काठमाडौं, ३ माघ । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टुटेको संवाद चार दिनको मौनतापछि पुनः सुरु भएको छ । हिजो बिहीबार १२ बजेबाट सभामुख चयन र एमसीसी बारे प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच वार्ता भएको थियो ।
प्रम ओली र अध्यक्ष दाहालबीचको आजको बैठकपछि सभामुख चयनबारे चाँडै सहमति हुने वातावरण बनेको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको छ । थापाका अनुसार, चार दिन लामो संवादहीनतालाई तोड्दै नेताहरु सहमतिनजिक पुग्नु भएको हो ।
गत आइतबारबाट देखा परेको संवादहीनताले सिंगो नेकपाभित्रै एक प्रकारको सन्नाटा देखिएको थियो । अमेरिकी सहयोगअन्तर्गतको ५५ अर्ब राशी रकम लिने–नलिने विषयमा पार्टी नै दुई धारमा विभाजन भएका बेला अध्यक्षद्वयबीच सभामुख पदलाई लिएर पौठेजोरी नै सुरु भएको हो ।
सभामुख पदमा सहमति कायम गर्न पछिल्लो पटक हिजो बिहीबार वार्तामा बसेका नेता कसले आफ्नो अडान छाडे वा अर्को कुन विकल्पमा छलफल भयो त्यसबारे दुवै पक्षले केही खुलाएका छैनन्, खाली सहमति नजिक पुगेको कुरा मात्रै बाहिरिएको छ ।
तर, स्रोतका अनुसार पार्टी एक भएको र प्रमले सरकार सञ्चालनमा सहजता खोजेकै कारण अहिलेको यो विवाद जन्मेकै कारण पनि सरकार सञ्चालनमा सहयोग गर्ने ध्येयले नेताहरु प्रस्तुत हुनुपर्ने प्रम निकट स्रोतले बताएको छ । तर, यो मामिलामा पूर्व नेकपा माके पक्षले लचकता उपनाउने संकेत भने देखाएको छैन ।
यस्तो अवस्थामा संसद्को अधिवेशनै अवरुद्ध पारिरहँदा यसको राजनीतिक सन्देश पनि राम्रो नजाने र यसले दललाई नै नोक्सान पुर्याउनेतर्फ पनि पौंठा जुधाएर बसेका नेताले सोचेजस्तो लाग्न छाडेको छ । अध्यक्षद्वयबीचको यो संवादहीनताबाट दललाई मुक्त गर्न दोस्रो तहका नेताले पहल गर्न सकेनन् ।
अपितु उल्टै संवादहीनतालाई नै टेवा पुग्ने गरी आफ्नै गुट रक्षाको राजनीतिमा उनीहरु सक्रिय रहनुले कतै दलको एकताले पूर्णता नपाउँदै विखण्डनतर्फ जान लागेको संकेत दिएको छ । र, खासगरी यस्तो खेलमा पूर्व नेकपा माकेका नेता नै बढी सक्रिय भएर लागेका छन् ।
नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधि सभाकी उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले आफ्नो पदबाट राजीनामा नदिएर सभामुख चयनमा हलो अड्काएको दाबी गर्नु भएको छ ।
उता तुम्बाहाम्फेले दलले सभामुखको नाम टुंग्याउना साथ आफूले राजीनामा दिने, दलले सभामुखका लागि उम्मेदवार नछानिसकेको अवस्थामा राजीनामा दिँदा संसद् नै नेतृत्वहीन हुने र त्यो अवस्था आउन नदिनका लागि आफू तयार नभएको बताउनु भएको छ । यी दुवै जिम्मेवार व्यक्तिका कुराले दुईमध्ये एकले गलत बयानबाजी गरेको पक्कै हो ।
तर, नेपालको संविधानले प्रतिनिधि सभाका सभामुख र उपसभामुखको काम, कर्तव्य अनि अधिकारका विषयमा गरेको व्यवस्थाका आधारमा भन्ने हो भने उपसभामुख आफ्नो अडानमा सही देखिएको कुरा पुष्टि गर्छ । उपसभामुखले राजीनामा नदिँदैमा दलले सभामुखका लागि पात्र छान्न रोकिनु पर्ने बाध्यात्मक अवस्था छँदै छैन ।
हो, दलीय अन्र्तकलह र पूर्व एमाले र पूर्व नेकपा माकेबीचको शक्तिको लडाईकै कारण सभामुखका लागि पात्र चयन गर्न सकस परिरहेको छ । र, यो अवस्था बाहिर ल्याएर पूर्व माके खेमाले आफैंलाई लज्जित बनाउन नचाहेकै कारण यतिबेला उपसभामुखलाई तारो बनाइरहेको छ । खरो वास्तविकता भनेको सत्तारुढ दल नेकपाभित्र ओली र प्रचण्डबीच चलेको अन्तसंघर्ष नै यतिबेला दलले सभामुखका लागि उपयुक्त पात्र चयनमा तगारो बन्नु नै हो ।
प्रचण्डको भर नै भएन
आफ्नै कर्मचारीमाथि जबर्जस्ती करणीको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोजको दोस्रो साता राजीनामा दिनु भएयता दलले सभामुख छान्न नसकेकै कारण यतिबेला संसद् सभामुखहीन बन्न पुगेको छ ।
