सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ नगर कमिटीले एक वडा, एक प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।
सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत नेकपाद्वारा निर्वाचित जनप्रतिनिधिलाई वडा–वडामा जनतासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न गरेको नगर कमिटीले पुनः एक वडा एक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
बलेवा क्षेत्रबाट एक वडा एक प्रशिक्षण कार्यक्रम शुरु गरिएको नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले जानकारी दिनुभयो । मङ्गलबार बलेवाका वडा नं १२, १३ र १४ मा एकसाथ प्रशिक्षण कार्यक्रम गरेर अभियानको शुभारम्भ गरिएकोे नगर कमिटीले जनाएको छ ।
प्रशिक्षण कार्यक्रमको शुभारम्भपछि बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले कार्यकर्ता पार्टीप्रति निःस्वार्थ भावनका साथ लाग्नुपर्ने बताउनुभयो ।
प्रशिक्षणमा सङ्गठन निर्माण तथा परिचालनका बारेमा पौडेलले, पार्टीको राजनीतिक कार्यदिशा र आगामी कार्यभारका विषयमा नेकपा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपाली, जनप्रतिनिधि र पार्टीको अन्तर सम्बन्धका विषयमा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, दर्शन र माक्र्सवादी सिद्धान्तका बारेमा जिल्ला इन्चार्ज बलावती शर्मा, नेपाली जनक्रान्तिमा प्रदेश सदस्य श्रीप्रसाद शर्मा र विकास निर्माणमा पार्टीको भूमिकाका विषयमा कृष्ण पाठकले प्रशिक्षण दिनुभएको थियो ।