काठमाडौं, माघ ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी समिति सदस्य अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुखको उम्मेदवार बनाएको छ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
नेकपाले सभामुखका उम्मेदवार सापकोटामाथि व्यक्ति हत्याको मुद्दा अदालतमा विचाराधीन छ। सापकोटामाथि काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्यामा संलग्न भएको अभियोग छ। लामाकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते सापकोटा, पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन्। यद्यपी यो मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत सुल्झाउने सहमति बनेको छ।
०६२ वैशाख १६ गते तत्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका लामाको शव दुई महिनापछि काभ्रेकै साविक बुढाखानी गाविसमा गाडेको अवस्थामा फेला परेको थियो। मुद्दामाथि सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजालसले ०६२ चैत २२ मा मुद्दाको अन्तिम सुनुवाइ संवैधानिक इजालसबाट गर्न आदेश दिएको थियो।
मुद्दाको अन्तिम फैसला अझै भएको छैन। यस्तै, सापकोटामाथि छानविन र फौजदारी कारबाहीको मागसहित राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले २०७२ सालमा दिएको रिटको समेत सुनुवाइ भएको छैन।