• निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा सदरखोर डिल्ली बजारमा पुर्पक्षका लागि कैदमा छन् । बलात्कार प्रयासको आरोप लागेसँगै गत असोज १४ देखि रिक्त रहेको सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अर्का विवादित नेता अग्निप्रसाद सापकोटालाई अगाडि सारेको छ ।

    सापकोटा सभामुख बन्ने चर्चासँगै बलात्कार आरोपमा राजीनामा दिए सँगै अहिले बन्न लागेका नयाँ सभामुख पनि फौजदारी अभियोगमा सुनुवाइ चलिरहेका व्यक्ति हुनु लोकतान्त्रिक प्रक्रियाकै लागि लज्जाको बिषय भएको जानकारहरुको मत छ ।

    फौजदारी अभियोग लागेका व्यक्तिलाई सार्वभौम भनिएको संसदको सभामुख बनाउँदा कानूनी राज्यको उपहास हुने अधिकारकर्मी चरण प्रसाईंको ठहर छ । काभ्रेका अर्जुन लामाको हत्याका प्रमुख आरोपित सापकोटालाई सभामुख पदमा स्थापित गर्ने कसरतलाई नेकपा (खासगरी पुष्पकमल दाहाल) को प्रयासलाई न्याय प्रतिको उनको दृष्टिकोण झल्काउने टिप्पणी गरेका छन् ।

    सापकोटालाई सभामुख चयन गर्नकै लागि दुबै संक्रमणकालीन आयोगमा पदाधिकारी सिफारिस गरिएको जानकारहरुको बुझाई छ । स्वयं द्वन्द्वपीडित हरुले सरकारले दलका खेतालाहरुलाई आयोगमा पठाएको सार्वजनिक अभिव्यक्ति दिई रहेका छन् । सर्वोच्चको संवैधानिक इजलासमा रहेको सापकोटा विरुद्धको मुद्दालाई सत्यनिरूपण तथा मेलमिलाप आयोगमा फिर्ता पठाउन न्यायलयलाई समेत दबाब दिन सक्ने परिस्थिति सिर्जना गराउनकै लागीगि आयोगमा पदाधिकारी सिफारिस गरिएको समेत टिकाटिप्णी हुन थालेका छन् ।

    सत्तारूढ नेकपाले सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि सामाजिक सञ्जालमा समेत तिव्र विरोध भै रहेको छ । हत्याका आरोप लागेका व्यक्तिलाई सभामुख जस्तो चरित्रवान र संवैधानिक रूपमा समेत निकै महत्त्व राख्ने पदमा नियुक्त गर्न खोजेको कुरालाई धेरैले आलोचना नै गरेका छन्।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत सत्तारूढ नेकपाले सिफारिस गरेका सभामुखको उम्मेदवार प्रती विरोध जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा विचाराधीन मुद्दामा उन्मुक्ति दिने अधिकार कसरी प्राप्त भयो रु भनी प्रश्न गरेका छन् । सत्यनिरूपणको टेबलमा थियो त अलग कुरा अन्यथा अदालतमा विचाराधीन मुद्दामा उन्मुक्ति दिने अधिकार राख्ने थलो संसद र राजनैतिक दल नहुने कुरा उनले उल्लेख गरेका छन् ।

    १६ बैशाख २०६२ मा आफ्नै घरनजिकको विद्यालयबाट अपहरणमा गरि हत्या गरिएका अर्जुन लामाको घरमा अनलाईनपानाको टिम पुग्दा पत्नी पुर्णीमाया लामा उदास मुद्रामा थिइन् । २०७२ को भुकम्पले घर भत्काएपछी टहरामा बस्न बाध्य बनेकी उनले आफ्नो आर्थिक अवस्थाका कारण सरकारी अनुदान लिएर समेत नयाँ घर निर्माण गर्न नसकेको कुरा सुनाइन् । निर्दोष श्रीमानको हत्या गर्ने मान्छेलाई ठूलो पोस्टमा नियुक्त गर्न लागेको कुराले उनलाई निकै ठूलो चोट लागेको कुरा उनको मलिन अनुहारले नै व्यक्त गरिरहेको थियो ।

    आफ्ना श्रीमानको अनुपस्थितिमा सन्तानको हेरचाह गर्नु उनका लागि कम्ती कठिन भने थिएन । काठमाडौमा सामन्य ठेक्कापट्टाको काम गरीरहेका उनका श्रीमान किन मारिए भन्ने प्रश्नको उत्तर खोज्न लागेको पनि एक दशक भन्दा बढी नै भयो । उनले अहिलेसम्म श्रीमानको लास समेत देखेकी छैनन् नै हत्या गरेर श्रीमानलाई गाडिएको भनिएको चिहानमा जाने समेत हिम्मत छैन उनमा ।

    जिल्ला प्रहरी कार्यलय काभ्रे मार्फत आफ्ना पतिका हत्यारा खोज्न निस्किएकी उनी जिल्ला प्रहरी कार्यलयबाट पार नलागेपछि २७ फागुन २०६४ मा सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेपनी अहिलेसम्म कुनै चित्तबुझ्दो जवाफ मिलेको छैन उनलाई । आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै किटानी जाहेरी दिएका आरोपित सापकोटा २२ बैशाख २०६८ मा सञ्चारमन्त्री बनेका थिए भने अहिले त सभामुख नै बन्दै छन् । आफ्ना पतिका हत्यारालाई केही दिन वा महिना मात्रै भएपनी जेल हाल्न सके आफ्नो पतिको आत्माले शान्ति पाउने उनको भनाई छ ।

     

    https://www.youtube.com/watch?v=wpZBFtuKhiw&feature=emb_title

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…