विराटनगर / जलाउन लागेको अवस्थामा प्रहरीले विराटनगरस्थित सिंघीया खोलको घाटबाट एक महिलाको शव नियन्त्रणमा लिएको छ । घाँटीमा शंकास्पद डाम देखिएपछि विराटनगर महानगरपालिका–८ बलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको शव बिहीबार नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।
उनकाअनुसार जलाउनका लागि घाटमा पु¥याएर चिता समेत बनाइसकेपछि घटना शंकास्पद रहेको जानकारी आएको थियो । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । प्रेमदेवीको मृत्यु भएको भनेर बिहान साढे ५ बजे उनका माइती पक्षलाई खबर पुगेको थियो । दाजु राजु साहले आएर बहिनीको घाँटीमा हेर्दा आलो डाम देखिएपछि घटना शंकास्पद लागेर प्रहरीलाई खवर गरिएको बताए ।
उनकाअनुसार बहिनी केही समयदेखि बिरामी थिइन् । ‘मानसिक बिरामी भएका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित माइतीमा लगेर उपचार गराएर घर पठाइएको थियो,’ राजुले भने, ‘एक्कासि मृत्यु भयो भन्ने खवर आयो ।
शव नियन्त्रणमा लिन वडा प्रहरी कार्यालय हाटखोलाबाट सइ मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर रामबहादुर ढकाल नेत्रृत्वको अलग–अलग टोली घाटमा पुगेको थियो । एसपी अधिकारी घटनास्थल मुचुल्का तयार पारेर शव नियन्त्रणमा लिएपछि पोस्टमार्टमका लागि ल्याइएको बताए ।