काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको रिक्त सभामुखमा उम्मेदवारी दर्ता गरेन । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गर्यो ।
िकांग्रेसले सभामुखमा उम्मेदवारी नदिनुमा दुई कारण देखाएको छ। पहिलो सत्तारुढ दल नेकपाको संसदमा स्पष्ट बहुमत, दोस्रो सभामुखमा उम्मेदवारी दिए उपसभामुख पाउने सम्भावना सकिन्छ।
बैठकमा सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षीले उपसभामुख पाउनु पर्छ भन्ने ठाउँ राख्न सभामुखमा उम्मेदवारी दिन नहुने बताएका थिए। देउवाको भनाइमा अन्य नेताहरु कन्भिन्स भएपछि उम्मेदवारी नदिने निष्कर्ष बैठकले निकालेको हो।
कांग्रेस सचेतक पुष्पा भुसालले बैठकमा छलफल हुँदा सभामुख ‘न्यूट्रल पोष्ट’ र सत्तारुढ दलको स्पष्ट बहुमत रहेकाले नदिने निष्कर्षमा पुगिएको बताइन्। ‘सत्तारुढ दलको बहुमत रहेको, सभामुख ‘न्यूट्रल र गरिमामय पद’ भएकाले नदिने निष्कर्ष छलफलबाट निकाल्यौं,’ भुसालले भनिन्।
सभामुखमा सापकोटालाई निर्विरोध बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति तथा संसदीय दलका नेता देउवा र नेता रामचन्द्र पौडेलसँग कुराकानी गरेका थिए। दाहालले सभापति देउवालाई आइतबार बालुवाटारमा र नेता पौडेललाई मंगलबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका थिए।
देउवा निकट एक नेताका अनुसार दाहालले अघिल्लोपटक कृष्णबहादुर महरालाईजस्तै सापकोटालाई पनि निर्विरोध बनाउन सहयोग गर्न देउवा र पौडेललाई आग्रह गरेका थिए। ‘दाहालले सहयोग गर्न आग्रह गरेको, अर्कोतर्फ नेकपाको स्पष्ट बहुमत संसदमा रहेको तथा उम्मेदवारी दिएपछि उपसभामुखमा पाउने सम्भावना पनि सकिने देखिएपछि उम्मेदवारी नदिने निष्कर्षमा पुग्यौं,’ ती नेताले भने।
कांग्रेसले उपसभामुखमा आफ्नो दाबी कायम राख्नका लागि सभामुख सत्तारुढलाई सहजै छोडिदिएको हो। भुसाल भन्छिन्, ‘संसदीय व्यवस्थामा सभामुख रुलिङ पार्टीले लिएर उपसभामुख प्रमुख प्रतिपक्षीलाई दिएमा राम्रोसँग चलाउन सकिन्छ भन्ने पहिलादेखि नै कांग्रेसले धारणा राख्दै आएको हो। अहिलेपनि प्रमुख प्रतिपक्षीलाई उपसभामुख दिनु पर्छ भन्ने हाम्रो भनाइ कायमै छ।’
संविधानमा सभामुख र उपसभामुख एउटै पार्टी र लिंगको हुन नपाउने स्पष्ट व्यवस्था छ। सभामुखमा नेकपा सांसद अग्नि सापकोटाको एकल उम्मेदवारी परेकाले उपसभामुख छोड्नै पर्ने बाध्यता छ। नेकपाको उपसभामुख नहुने भएपछि आफूहरुको दाबी स्वभाविक भएको कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए। ‘एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भनेर संविधानमा स्पष्ट लेखिएको छ, सभामुखमा नेकपाले दिएको उम्मेदवारीमा हामी तटस्थ बस्यौं,’ पाण्डेले भने, ‘उपसभामुख नेकपाले हामीलाई दिनुपर्छ भन्ने कांग्रेसको भनाइ पहिला पनि थियो, अहिले पनि छ।’
तर, सापकोटाले सभामुखमा उम्मेदवारी दर्ता गर्दा राजपा प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक बसेकाले कतै नेकपाले राजपासँग उपसभामुख दिने सहमति त गरेको छैन् भन्ने शंकामा कांग्रेस नेताहरु छन्। बिहीबार हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा नेकपा र राजपा तालमेल गरेकाले उपसभामुखको विषयमा पनि त्यही बेला गोप्य सहमति भएको त होइन भन्ने आशंका कांग्रेस नेताहरुको छ।
सचेतक भुसालले उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि मात्रै यस विषयमा अन्य दलहरुसँग छलफल हुने बताइन्। ‘अहिले उपसभामुखको निर्वाचन कार्यतालिका आएको छैन, आएपछि कसरी अगाडि बढ्ने, कुन(कुन दलसँग सहयोग माग्ने भन्ने विषयमा छलफल हुन्छ,’ भुसालले भनिन्। कान्तिपुरबाट ।