माघ महिनाको सङ्क्रान्ति बुधवार परेको छ । सूर्यको राशि सङ्क्रमणको समयमा मकर लग्न, शुक्लपक्षको पञ्चमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, अतिगण्ड योग, वणिज करण, स्थिर आनन्दादि योग र सिंह राशिको चन्द्रमा रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले माघ महिनाभरि मकर राशिमा विचरण गर्ने गर्दछन्, सङ्क्रान्तिका दिन मकर राशिमा सूर्य र बुधको बुधादित्य योग, कुम्भ राशिमा शुक्र, मिथुन राशिमा राहु, सिंह राशिमा चन्द्रमा, बृश्चिक राशिमा स्वगृही मङ्गल तथा धनु राशिमा बृहस्पति, शनिश्चर र केतु ग्रहको उपस्थिति रहने छ । मोटामोटी २÷२ दिनमा राशि परिवर्तन गर्ने चन्द्रमाका अतिरिक्त यस महिनामा माघ १५ गतेका दिन बुध ग्रहले, १९ गतेका दिन शुक्र ग्रहले एवं महिनाको अन्त्यमा २८ गतेका दिन मङ्गल ग्रहले राशिपरिवर्तन गर्ने संकेत छ, जसअनुसार बुध ग्रह कुम्भ राशिमा, शुक्र ग्रह आफ्नो उच्चगृह मीन राशिमा तथा मङ्गल धनु राशिमा प्रवेश गर्नेछन् ।
यो महिना नैसर्गिक रूपमा बक्री रहने राहु र केतुबाहेक कुनै पनि ग्रह बक्री छैनन्, त्यस्तै अस्तावस्थामा रहेका ग्रहहरूमध्ये बुध ग्रह ७ गते र शनिश्चर ग्रह १३ गते उदाउने सङ्केत छ । यस महिनाको सुरुदेखि १५ गतेसम्म बुधादित्य योग रहने देखिन्छ ।
यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा बुधवारको सङ्क्रान्ति भएको यो महिना बजारमूल्यमा बृद्धि हुने महिना हो, खासगरी रसादि वस्तुहरू घिउ, तेल, जुस आदिको मूल्यमा उच्चता आउने छ, त्यस्तै खाद्यान्न तथा राता वस्तुको मूल्यमा पनि बढोत्तरी हुनेछ । लताकपडा, ऊनी तथा सुतीका कपडाको मूल्यमा गिरावट आउने छ । शीतलहर, हिमपात, तुसारोको प्रकोप यथावत रहनाले जनजीवन कष्टप्रद बन्नेछ । चिसो र सर्दीको प्रकोपले रोगव्याधि बढाउने छ । कतैकतै बेमौसमी वर्षात, प्राकृतिक प्रकोप, उल्कापात र सामान्य भूकम्पको प्रभावसमेत रहेको देखिन्छ । कृषकहरूलाई हिउँदे बालीबाट असन्तोष हुनेछ । सामाजिक र राजनैतिक वृत्तमा सामान्य परिस्थिति रहने छ भने महिनाको पूर्वार्द्धमा वित्त परिचालन र सेयर मार्केटका निमित्त शुभसमय रहने देखिन्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यस महिनाको प्रारम्भमा तृतीय भाव पराक्रम स्थानमा राहु, पञ्चम भाव बुद्धि क्षेत्रमा चन्द्रमा, अष्टम भाव संकट स्थानमा राशिस्वामी मंगल, नवम भाव भाग्य स्थानमा बृहस्पति, शनिश्चर र केतु, दशम भाव कर्म स्थानमा सूर्य र बुधको बुधादित्य योग तथा एकादश भावमा शुक्र ग्रहको उपस्थिति रहने छ । यस क्रममा १५ गते बुध ग्रहले लाभ स्थानमा, १९ गते शुक्र ग्रहले व्यय स्थानमा र २८ गते राशिस्वामी मङ्गलले भाग्यभावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको दशम भावमा रहेको सूर्यको प्रभावले यो मिश्रित प्रभाव भएको महिना हुनेछ । यस अवधिमा अत्यन्त क्रियाशील र व्यस्त रहनु पर्नेछ । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । त्यस्तै मिहिनेत गरेमा नयाँ व्यवसाय वा रोजगारीको प्रबल सम्भावना छ, साथै गरीआएको काममा बढुवा वा प्र्रगति हुनेछ । नयाँ किसिमले व्यापार गर्नुहुने अथवा रोजगारीको प्रकृतिमा बदलाव हुने सङ्केत छ । शत्रु र प्रतिस्पर्धीबाट कुनै भय हुँदैन । तर राशिस्वामी मङ्गल अधिकांश समय अष्टम भावमा रहने हुँदा रोगव्याधिको प्रकोप, दुर्घटनाको योग र आर्थिक पक्ष असन्तुलित रहने समय पनि छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । कार्यक्षेत्रमा अपमानित बन्नुपर्ने परिस्थिति रहेको छ, रहस्य, अध्यात्म, गूढविज्ञान र परामनोविज्ञानका विषयमा रूचि बढ्ने छ वा यी क्षेत्रको कुनै अनुभव प्राप्त हुनेछ ।
