवहारलाई पार्टीले दुखःद रूपमा लिएको बताएका हुन् ।
‘लगानी सम्मेलनमा सरकारकै उपस्थितिमा विदेशी साझेदारसँग सिजी कम्युनिकेसनले सम्झौता गरेको, प्रक्रिया पूरा गरेको र कुनै बक्यौता रकम नरहेको स्थितिमा प्राधिकरणमार्फत प्रक्रिया टुंग्याएर अनुमति दिनुपर्ने विषय स्वयं सरकारकै प्राथमिकतामा नपर्नु कुनै निश्चित पूर्वाग्रह देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।‘नियतवश गरेको यस्तो भेद र निरुत्साहित गर्ने प्रयत्नप्रति कांग्रेस खेद प्रकट गर्छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले अर्थ समितिले दिएको निर्देशनसमेत कार्यान्वयनमा ल्याउन सरकार चुकेको भनेको छ । समितिले दिएको निर्देशन कार्यान्वयनमा नलगेर सरकारले राज्यको ढुकुटीमा बक्यौता रकम लिन गम्भीर्य नराखेको भनेको हो । गत मन्त्रिपरिषद् बैठकले स्मार्ट, नेपाल स्याटेलाइट र वेबसर्फर टेलिकम कम्पनीका लाइसेन्स खारेजी गर्ने निर्णय बदर गरेको थियो ।
(राजधानी दैनिकबाट)