• काठमाडौँ । नेपालको कानुन दैवले जानुन । एकै ठाउँ । घटना उस्तै प्रकृति अर्थात ‘दुर्व्यवहार’ । तर, किन ‘सानालाई ऐन र ठूलालाई चैन’ ? यो प्रश्न प्रहरी अधिकारी र सम्बन्धितप्रति तेर्सिएको छ ।

    केही महिनाअघि पूर्वयुवराज पारस साहले विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक (सई)माथि हातपातको प्रयास गरे । यस्तै गायिका आस्था राउतले पनि गत बुधबार फेसबुक लाइभमार्फत प्रहरीलाई तथानाम गाली गरिन् ।

    घटना पनि एकै ठाउँको थियो अर्थात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको । घटनाको प्रकति पनि एउटै हो, ‘प्रहरीमाथि दुर्व्यवहार ।’ पारसविरुद्ध उजुरी दिने कसैको आँट गरेन भने गायिका राउतविरुद्ध शुक्रबार उजुरी परेको छ ।

    यसरी बुझौं कि पारसको हकमा कानुन लागू भएन भने गायिका राउतको हकमा लागू भएको छ ।

    पारस पूर्वयुवराज हुन् भने राउत गायिका । यहाँ पदको कुरा गर्ने हो भने गायिका राउतभन्दा पारस धेरै माथि छन् । पारस सुरक्षा गार्डसहित गाडीमा यात्रा गर्छन् भने गायिका राउत स्कुटीमा यात्रा गर्छिन् ।

    घटना नम्बर १

    गत भदौ २ गते पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपातै नै गरेको भिडियो सामाजिक सञ्जालमार्फत नै सार्वजनिक भयो ।

    आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) माथि हातपात गरेका थिए ।

    सार्वजनिकस्थलमै पारसले बर्दीधारी प्रहरीमाथि हातपात गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका सई ईश्वर खत्रीमाथि पारसले हातपात गरेका हुन् ।

    आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै पारसले सई खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा देखिएको दृश्य हेर्दा पनि पूर्वयुवराज पारस फर्की–फर्की सई खत्रीमाथि झम्टिएको देखिएको छ ।

    त्यतिबेला सामाजिक सञ्जालमा जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि दुव्र्यवहार गर्ने पूर्वयुवराज पारसलाई कारबाही गर्न माग गरिएको थियो ।

    सामान्य नागरिकले पारसको जस्तो हर्कत गथ्र्यो भने तत्कालै पक्राउ पुर्जी जारी गरेर समात्न सक्ने नेपाल प्रहरी पारस प्रकरणमा भने मौन रह्यो । सई खत्रीले पनि पारसविरुद्ध उजुरी हाल्न सकेनन् । सायद उनलाई तत्कालीन विमानस्थल प्रहरी नेतृत्वले नै पारसविरुद्ध उजुरी नहाल्न भनेका थिए ।

    मिडियामा प्रहरी नेतृत्वको नै चर्को आलोचना भएपछि तत्कालीन महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख शैलेश थापा क्षत्रीले घटनाको छानबिन प्रक्रिया अघि बढेको बताएका थिए ।

    पछि पारसको घटनाबारे थापासँग बुझ्दा छानबिन भइरहेको भन्दै टार्दै आए । यसरी बुझ्न सकिन्छ कि पारसको घटनामा प्रहरी डराएको थियो ।

    सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि पारसले सोही दिन सई खत्रीले आफ्नो छोरामाथि डण्डा बर्साएपछि सहन नसकेको र उनीमाथि जाइलागेको प्रतिक्रिया दिए ।

    अनेकन् विवाद र अराजक क्रियाकलापसँग जोडिएका पारसले युवराज हुनुअघिदेखि नै मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला, आम मानिसमाथि मारपिटदेखि फायरिङसम्ममा घटना गराउँदै आएको दृष्टान्त छ ।

    कुनै बेला गायक प्रविण गुरुङ मृत्यु प्रकरणमा समेत पारसको नाम जोडिएको थियो । नेपालमा मात्र नभएर विदेशमा समेत लागुपदार्थ सेवनको आरोपमा पारस पक्राउ परेका थिए ।

    घटना नम्बर २
    बेला–बेला चर्चामै आउनको लागि विभिन्न फण्डाहरु गर्ने गरिन्छ । कोही चर्चामा आउनको लागि नाङ्गिन्छन् भने कोही बोल्ड फोटो सुट गर्छन् त कोही गालीगलौज गरेर चर्चामा आउँछन् ।