यो महिना छात्रछात्राले परीक्षा, प्रतिस्पर्द्धा वा प्रतियोगिताको राम्रो तैयारी गरेमा सफलता पाउने समय हो, गृहिणीहरूमा महिनाको पूर्वार्द्ध अनुकूल रहेको छ भने, उत्तरार्द्धमा मौसमी रोगको प्रकोप र चिडचिडेपना बढ्ने सम्भावना हुन्छ । राशिस्वामीको आठौं भावको यात्राको समय भएकाले कर्मचारीले पनि तुजुक देखाउने वा जोखिम मोल्ने काम गर्नुहुँदैन । व्यापारीहरूले व्यवसाय विस्तारको प्रयास गर्दा राम्रो हुन्छ । यस महिना शुभफलको प्रभाव बृद्धि गर्न राशिस्वामी मङ्गल ग्रहको प्रसन्नताका निमित्त रातो कपडामा दुई मुठी मुसुरोको दाल बाँधेर सिधा र दक्षिणाका साथमा हरेक मङ्गलबारका दिन भिखारी वा कुनै युवा ब्राह्मणलाई दान गर्नु मुनासिब देखिन्छ । यस महिनाको ०५, ०६, ०७, १५, १६, १७, २४, २५ र २६ गतेको चन्द्रमा समेत तपाईंका लागि कमजोर रहने सङ्केत छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यस महिनाको प्रारम्भमा द्वितीय भाव धन स्थानमा राहु, चतुर्थ भाव सुख स्थानमा चन्द्रमा, सप्तम भाव प्रणय स्थानमा मङ्गल, अष्टम भाव सङ्कट स्थानमा बृहस्पति, शनिश्चर र केतु, नवम भाव भाग्य स्थानमा सूर्य र बुधको बुधादित्य योग तथा दशम भाव कर्मक्षेत्रमा राशिस्वामी शुक्र ग्रहको उपस्थिति रहने छ । यस क्रममा १५ गते बुध ग्रहले कर्म स्थानमा, १९ गते राशिस्वामी शुक्र ग्रहले लाभ स्थानमा र २८ गते मङ्गलले अष्टम भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट भाग्य स्थानमा रहेको सूर्यको प्रभावले पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना बनेको छ, माघ महिना । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सन्तानले उन्नति÷प्रगति गर्नेछन्, सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । यो महिना तपाईंको राशिस्वामी शुक्रले कर्मक्षेत्र र लाभभावको यात्रा गर्ने समय हो, प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । व्यवसाय वा पेसामा राम्रो उपलब्धी हासिल हुनेछ ।
यो महिना छात्रछात्राको प्रतिभामा निखार आउने समय हो, त्यसैले मिहिनेतअनुकूल राम्रो नतिजा हात पर्ने समय छ । गृहिणीहरूले पतिको कार्यक्षेत्रमा उन्नति र लाभ भएको समाचार सुन्न पाउनु हुनेछ, साथै स्थिर सम्पत्ति वा गहनागुरिया जोड्ने अवसर मिल्नेछ । कर्मचारीले बढुवा वा प्रशंसा प्राप्त गर्नेछन् भने व्यापारीहरूले पुरानो कर्जा चुक्ता गर्ने र नयाँ लगानीको अवसर पाउने सम्भावना छ । समग्रमा राम्रो समय छ, यद्यपि पिताको स्वास्थ्यस्थितिप्रति सचेत हुनु राम्रो हुन्छ । अझ राम्रो नतिजा मिलोस् भन्ने उद्देश्यले तपाईंले हरेक सोमवार शिवालयमा आँकको फूल चढाउनु मुनासिब हुने छ । यस महिनाको ०१, ०८, ०९, १७, १८, १९, २६, २७ र २८ गतेको चन्द्रमा कमजोर रहेकाले सचेत हुनु वाञ्छनीय हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यस महिनाको प्रारम्भमा आफ्नै राशि अर्थात् लग्न भावमा राहु, तृतीय भाव पराक्रम स्थानमा चन्द्रमा, षष्ठम भाव शत्रु स्थानमा मङ्गल, सप्तम भाव प्रणय स्थानमा बृहस्पति, शनिश्चर र केतु, अष्टम भाव सङ्कट स्थानमा सूर्य र राशिस्वामी बुधको बुधादित्य योग तथा नवम भाव भाग्य स्थानमा शुक्र ग्रहको उपस्थिति रहने छ । यस क्रममा १५ गते राशिस्वामी बुध ग्रहले भाग्य स्थानमा, १९ गते शुक्र ग्रहले कर्म स्थानमा र २८ गते मङ्गलले सप्तम भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट आयु र सङ्गट स्थान मानिने अष्टम भावमा रहेको सूर्यको प्रभावले यो महिना अध्यात्म, ध्यान र कसरतमा रुचि बढ्नेछ । यो महिना कष्ट र दुर्घटनाको मात्रा बढ्ने सम्भावना देखिन्छ, त्यसैले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनुपर्छ । विशेष गरी आगामी १५ गतेसम्म राशिस्वामी बुधको समेत अष्टम भावमा उपस्थिति हुने भएकाले व्यक्तिगत स्वास्थ्यस्थितिप्रति विशेष सचेत हुनुपर्छ, खानपान र आहारविहारको अनुशासन पालना गरेको जाति हुन्छ । आफूबाहेक अभिभावक वा परिवारको कुनै सदस्यको स्वास्थ्यमा समेत नकारात्मकता देखिन सक्छ । पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग छ, नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला ।
पञ्चमेश शुक्र लाभ स्थानमा रहेकाले यो महिना छात्रछात्राले परीक्षा र प्रतिस्पर्द्धामा सफलता पाउने छन्, गृहिणीहरूले झैझगडा र विवादबाट टाढा रहनु राम्रो हुन्छ, न्याय क्षेत्रका कर्मचारीले बढुवा वा प्रशंसा पाउने सम्भावना भए पनि अन्यले बेकारको उल्झनमा फँस्नु पर्नेछ, व्यापारीहरूले पुरानो सरकारी काम सुल्झाएर नयाँ ढङ्गले व्यवसायमा बृद्धि गर्ने आत्मबल प्राप्त गर्नेछन् । यस महिना देखिएको अशुभ प्रभावलाई न्यूनीकरण गर्न तपाईंले राशिस्वामी बुधको बलमा अभिबृद्धि गर्न हरेक बुधवारका दिन भगवान् गणेशको मन्दिरमा गई मुँगको लड्डु चढाउनु पर्दछ र प्रसादका रूपमा केटाकेटीलाई वितरण गर्नु शुभ हुन्छ । खास गरी यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, २०, २१, २२ र २९ गतेको चन्द्रमा समेत अनिष्ट हुने हुँदा सतर्कता अपनाएको जाति हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यस महिनाको प्रारम्भमा द्वितीय भाव धन स्थानमा राशिस्वामी चन्द्रमा, पञ्चम भावमा विद्यास्थानमा मङ्गल, षष्ठ भाव शत्रु स्थानमा बृहस्पति, शनिश्चर र केतु, सप्तम भाव प्रणय भावमा सूर्य र राशिस्वामी बुधको बुधादित्य योग, अष्टम भाव सङ्कट स्थानमा शुक्र र बाह्रौं भाव व्यय स्थानमा राहु ग्रहको उपस्थिति रहने छ । यस क्रममा १५ गते बुध ग्रहले सङ्कट स्थानमा, १९ गते शुक्र ग्रहले भाग्य स्थानमा र २८ गते मङ्गलले षष्ठ भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट साझेदारी र प्रणय सुख प्रदान गर्ने सातौं घरमा रहेको सूर्यको प्रभावले यो महिना जीवनसाथी वा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय हो । मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्नसक्छन् । घरायसी व्यवहारमा कडापन बढ्न सक्छ, त्यसैले परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । आर्थिक पक्ष बलियो छैन, बाध्यताका खर्चमा धनव्यय हुनेछ । तर सङ्क्रान्तिका दिन राशिस्वामी चन्द्रमाले धनभावको यात्रा गरेको हुँदा यस अवधिमा राम्रा काम सम्पन्न हुनेछन् र कुनै नोकरीमा आबद्ध हुनुहुन्छ भने पेसागत उन्नति हुनेछ, जसबाट प्रतिष्ठा बढ्ने छ । यस अवधिमा चौतर्फी समुन्नतिको लक्षण छ । घरपरिवारको सदस्यको व्यवहार अनुकूल रहने छ । तपाईंको जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् ।
