माघ १०, पथरी ।
प्रदेश १ को मोरङ, धनकुटा र झापामा एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औसधि खुवाइदैछ । हात्तीपाइले रोगविरुद्ध आम औसधि सेवन कार्यक्रम अन्तरगत औसधि माघ २५ गतेदेखि खुवाउन लागेको हो ।
प्रदेश १ को अन्य ११ जिल्लामा हात्तीपाइले रोग निवारण भएकाले सो अभियान सञ्चालन हुनेछैन ।
शुक्रबार मोरङको पथरी शनिश्चरे नगरपालिकामा भने पालिकाको स्वास्थ्य शाखाले नगरस्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । माघ २५ देखि खुवाइने औषधिको अभियानका लागि स्वास्थ्य संस्था, विद्यालय, रेडक्रस, सामाजिक संघ संस्था, पत्रकार सहितसँगको आजको गोष्ठीमार्फत योजना तर्जुमा समेत गरिएको छ ।
गोष्ठीमा हात्तीपाइलेको रोगको बारेमा पथरी नगर अस्पतालका मेडिकल अधिकृत डा.सावन मेहत्ता, स्वास्थ्य संयोजक मुरारी आचार्य र स्वास्थ्यकर्मी जगत मगरले जानकारी गराएका थिए ।
नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राईले हात्तीपाइले रोगबाट छुट्कारा पाउन नगरवासीले हात्तीपाइले रोग विरुद्धको औसधि सेवन गर्न नगरवासीलाई अनुरोध गरेका छन् ।
नगर क्षेत्रका ५० जना स्वास्थ्यकर्मीका लागि माघ १४ र १५ गते अभिमुखीकरण कार्यक्रम राखिने निर्णय भएको छ । यसका साथै औषधि खुवाउन खटिने नगरका ३० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि अभिमुखीकरण गराइने छ ।
१० वटै वडामा वडाका २० जना सामाजिक अगुवाहरुका लागि १६ देखि २० गतेसम्म अभिमुखीकरण गर्ने, प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गर्ने निर्णय भएको छ ।
साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने पनि निर्णय गरिएको छ ।
के हो हात्तीपाइले ?
हात्तीपाइले (फाइलेरिया) सरुवा रोग हो । मसिनो धागो आकारको एक प्रकारको परजीवीबाट यो रोग लाग्छ । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग लाग्छ । तीन प्रकारका परजीवीबाट लाग्ने हात्तीपाइले रोग नेपालमा भने एउटा प्रकारको परजीवीको सङ्क्रमणबाटै हुने गरेको पाइएको छ ।
जोखिममा को ?
यो रोग जुनसुकै उमेरका जोसुकैलाई पनि हुन सक्छ । लामखुट्टेको टोकाइबाट रोग सर्ने भएकाले केटाकेटी नै बढी जोखिममा हुन्छन् । तर केटाकेटी अवस्थामा सङ्क्रमण भएको रोगको लक्षण भने जवान (वयस्क) भएपछि मात्र देखिन सक्छ ।
लक्षण
तत्काल देखिने
जाडो महसुस हुनु, ज्वरो आउनु र शरीर कम्पन हुनु ।
लिम्फ नली सुन्निनु, रातो भएर दुख्नु, हातगोडामा नीला–काला धर्सा देखिनु, गीर्खा बढ्नु, दुख्नु ।
पुरुषको अण्डकोष वरपरका नसा फुल्नु–दुख्नु ।
उपचार नभएपछि
सङ्क्रमणबारे थाहा नभएर समयमा उपचार नहुँदा अण्डकोष ठूलो हुन्छ, दुख्न थाल्छ, गिर्खा भेटिन्छ र अण्डकोष वरिपरि पानी भरिन्छ ।
महिलामा यौनाङ्ग अथवा स्तन सुन्निने–दुख्ने गर्छ ।
गोडा सुन्निएर हात्तीको पाइलाजस्तो हुन्छ ।
हात सुन्निन थाल्छ, पिसाब सेतो वा रातो आउँछ ।
सुक्खा खोकी लागिरहन्छ, दम बढ्छ र रगतमा इयोसिनोफिलको मात्रा बढ्छ ।
रोगी अशक्त हुँदै जान्छ र दीर्घकालमा अपाङ्गसमेत हुने खतरा रहन्छ ।
कस्तो हुन्छ औषधि ?
हात्तीपाइले विरुद्ध दुई प्रकारका औषधि खुवाइन्छ ।
डिइसी चक्की
डिइसी (डाइइथाइलकार्बामाजिन) चक्की विश्वमा ६० वर्षअघिदेखि हात्तीपाइले रोगको उपचारार्थ प्रयोगमा आइरहेको औषधि हो ।
अलबेन्डाजोल चक्की
यो पनि २५ वर्षअघिदेखि पेट र आन्द्रामा हुने विभिन्न खालका जुकाका लागि प्रयोगमा आइरहेको औषधि हो ।
कसले नखाने
दुई वर्ष नपुगेका केटाकेटी ।
गर्भवती र ७ दिनसम्मका सुत्केरी ।
ओछ्यानमा थला परेका अशक्त ।
क्यान्सर, मुटु, कलेजो, मिर्गाैला, फोक्सोलगायतका दीर्घरोगी ।
कडा कुपोषण भएका ५ वर्षमुनिका बालबालिका ।
छारेरोगका बिरामी ।
अन्य लक्षण÷यस्तो पनि
हात्तीपाइलेको औषधि सेवनपछि कसैलाई सामान्य टाउको दुख्न सक्छ ।
पेट दुख्ने वा पखाला लाग्ने पनि हुन सक्छ ।
शरीरमा फाइलेरिया परजीवी भएकालाई औषधिले त्यस्ता परजीवी मार्न थालेपछि ज्वरो आउन सक्छ ।
टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट फुल्नेजस्ता लक्षण देखिन सक्छन् ।
यस्ता असर एक–दुई दिनमा स्वतः ठीक हुन्छन् ।
यी असर देखिनुको अर्थ हुन्छ– शरीरमा परजीवी नष्ट हँुदै छ ।
धेरै नै असर निम्तिए चिकित्सकको सल्लाह लिनुपर्छ ।
खाली पेटमा औषधि खानु हुँदैन ।