उर्लाबारी÷मोरङको मिक्लाजुङ गाउँपालिका वडा नंं १ रमितेमा सोमबार राति तीनवटा स्काभेटरमा आगजनी गरिएको छ । आगजनीबाट करोडौंको क्षति पुगेको छ । स्काभेटरमा आगजनीपछि सो स्थानमा बम भेटिएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले त्यहाँ भेटिएको वम निष्क्रिय पारेको छ ।
राति करिब नौ बजेतिर आगजनी गरिएको हो । दर्जनौंको संख्यामा मानिसहरु आएर स्काभेटरमा आगजनी गरेको स्थानीय हर्कमाया राईले बताइन् । घटनास्थल नजिकै हर्कमायाको मात्र घर छ । ‘मानिसहरु आएर हो–हल्ला गर्दै स्काभेटरमा आगजनी गरेपछि डरले हामी घर छाडेर भाग्यौं’, उनले भनिन् । घटनास्थलमा मंगलबार विहान मात्र स्थानीय वासिन्दा र सुरक्षाकर्मी भेला भएका थिए ।
प्रदेश सरकारको वहुवर्षिय योजनाअन्तर्गत उर्लाबारी–टाँडी–आइतबारे सडक कालोपत्रे निर्माणका लागि करिब एकमहिनादेखि सो स्थानमा स्काभेटर सञ्चालन गरिएको थियो । प्रदेश साँसद कुलप्रसाद साँवाले नेकपा माओवादी ‘विप्लव समूह’ का कार्यकर्ताहरुले आगजनी गरेको दाबी गरेपनि त्यसको पुष्टि भएको छैन ।