पञ्चमेश मङ्गलले आफ्नै राशिको भ्रमण गरेको यो महिना छात्रछात्रा र ज्ञानार्जनका क्षेत्रमा रहेका व्यक्तिहरूले उच्च सफलता हातपार्ने समय छ । गृहिणीहरूमा उच्चाकाङ्क्षा जाग्नेछ, तर पतिको स्वास्थ्यस्थिति र कार्यक्षेत्रमा समस्या देखिनसक्छन्, कर्मचारीको इच्छाएको जिम्मेबारी प्राप्त हुने वा आम्दानीमा बृद्धि हुने गरी सरुवा हुनसक्छ, त्यस्तै व्यापारीहरूले लगानी डुबाउन सक्ने खतरा देखिन्छ, साझेदारले फँसाउने चेष्टा गर्नेछन्, होस राख्नुपर्छ । यस महिनामा हुनसक्ने सम्भावित जोखिममा कमी ल्याउन तपाईंले नियमित रूपले हनुमान चालिसाको पाठ गर्नु लाभप्रद रहने छ । सामान्यतया राशिस्वामी चन्द्रमाको प्रतिकूलता हुने दिनहरू ०३, ०४, ०५, १२, १३, १४, २२, २३ र २४ गते हुने भएकाले सचेत हुनु आवश्यक छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यस महिनाको प्रारम्भमा आफ्नै राशि अर्थात् लग्नमा चन्द्रमा, चतुर्थ स्थान सुख भावमा मङ्गल, पञ्चम भाव सन्तति स्थानमा बृहस्पति, शनिश्चर र केतु, षष्ठ भाव शत्रु स्थानमा राशिस्वामी सूर्य र बुधको बुधादित्य योग, सप्तम भाव प्रणय क्षेत्रमा शुक्र र एघारौं घर लाभ स्थानमा राहु ग्रहको उपस्थिति रहने छ । यस क्रममा १५ गते बुध ग्रहले सप्तम भावमा, १९ गते शुक्र ग्रहले अष्टम स्थानमा र २८ गते मङ्गलले पञ्चम भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट छैठौं घरमा रहेको राशिस्वामी सूर्यको प्रभावले यो महिना अत्यन्त उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । महिनाको पहिलो दिन बाह्रौं घरको मालिक मानिने चन्द्रमाले तपाईंको राशिमा भ्रमण गरेको हुँदा यसको प्रभावले भौतिक सुखसुविधाका सामाग्री किनमेल गर्न धनखर्च हुनेछ । उच्चकोटिको दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ, तथापि आफ्नो भोगवृत्तिमा अङ्कुश लगाउँदा राम्रो हुनेछ, नत्र आनन्द प्राप्त र्गाुको सट्टा झमेला ब्यहोर्नु पर्ने हुनसक्छ । चिसोसम्बद्ध रोगव्याधि र मौसमी रोगको चाप बढ्ने सम्भावना छ, त्यस्तै उधारोमा गएको धन फिर्ता नहुन सक्छ ।
यो महिना प्राविधि विषयका छात्रछात्राले सफलता प्राप्त गरे पनि आफ्नै राशिको चन्द्रमाले खेलवाड र मनोरञ्जनमा ध्यानकेन्द्रित गर्ने भएकाले चिताएको परिणाममा कमी आउन सक्छ, महिनाको उत्तरार्द्धमा गृहिणीहरूले धनसङ्ग्रह गर्ने अनुकूलता पाउने छन्, कतै घुमघामको योगसमेत बन्नसक्छ, कर्मचारीले बढुवा वा जिम्मेबारी प्राप्त गर्नेछन् भने व्यापारीहरूले स्थिर सम्पत्ति जोड्ने अनुकूलता प्राप्त गर्नेछन् । यस महिनाको शुभफलमा अझ बृद्धि गर्ने उद्देश्यले तपाईंले नियमित ढङ्गले सूर्यको उपासना गर्ने, सूर्यलाई अर्घ्य दिने र सूर्यको बीज मन्त्र वा सूर्य गायत्रीमन्त्रको जाप गर्ने बानी बसाल्नु उचित हुनेछ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने हुँदा सचेत हुनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यस महिनाको प्रारम्भमा तृतीय भाव पराक्रम स्थानमा मङ्गल, चतुर्थ भाव सुख स्थानमा बृहस्पति, शनिश्चर र केतु, पञ्चम भाव सन्तति स्थानमा सूर्य र राशिस्वामी बुधको बुधादित्य योग, षष्ठ भाव शत्रु स्थानमा शुक्र र दसौं घर कर्म क्षेत्रमा राहु ग्रहको उपस्थिति रहने छ । यस क्रममा १५ गते बुध ग्रहले षष्ठ भाव शत्रु स्थानमा, १९ गते शुक्र ग्रहले सप्तम भावमा र २८ गते मङ्गलले चतुर्थ भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट पञ्चम भाव बुद्धिस्थानमा रहेको राशिस्वामी बुध र सूर्यको प्रभावले मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ ।
आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । राशिस्वामी बुधले पाँचौं र छैटौं भावको यात्रा गर्ने समय छ, आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ ।