नेकपा स्रोतले जानकारी दिएअनुसार, महराले राजीनामा दिएलगत्तै ओली र प्रचण्डबीच भावी सभामुखका विषयमा एउटा सहमति बनेको थियो । ओलीले प्रचण्डकै उपस्थितिमा नेकपा संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङलाई समर्थन गर्दै ओलीकै भाषामा तयार हुनुहोस् नै भनेकोमा पछि गएर प्रचण्डले बोली फेर्नु भएको थियो ।
यतिबेला ओलीलगायत नेकपाको एउटा समूह प्रचण्डको फेरिएको बोलीकै कारण तनावमा परेको स्रोतले बताएको छ । स्रोत भन्छ– प्रचण्डजीको त भर नै भएन, आफैंले दिएको बचनसमेत उल्लंघन गर्न थाल्नु भयो । प्रचण्डको यही फेरिको बोलीका कारण गत पुस ४ गते डाकिएको प्रतिनिधि सभाको बैठक बस्नै नसकेर पटक पटक स्थगन हुँदै आएको छ ।
यसका कारण जनस्तरमै दलको प्रतिष्ठा धराशायी हुने स्थिति सिर्जना भएको छ । अध्यक्षद्वयले नेम्वाङलाई नै अघि राखेर भावी सभामुखका लागि तयार गरेकोमा पछिल्लो समय आएर प्रचण्डले नेम्वाङका ठाउँमा अग्नि सापकोटालाई सभामुख बनाउने प्रस्ताव ल्याउनुु भएकै कारण यतिबेला ओली तनावमा पर्नु भएको स्रोतले बताएको छ ।
ओलीबाट नै रोकियो राजीनामा
पुस ४ गतेबाट सुरु संसद्को पाँचौं अधिवेशनले चार पूर्व सदस्यको निधनमा शोक प्रस्ताव पारित गरेपछि पुस ११ गतेका लागि अर्को बैठक बस्ने कार्यसूची तय भएको थियो, उक्त कार्यसूचीमा सभामुखको निर्वाचन प्रक्रियाको थालनी हुने कुरासमेत समावेश भएको थियो ।
लामो परम्परा तोड्दै तुम्बाहाम्फेले प्रतिनिधिसभाको ४ गते डाकिएको हिउँदे अधिवेशनको पहिलो बैठकको अध्यक्षता गर्नु भएको थियो । त्यसबीचमा बसेको नेकपा सचिवालय बैठकले सभामुखमा नेकपाले नै उम्मेदवारी दिने निर्णय गरे पनि पात्र बारे भने निर्णय गिर्न सकेन ।
त्यतिबेलै उपसभामुखले राजीनामा दिने मानसिकता बनाए पनि सभामुखका लागि पूर्व एमाले र पूर्व नेकपा माके दुवै पक्षबीच हानथाप थालिएकै कारण तुम्बाहाम्फेको राजीनामाको कुरा बीचमै अड्किएको थियो ।
यो समाचारसम्बद्ध स्रोतले बताएको छ–समाजवादी दलले छाडेको एक मन्त्रालय दिने शर्तमा तुम्बाहाम्फे राजीनामा दिन तयार हुनुहुन्थ्यो, पुस १० गते त उहाँले राजीनामा हातमै छ भन्नु भएको थियो ।
स्रोतका अनुसार, नेम्वाङका नाममा सहमति गरिसक्नु भएका प्रचण्ड एकाएक परिवर्तन भई नेम्वाङका ठाउँमा आफू निकट सापकोटालाई सभामुख बनाउनु पर्ने अडानमा रहनु भएपछि राजीनामा दिन तयार हुनुभएकी तुम्बाहाम्फेलाई प्रधानमन्त्री कार्यालयबाट नै फोनबाट राजीनामा नदिनका लागि भनिएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार नयाँ सभामुखको उम्मेदवारका नाममा सहमति कायम नहुँदासम्म प्रधानमन्त्री निवासबाट राजीनामा नदिन उपसभामुखलाई भनिएको थियो । शनिबारको सचिवालय बैठक बस्नु अघि बुधबार प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, संगठन विभागका प्रमुख वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच गौतम निवासमा बैठक बसेको थियो ।
सोही बैठकमा तुम्बाहाम्फेलाई राजीनामा गराउने र सभामुखमा नेम्वाङको विकल्प खोज्ने मोटामोटी सहमति जुटाइएको समाचार बाहिरिएलगत्तै बैठकलाई लिएर ओलीले दलका प्रवक्ता नारायणकाजीलाई बालुवाटारमै डाकेर असन्तुष्टि जनाउनु भएको थियो ।
गौतम निवासको सो भेलाले निकालेको निष्कर्षलाई सचिवालय बैठकले पारित गर्ने सहमति पनि बनेको थियो । तर, उक्त भेलालाई लिएर प्रधानमन्त्रीको असन्तुष्टि रहेका कारण शनिबारको सचिवालय बैठकले भेलाको सोचअनुरुप निर्णय भने गर्न सकेन । फेरि पनि सभामुखको अल्झो त कायमै रह्यो ।
तुम्बाहाम्फेबाट राजीनामा गराएपछि प्रचण्ड सभामुखका लागि सापकोटाको दाबेदारी प्रस्तुत गर्ने तयारीमा हुनुहुन्थ्यो । उता सापकोटा ओलीको रुझानबहिरका पात्र हुनुहुन्छ । यसैले पनि ओलीनिकट स्रोतले बतायो, विमर्शमा उल्लेख छ ।
प्रचण्डले जतिबेला पनि सापकोटाको नाम बोकेर हिँड्ने, सहमतिका लागि त अडान छोड्न पनि सक्नु पर्यो नि । स्रोतका अनुसार प्रचण्डले सापकोटाका नामको अडान छाडे सभामुखमा सहमति नहुने कुरै छैन । नेम्वाङ र सापकोटाबाहेक तेस्रो व्यक्तिमा पनि सहमति हुन सक्छ ।