    यतिबेला सामाजिक सञ्जालमा गायिका आस्था राउत ‘भाइरल’ छिन् । सामाजिक सञ्जालमार्फत नै राउतलाई कसैलाई गाली गरेका छन् त कसैले समर्थन गरेका छन् ।

    बुधबार त्रिभुवन विमानस्थलबाट भद्रपुर जान लागेको बेला ड्युटीमा खटिएको प्रहरी जवान रमिसा श्रेष्ठले चेकजाँच गर्ने क्रममा आफूलाई दुर्व्यवहार गरेको भन्दै फेसबुक लाइममार्फत एक भिडियो सार्वजनिक गरिन् ।

    भिडियोमा राउतले प्रहरीलाई तुच्छ शब्दले गालीगलौज गरेकी छन् । यहाँसम्मकी ‘डण्ठे, प्यूसो, पुलिस हो कि सुलिस’ जस्ता शब्द राउतले प्रयोग गरेकी छन् ।

    धेरैजसोले गायिका राउत चर्चामा आउनको लागि यस्तो फण्डा अपनाएको आरोप छ । हुन पनि राउत फेसबुक लाइभमा तिखो र तुच्छ शब्द बोल्दै आउने गरेकी छन् ।

    कारबाही गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा राउतको चर्को आलोचना भएपछि विमानस्थलमा प्रहरी जवान श्रेष्ठ र राउतबीच भएको भिडियो प्रहरी आफैले सार्वजनिक गर्यो । त्यो व्यवहारिक मानिँदैन ।

    १ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा सुरुमा आस्था राउत र अर्का एक युवक सँगै आउँछन् । युवक पुरुषको लाइनमा चेकजाँचका लागि जान्छन् भने राउत महिला प्रहरी भएकोतिर आउँछिन् ।

    महिला प्रहरी श्रेष्ठ चेकजाँचमा थिइन् । राउतको हातमा कफीसमेत थियो । महिला प्रहरीले राउतलाई ज्याकेट खोलेर आउन भन्छिन् । बरु राउतको हातमा रहेको कफीसमेत महिला प्रहरीले लिइदिन्छिन् र टेबुलमा राखिदिन्छन् ।

    त्यसपछि राउत रिसाउँदै बाहिर जान्छिन् र आफ्नो ज्याकेट खोली एक्सरे मेसिनमा राख्छिन् । त्यसपछि राउत प्रहरी चेकिङमा जान्छिन् । महिला प्रहरीले राउतको शरीर खानतलासी गर्छिन् । त्यसपछि पनि राउत रिसाएर आफ्नो ज्याकेट लिन जान्छिन् ।

    राउत निस्कन लागेपछि महिला प्रहरीले कफी लैजान भन्छिन् । तर, उनी कफी नलिइ निस्कन खोज्छिन् । महिला प्रहरी आफैले कफी ल्याएर दिन्छिन् । तर पनि उनी अझै रिसाएर निस्कन खोज्छिन् । त्यसपछि महिला प्रहरीले राउतको ज्याकेट समातेर फेरि पनि कफी लैजान भन्छिन् ।

    तर, राउत कफी लैजान मान्दिनन् । त्यसपछि केही समय महिला प्रहरी र राउतबीच कफी टेबलमा सारासार हुन्छ । राउतले आफ्नो ज्याकेट लगाउँछिन् र ब्याग बोकेर कफी नलिई जान खोज्छिन् ।
    त्यसै क्रममा राउतले महिला प्रहरीमाथि नै औँला ठड्याएर केही बोल्छिन् । राउतको हाउभाउ हेर्ने हो भने त्यो धम्कीजस्तो देखिन्छ । राउतले औँला ठड्याएर धम्की दिँदा पनि महिला प्रहरी चुपचाप आफ्नो काम गरिरहन्छिन् ।

    भिडियो सार्वजनिक भएपछि शुक्रबार साँझ प्रहरी जवान श्रेष्ठले गायिका राउतविरुद्ध विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । चेकजाँचको क्रममा गायिका राउतले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र व्यवहार गरेकी भन्दै जवान श्रेष्ठले उजुरी दिएकी हुन् ।

    श्रेष्ठको उजुरी विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पठाएको छ । रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए ।

    यता शुक्रबार नै रुँदै राउतले फेसबुक लाइभमार्फत २–४ शब्द बढी बोलेको भन्दै माफी मागेकी छन् ।

    यसविषयमा प्रतिक्रिया लिन सम्बन्धित प्रहरी अधिकारीलाई सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…