यो महिना किशोर अवस्थाका छात्रछात्रामा प्रणयप्रसङ्गमा भुलिने एवं कल्पना र भावनामा रुमल्लिने परिस्थिति बन्नेछ, कसैकसैको प्रेमसम्बन्धमा तिक्तता बढ्ने योगसमेत देखिन्छ, गृहिणीहरूले पतिसित मनमुटाव बढाउन सक्छन्, कर्मचारीले घरायसी आवश्यकताका वस्तु खरिद गर्ने वा गृहनिर्माणको योजना बनाउने छन्, व्यापारीहरूले कुनै महत्त्वाकांक्षी योजनामा लगानी गर्नाले तनावको सिर्जना हुने भएकाले सचेत हुनुपर्छ । यस महिनामा ग्रहजन्य अशुभ प्रभाव निवारणका लागि तपाईंले नियमित रूपले शिवोपासना गर्नु कल्याणकारी हुनेछ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १७, १८, १९, २६, २७ र २८ गतेको चन्द्रमा अशुभ हुनेहुँदा सचेत हुनु अनिवार्य छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यस महिनाको प्रारम्भमा द्वितीय भाव धन स्थानमा मङ्गल, तृतीय भाव पराक्रम स्थानमा बृहस्पति, शनिश्चर र केतु, चतुर्थ भाव सुखस्थानमा सूर्य र बुधको बुधादित्य योग, पञ्चम भाव विद्यास्थानमा राशिस्वामी शुक्र र भाग्य स्थान नवम भावमा राहु ग्रहको उपस्थिति रहने छ । यस क्रममा १५ गते बुध ग्रहले पञ्चम भावमा, १९ गते राशिस्वामी शुक्र ग्रहले षष्ठ भावमा र २८ गते मङ्गलले तृतीय भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट सुख भावमा रहेको सूर्यको प्रभावले आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय पनि हो, सवारी हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु ठीक हुन्छ । त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । यो समय कडा मिहिनेत र परिश्रम गर्ने महिना हो ।
रन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । राशिस्वामी शुक्र ग्रहले पाँचौं र छैटौं भावको यात्रा गर्ने समय हो, पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने छन् । पारिवारिक जीवन सुखद हुनेछ । व्यापार वाणिज्यबाट लाभ मिल्नेछ । परिवारमा एक किसिमको जमघट र रमाइलोको वातावरण सिर्जना हुनेछ । यात्राबाट लाभ हुनेछ । शत्रु र प्रतिस्पर्धीले हानि पुर्याउन सक्दैनन् ।
खासगरी तुला राशिका छात्रछात्राले प्रसिद्धि र सम्मान पाउने समय छ, गृहिणीहरूले लामो समयदेखिका इच्छाआकांक्षा पूर्ण गर्नेछन्, घरमा कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, कर्मचारीले भने बेकारको विवाद र तनावको स्थितिबाट गुज्रनु पर्ने देखिन्छ भने व्यापारीले आर्थिक पक्षमा राम्रो उपलब्धी पाउने समय छ । यस महिना ग्रहजन्य उपचारका लागि गाई वा गोरुलाई चारो, चोकर, घाँस वा गहुँ खान दिएमा शुभ फल प्राप्त हुनेछ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, २०, २१, २२ र २९ गते तपाईंका लागि अशुभ रहने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यस महिनाको प्रारम्भमा तपाईंको आफ्नै राशि अर्थात् लग्नमा राशिस्वामी मङ्गल, द्वितीय भाव धन स्थानमा बृहस्पति, शनिश्चर र केतु, तृतीय भाव पराक्रम स्थानमा सूर्य र बुधको बुधादित्य योग, चतुर्थ भाव सुखस्थानमा शुक्र र अष्टम स्थान आयुक्षेत्रमा राहु ग्रहको उपस्थिति रहने छ । यस क्रममा १५ गते बुध ग्रहले चतुर्थ भावमा, १९ गते शुक्र ग्रहले पञ्चम भावमा र २८ गते राशिस्वामी मङ्गलले द्वितीय भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् ।
यस्तो ग्रह परिवेशमा तृतीय भाव पराक्रम स्थानमा रहेको सूर्यको प्रभावले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन÷दिन सकिनेछ । प्रायशः यो महिनाभरि नै राशिस्वामी मङ्गलले तपाईंको आफ्नै राशिमा भ्रमण गर्ने परिस्थिति देखिन्छ, यसको प्रभावले मन प्रसन्न र फुर्तिलो रहनेछ र परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ ।
