नुवाकोट । माघेसंक्रान्ति पर्वको अवसरमा नुवाकोटमा आधा दर्जन स्थानमा गोरु जुधाएर मनोरञ्जन गराइएको छ । तारकेश्वरको तारुकामा जुधाइने गोरु जुधाई पर्व अहिले जिल्लाभर ‘फेसनका रूपमा’ बिस्तार भएको छ ।
बेत्रावतीमा भएको गोरु जुधाइको उद्घाटन गर्दै उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले गोरु जुधाइ परम्परागत संस्कृति भएको र यसले पर्यटन विकासमा समेत सहयोग पुग्ने बताइन् । ‘आफ्नो धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्नु हाम्रो धर्म हो,’ उपसभामुख तुम्बाहाङफेले भनिन्, ‘संविधानले पनि सबै जात, धर्म र पर्वलाई समान रूपमा हेरेको छ त्यसैले संस्कृतिलाई जोगाइ राख्नुपर्छ ।’
आफ्नै प्रसंग उल्लेख गर्दै उपसभामुख तुम्बाहाङफेले प्रतिस्पर्धामा आत्मविश्वास नियमसंगत भए खेल उसैले जित्ने उल्लेख गरिन् । ‘जसले प्रतिस्पर्धामा टिक्यो, विधिसम्मत रूपमा अरूलाई जित्छु भनेर अघि बढ्यो उसैले जित्छ,’ उनले भनिन्, ‘यो गोरु जुधाइले यही सन्देश दिएको छ ।’ माघेसंक्रान्ति पर्वको अवसरमा नुवाकोटको तारुका, बेत्रावतीमा जुधाइने जात्राको अनुसरण गर्दै जिल्लाका अन्य स्थानमा पनि गोरु जुधाइ प्रतिस्पर्धा पछिल्लो समयमा मौलाउँदै गएको छ ।
गोसाइकुण्ड युवा क्लबले आयोजना गरेको कार्यक्रममा ११ हल गोरु जुधाइएको थियो । नेपाल र भोटबीच भएको युद्धको समयमा १८४९ सालमा बेत्रगंगाको नदी किनारमा भएको ‘बेत्रावती सन्धी’पछि नेपालीले जितेको खुसियालीमा गोरु जुधाइएको आयोजक क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताए । उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा सामरिक महŒव कायम राख्न विगत केही वर्षदेखि सोही क्लबले निरन्तरता दिइरहेको उनले बताए ।
जिल्लाका ६ स्थानमा ५७ हल गोरु जुधाइएको छ । सबैतिर दर्शकको भीड थामिनसक्नु भएको स्थानीय आयोजकले जनाएका छन् । पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङमा पाँच हल, लिखु गाउँपालिकाको कट्टीछापमा तीन हल, तादी गाउँपालिकाको सातबिसेमा १० हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा पाँच हल गोरु जुधाइएको हो ।
यस वर्षदेखि दुप्चेश्वरको सातबिसेमा गोरु जुधाउन थालिएको छ भने लिखुको कट्टीछाप र शिवपुरीको शेराबगरमा एक वर्षदेखि गोरु जुधाउन थालिएको हो । मकरसंक्रान्ति पर्वको अवसरमा बेलकोटगढी नगरपालिका–५ को लामाचउरलगायतका स्थानमा किसानले आफूले पालेका गोरु जुधाई प्रदर्शनी गरेर मनोरञ्जन लिने परम्परलाई यस वर्ष पनि निरन्तरता दिन लागिरहेका छन् । यसैगरी, जिल्लाको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१ हल गोरु जुधाइएको छ ।
तारुकामा आयोजित कार्यक्रममा गोरु जुधाइ तथा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेकपाको सरकार असक्षम भइसकेको धारणा राखे । बझांगी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा १८८७ सालमा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा यहाँ हरेक वर्ष मकर सक्रान्ति पर्वको अवसरमा गोरु जुधाउने गरेको गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले बताए ।