पुष्कर खड्का
सोलुखुम्बु - सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्नका लागि आयोजना गरेको कार्यक्रममा प्रहरीले गोली चलाएको छ । सोलुखुम्बुका तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्नका लागि आयोजित कार्यक्रम विथोलेपछि प्रहरीले गोली चलाएको हो ।राष्ट्रिय विद्युत प्रसारण लाईनमा जोड्ने कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लावासीले अवरोध गर्दै ढुङ्गामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्याँस प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । झडपका क्रममा केही प्रहरी र केही प्रदर्शनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । मुख्य प्रभावित क्षेत्रलाई वेवास्ता गर्दै पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्न लागेको भन्दै तिङलावासीले विरोध र बहिस्कार गर्दै तिङ्ला बन्दको घोषणा गरेका थिए ।तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । मुख्य प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११, तिङ्लामा विद्युतीकरण नगरी वडा नम्बर–८ को पत्तालेमा प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम राखिएको भन्दै तिङ्लाबासीले कार्यक्रमको विरोध गरेका हुन् ।बन्दकर्ताले कार्यक्रम उद्घाटन कार्यक्रममा रहेका १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् । तिङ्ला बन्द हुँदा ओखलढुङ्गा–सल्लेरी–फाप्लु सडक खण्डमा गाडी र यात्रु अलपत्र परेका छन् । तिङ्लावासीको विरोधका कारण आजका लागि तय गरिएको प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित गरिएको छ ।