आम्दानीका मार्ग बढ्ने छन् र उच्च पदमा आसीन राजनैतिक प्रशासनिक पदका व्यक्तित्वसँगको सम्बन्धमा सुधार आउने छ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । सामान्यतया स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रै छ, तर व्यवसाय वा काममा बढी मिहिनेत गर्नेहुँदा स्वास्थ्यस्थितिमा नकारात्मक असर पर्न सक्छ ।
खासगरी यस राशिका छात्रछात्राले कुनै प्रतियोगिता वा परीक्षामा राम्रो नतिजा हात पार्नेछन्, गृहिणीहरूमा आफ्नै शिरमा रहेको राशिस्वामी मङ्गलले जिद्दीपन र घमण्डको मात्रामा बृद्धि गर्नेछ । त्यस्तै कर्मचारीले भने कुनै प्रतिष्ठामा आघात पुग्ने लफडामा फँस्ने डर हुन्छ अनि व्यापारीले भाग्यबृद्धि गर्ने अवसर पाउने छन् । यस महिनालाई अझ उत्कृष्ट तुल्याउन तपाईंले सूर्योपासनाका साथमा नित्य मङ्गल कवच वा हनुमान् चालिसाको पाठ गर्नु उचित हुन्छ । यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २२, २३ र २४ गतेको चन्द्रमा अनिष्ट हुने भएकाले सचेतता उपयोगी हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यस महिनाको प्रारम्भमा तपाईंको आफ्नै राशि अर्थात् लग्नमा राशिस्वामी बृहस्पतिका साथमा शनिश्चर र केतु, द्वितीय भाव धन स्थानमा सूर्य र बुधको बुधादित्य योग, तृतीय भाव पराक्रम स्थानमा शुक्र, सप्तम भाव प्रणय स्थानमा राहु र बाह्रौं भावमा मङ्गल ग्रहको उपस्थिति रहने छ । यस क्रममा १५ गते बुध ग्रहले तृतीय भावमा, १९ गते शुक्र ग्रहले चतुर्थ भावमा र २८ गते मङ्गलले तपाईंको आफ्नै राशिमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट द्वितीय धनस्थानमा रहेको सूर्य र आफ्नै राशिमा रहेको राशिस्वामी बृहस्पतिको प्रभावले तपाईंमा धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर शनि र केतु ग्रहसमेत राशिमा नै रहेकाले आर्थिक दृष्टिले यस अवधिमा त्यति लाभ मिल्ने समय देखिंदैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्नेछ, त्यसैले बढी रौसिनु हुदैन । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, प्रेम जीवन र दाम्पत्य जीवनमा कलहको सम्भावना भएकाले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।
स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । हुन त राशिस्वामी बृहस्पतिको प्रभावले केही राम्रा परिणामहरू पनि प्राप्त हुनेछन्, जस्तै, मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । पारिवारिक सुख कायम रहने छ । शीघ्र निर्णय गर्ने सामथ्र्यको विकास हुनेछ, तापनि शनि र केतुको प्रभावका कारण त्यत्ति हौसिएर काम गर्ने समय आएको छैन भन्ने बुझ्नुपर्छ ।
खासगरी यस राशिका छात्रछात्राले परीक्षा वा प्रतिस्पर्द्धामा सफल हुन निरन्तर अध्ययन नगर्नाले हीनताबोधको सामना गर्नुपर्छ । गृहिणीहरूले राम्रो दाम्पत्यसुखको अनुभूति गर्नेछन्, विवाहयोग्य युवायुवतीको नयाँ सम्बन्ध बन्ने वा कुरा चल्ने समय छ । कर्मचारीहरूले कार्यक्षेत्रमा सफलता पाउनुका साथै बढुवा वा प्रशंसा पाउने समय छ भने व्यापारी व्यवसायीले दूरगामी लगानीका निमित्त समुचित निर्णय गर्न सक्नेछन् । यस महिना पर्ने ग्रहगत अनिष्टता दूर गर्न तपाईंले कुलपितृको पूजा तथा निरन्तर सूर्योपासना गर्नु मुनासिब हुनेछ । खासगरी यस महिनाको ०५, ०६, ०७, १५, १६, १७, २४, २५ र २६ गते चन्द्रमा अनिष्ट हुने भएकाले सचेत हुनु आवश्यक छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यस महिनाको प्रारम्भमा तपाईंको आफ्नै राशि अर्थात् लग्नमा सूर्य र बुधको बुधादित्य योग, द्वितीय भाव धन स्थानमा शुक्र, षष्ठ भाव शत्रु स्थानमा राहु, एघारौं भाव लाभ भावमा मङ्गल तथा बाह्रौं भाव खर्चक्षेत्रमा राशिस्वामी शनिश्चरका साथमा बृहस्पति र केतु ग्रहको उपस्थिति रहने छ । यस क्रममा १५ गते बुध ग्रहले द्वितीय भावमा, १९ गते शुक्र ग्रहले तृतीय भावमा र २८ गते मङ्गलले बाह्रौं भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको आफ्नै राशिमा सूर्यको उपस्थिति रहेकाले असाध्यै अनुकूल समयको आगमन भएको छ, यस अवधिमा आवश्यकताभन्दा बढी आत्मविश्वास र महत्त्वाकांक्षाको उदय हुनेछ, सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ ।
छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । उता राशिमा नै रहेको भाग्येश बुधको समेत शुभफल नै प्राप्त हुने समय हो । यस अवधिमा योग्यताको प्रयोग गरी विपरीत परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ । परिवारमा सुखसुविधाको जोहो हुनेछ । मन दर्शन र चिन्तनमा केन्द्रित रहने छ । तर राशिस्वामी शनिश्चर बाह्रौं भावमा रहेकाले अहंकार र आडम्बरको भावना पनि विकसित हुनसक्छ । परिबन्द र बाध्यताका काममा खर्चको मात्रा बढीरहन्छ । आयका मार्गमा देखिएका अवरोध हट्ने परिस्थिति बन्नेछैन र खिन्नताको अनुभूति हुनसक्छ । त्यस्तै पञ्चमेश शुक्रले धनभावको यात्रा गरिरहेको हुँदा सन्तानको उन्नतिप्रगतिका लागि वा कुनै माङ्गलिक कर्म गर्न केही धनराशि खर्च हुने परिस्थितिसमेत रहेको देखिन्छ ।
विशेष गरी यस राशिका छात्रछात्राले राम्रो उपलब्धी हासिल गर्ने समय छ, तर झैझगडा र विवादमा पछि हट्नु पर्छ, गृहिणीहरूमा सप्तमेशले अष्टम भावको यात्रा गरेको समयमा महिना सुरु भएकाले चिन्ता र शंकाको प्राबल्य हुनाले दाम्पत्यकलहको सम्भावना देखिन्छ, कर्मचारीहरूले हाकिमको खप्की खाने समय छ अनि व्यापारीहरूले व्यवसाय विस्तारका लागि गरेको प्रयास सफल हुने देखिन्छ । यस महिना शुभफलमा आधिक्यता मिलोस् भन्ने उद्देश्यले दुर्गाकवचको पाठका साथमा राशिस्वामी शनिको उपासना गर्नु जायज हुनेछ । विशेषतः यस महिनाको ०१, ०८, ०९, १७, १८, १९, २६, २७ र २८ गते चन्द्रमा अनिष्ट हुनेहुँदा यी दिनमा यात्रा नगरेको जाति हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यस महिनाको प्रारम्भमा तपाईंको आफ्नै राशि अर्थात् लग्नमा शुक्र, पञ्चम भाव विद्यास्थानमा राहु, दशम भाव कर्मक्षेत्रमा मङ्गल, एघारौं भाव लाभ भावमा राशिस्वामी शनिश्चरका साथमा बृहस्पति र केतु तथा बाह्रौं भाव खर्चक्षेत्रमा सूर्य र बुधको बुधादित्य योगसमेतको उपस्थिति रहेको देखिन्छ । यस क्रममा १५ गते बुध ग्रहले तपाईंको आफ्नै राशिमा, १९ गते शुक्र ग्रहले द्वितीय भावमा र २८ गते मङ्गलले लाभ स्थानमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् ।
यस्तो ग्रह परिवेशमा बाह्रौं घरमा रहेको मासाधिपति सूर्य र अष्टमेश बुधको उपस्थितिले गर्दा तपाईंले यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चमा अचानक वृद्धि हुनेछ, जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । धनमाल हराउने वा चोरी हुने सम्भावना पनि हुन्छ । मनमा कुविचार आउने छन् र दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ । प्रेम जीवन निरश हुनसक्छ । अनावश्यक यात्राको योग छ र यात्राका क्रममा झमेला व्यहोर्नु पर्ने हुन्छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ ।
व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । तर आफ्नै राशिमा भाग्येश शुक्रको तथा लाभ स्थानमा राशिस्वामी शनिश्चरको भ्रमण हुँदै गरेको समय भएकाले त्यत्ति साह्रो अत्तालिइ हाल्ने परिस्थिति पनि देखिंदैन । यसको प्रभावले मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ ।
यस राशिका छात्रछात्राले कडा मिहिनेत गर्नुपर्छ, गृहिणीहरूले अनावश्यक खर्चबाट जोगिनु राम्रो हुन्छ, कर्मचारीहरूले भने बुद्धिको सदुपयोग गर्नाले उपलब्धी नै हासिल गर्ने सम्भावना देखिन्छ तथा व्यापारव्यवसायमा संलग्नहरूले साझेदारीमा कुनै काम थाल्ने सम्भावना देखिन्छ । यस महिनामा ग्रहगत अनिष्टता हटाउन तपाईंले राशिस्वामी शनिश्चरको उपासनाका साथमा प्रतिदिन शमी वा पीपलको बृक्षको पूजा गर्नु उचित हुने देखिन्छ । सामान्यतया ०१, ०२, ०३, १०, ११, १२, २०, २१, २२ र २९ गते अन्य दिनका तुलनामा बढी नकारात्मक रहने संकेत छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यस महिनाको प्रारम्भमा चतुर्थ भाव अर्थात् सुख स्थानमा राहु, नवम भाव भाग्यस्थानमा मङ्गल, दशम भाव कर्मक्षेत्रमा राशिस्वामी बृहस्पतिका साथमा शनिश्चर र केतु, एघारौं भाव लाभ भावमा सूर्य र बुधको बुधादित्य योग र बाह्रौं भाव खर्च क्षेत्रमा शुक्र ग्रहको उपस्थिति रहेको देखिन्छ । यस क्रममा १५ गते बुध ग्रहले बाह्रौं भाव खर्च क्षेत्रमा, १९ गते शुक्र ग्रहले तपाईंको आफ्नै राशि अर्थात् लग्नमा र २८ गते मङ्गलले दशम भाव कर्मक्षेत्रमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् ।
यस्तो ग्रह परिवेशमा लाभ स्थानको सूर्यको प्रभावले शुभफलकै आधिक्यता रहने महिना छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुनेछन् । सरकारी ओहोदाका विशिष्ट व्यक्तिहरूको सहयोग जुटाउन सकिन्छ । सरकारी कामबाट फाइदा हुनेछ । थालेको काम छिटै सम्पन्न हुन्छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवा÷प्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ ।
यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफलतम सिद्ध हुनेछ । भाग्यस्थानमा भाग्येश र धनेश मानिने मङ्गल ग्रहको भ्रमण भएको समय भएकाले आम्दानीका मार्ग बढ्ने छन् । शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने सम्भावना बनेको देखिन्छ । परिवारमा कुनै माङ्गलिक कार्यको आयोजना हुनसक्छ । विपरीत लिङ्गीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । महङ्गा र सुस्वादु भोजनप्रति रुचि जागृत हुनेछ । तर दशम भावमा शनिश्चर र केतुका साथमा राशिस्वामी बृहस्पतिको समेत उपस्थिति भएकाले पिता वा पितृतुल्य व्यक्तिको स्वास्थ्यस्थिति कमजोर बन्नेछ ।
यस राशिका छात्रछात्राले मनोरञ्जन र खेलवाडलाई नत्यागेमा पढाइमा कमजोरी देखिने खतरा छ, गृहिणीहरूले घरमा माङ्गलिक कार्य सम्पन्न गर्नेछन्, तर रिस र घमण्डमाथि नियन्त्रण गरेको जाति हुन्छ । त्यस्तै कर्मचारी र प्रशासकहरूले नचाहेको काममा खट्नु पर्ने वा दुर्गम स्थानमा सरुवा हुने त्रास देखिन्छ त्यस्तै व्यापारीहरूले धनधान्यबृद्धि गर्ने र नचिताएको ठाउँबाट लाभ प्राप्त गर्ने सम्भावना देखिन्छ । यस महिना अझ शुभफल बृद्धि होस् भन्ने उद्देश्यले सूर्यमन्त्रको जाप गर्ने वा सूर्यलाई दिनहुँ जल चढाउँदा राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २२, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।
https://youtu.be/FXdhY5rgFDA